मेगा बैंकको ११ औं वार्षिक साधारणसभा : १२.०७ प्रतिशत लाभांश पारित

नेपालभ्युज

मेगा बैंकको ११ औं वार्षिक साधारणसभा : १२.०७ प्रतिशत लाभांश पारित
फाइल तस्वीर

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरूका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ।

काठमाडौँमा मंगलबार सम्पन्न मेगा बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रूपैँया ३८ पैसा लाभांश पारित गरेको हो। त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४ सय ९५ रूपैयाँ ७६ पैसा बोनस शेयर र २ दशमलव ०७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७ सय ७४ रूपैयाँ ६२ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ। यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

साधारण सभामा मन्तव्य राख्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप संकलन, व्यापार प्रवद्र्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौँ बैंक भित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए। “कोरोनाको कहरबाट संक्रमित र आतंकित जनशक्ति र थलिएका उद्योग/व्यवसाय तथा अर्थतन्त्रका बीचमा पनि समकक्षी बैंक/वित्तीय संस्थाहरूको तुलनामा दोहोरो अंकमा उचित लाभांश वितरण गर्ने अवस्थामा आइपुगेका छौं। पञ्चवर्षीय योजनामा बैंकको लाभांशको दरलाई वृद्घि गर्दै लगिने र अर्थतन्त्रलगायत नियमनकारी निकायको नीति तथा निर्देशनहरू अनुकूल रहेमा लाभांश दरलाई २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएका छौं,” अध्यक्ष शाहले भने, “वित्तीय बजारमा मेगा बैंक नेपाललाई एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।”

शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिइने जानकारी गराउँदै अध्यक्ष शाहले उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने रोजगारमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठूला उद्योग तथा परियोजनाहरूमा लगानीकर्ता समूहको ‘लिड बैंक’का रूपमा मेगा बैंकलाई स्थापित गर्दै लगिने बताए यसैगरी, काठमाडौंको विशालनगरमा आगामी तीन वर्षभित्र सुविधासम्पन्न कर्पोरेट अफिस निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उनले बताए।

अध्यक्ष शाहले मेगा बैंकले गरेको व्यापार प्रवर्द्धनका आधारमा प्राप्त मुनाफाबाट राष्ट्रलाई ३० प्रतिशतका दरले कर भुक्तानी गरेर राष्ट्रिय ढुकुटीलाई समृद्ध बनाउँदै आएको स्मरण गरे। जसअन्तर्गत यस आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब एक करोड १७ लाख २५ हजार पाँच सय ७३ रूपैयाँ राजश्व दाखिला गरेको उनले बताए। उनका अनुसार, मेगा बैंकले गत वर्षको तुलनामा ५१% बढी राजश्व दाखिला गरेको छ।

आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक वर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरूमा उपलब्ध गराएको थियो भने यस वर्ष संघीय/प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरूको आकस्मिक कक्ष तथा बालकक्षको सुधार/उपचारार्थ खर्च गर्ने नीति लिएको छ।

शिक्षामा बालिकाहरूको पहुँचलाई स्थापित गर्दै महिला सशक्तीकरणमा टेवा पुर्‍याउन र मेगा बैंकमै रोजगारीको अवसर सिर्जना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरूलाई वार्षिक ४३ लाख रकम बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ। यो छात्रवृतिले शाखा संचालित वडा/पालिकामा मेगा बैंकलाई जनताको बैंकको रूपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशीला बनेको थियो।

साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको सञ्चालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरू खडा गर्दै गन्तव्यको उचाइतर्फ अग्रसर भएको बताइन्। “हामीले कोरोनाको कहरबाट थलिएको उद्योग/व्यवसाय र अर्थतन्त्रमा पनि सम्भावनाहरूको खोजी गर्दै व्यापार प्रवर्द्धनलाई त्यतातर्फ मोडेका छौं। जसका कारण मेगा बैंकको वित्तीय परिसचूक सन्तोषजनक रहेको छ,” सिइओ खुञ्जेलीले भनिन्।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रूपैयाँले वृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रूपैयाँ पुगेको छ। यसैगरी, खुदकर्जा ८ अर्ब ५० करोड रूपैँयाले वृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रूपैयाँ पुगेको छ। चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

मेगा बैंकले बिभिन्न छुट तथा सुविधाहरू प्रदान गरिरहेको जानकारी दिँदै सिइओ खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छूटलगायत कोभिडबाट प्रभावित ग्राहकहरूलाई राहत मिलेको बताए। सिईओ खुञ्जेलीका अनुसार, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ५ अर्ब ७४ करोड रूपैयाँ सहुलियत कर्जा र ३ अर्ब ७६ करोड रूपैंया पुनर्कर्जाहरू प्रवाह गरेको छ।

दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै गरेको मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाउन चाहेको सीईओ खुञ्जेलीले बताइन्।  बन्दाबन्दीको अवस्थामा पनि बैंकले सर्वसाधारणहरूलाई बैंकिङ सेवा र सुविधाहरू अटुट रूपमा प्रदान गरेको स्मरण गर्दै सीईओ खुञ्जेलीले डिजिटल प्रडक्ट विभाग स्थापना गरी अत्याधुनिक सेवाहरू सञ्चालनमा ल्याइएको जानकारी दिइन्।

ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधास्वरूप मेगा बैंकले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङ जस्ता सेवा सञ्चालनमा ल्याएको उनले बताइन्।

अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०३ वटा शाखा कार्यालयहरू, २४ वटा एक्सटेन्सन काउन्टरहरू, १ सय ३९ वटा एटीएम मेशिन तथा ५९ वटा शाखारहित बैंकिङ केन्द्रहरू रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved