के पुबुदुले नेपाललाई फेरि विश्वकपसम्म पुर्‍याउन सक्लान् ?

तर यसपालि पुबुदुलाई नेपालको बसाइ त्यति सहज नहुने पक्का छ। तल्कालका लागि अर्को वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी-२० विश्वकपमा नेपाललाई छनोट गराउनु उनको प्रमुख चुनौती हुनेछ।

के पुबुदुले नेपाललाई फेरि विश्वकपसम्म पुर्‍याउन सक्लान् ?

काठमाडौं। करिब एक दशकको समय लगानी गर्दै नेपालको क्रिकेटलाई ‘ग्रास रुट’ देखिनै विकास गरेका श्रीलंकन प्रशिक्षक रोय लुक डायसले सन् २०११ मा नेपाली टिम छाडे।

सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को सदस्यता लिएपछि सन् २००० सम्मको पहिलो दशकमा नेपाली क्रिकेट विकासको आधारभूत चरणमा नै थियो। सन् २००१ मा रोय प्रशिक्षकका रूपमा नेपाल आएपछि उनले राष्ट्रिय टिमलाई मात्र होइन, समग्र नेपाली क्रिकेटलाई नै अन्तराष्ट्रिय मैदानमा ‘एक्सपोज’ गर्न लायक बनाएका थिए।

यो अवधिमा नेपालले एशियाली क्रिकेट परिषद्का प्रतियोगितामाहरूमा टेष्ट मान्यताबाहेक राष्ट्रमा राम्रो उपस्थिति जनाउँदै आएको थियो। जुनकुरा शुरुवाती दौडमा नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि थियो। तर कालान्तरमा गएर नेपाललाई यतिले नपुग्नु पनि स्वाभाविक थियो।

करीब एक दशक आईसीसीको एशोशियट राष्ट्रको रूपमा अब्बल दर्जाको क्रिकेट खेलेपछि नेपाल क्रिकेटमा एउटा ठोस उपलब्धि हासिल गर्न चाहन्थ्यो, जुन थियो विश्वकप खेल्नु। र यसका लागि नै पहिलो पटक सन् २०११ मा ल्याइएको थियो पुबुदु दासनायकेलाई।

उनी नेपाललाई विश्वकप खेलाउने मुख्य योजनासहित नै नेपाल आएका थिए। त्यही एउटै योजनामा फोकस भएर लामो समय काम गर्दा नेपाल सन् २०१४ मा टी-ट्वान्टी विश्वकप खेल्न सफल पनि भयो।

हालको अवस्था पनि लगभग त्यस्तै नै छ। सन् २०१५ मा पुबुदु गएपछि नेपालले टी-ट्वान्टीसँगै एकदिवसीय क्रिकेट खेल्ने राष्ट्रको मान्यता पाउने अर्को उपलब्धि भेट्टाए पनि त्यो पहिलो विश्वकपपछि फेरि अर्को विश्वकप खेल्न भने पाएको छैन।

सायद त्यसैका लागि उनी फेरि दोस्रो कार्यकालका लागि नेपालको प्रशिक्षकका रूपमा चुनिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)को शनिबार बिहान बसेको बोर्ड बैठकले पुबुदुलाई नेपाली क्रिकेट टिमको प्रशिक्षकको रूपमा नियुक्त गरेको छ।

पुबुदुको छनोटबारे क्यानका अध्यक्ष चतुरबहादुर चन्द भन्छन्, “दासनायकेलाई नेपालको प्रमुख प्रशिक्षकको रूपमा स्वागत छ। हामीले नेपाली क्रिकेटमा उनले पुर्‍याएको योगदान, खेलाडी र समर्थकको चाहना र एशोशिएट क्रिकेटको उनको सूक्ष्म ज्ञानको कदर गरेका छौं। मलाई लाग्छ उनको यो दुई वर्षे कार्यकालले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छ।”

गत भदौमा डेभ वाटमोरले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन बनेको थियो। यसपछि करीब दुई महीनाअघि क्यानले प्रशिक्षक पदका लागि आवेदन माग गरेको थियो। जसका लागि ६० जनाको आवेदन परेकोमा क्यानको छनोट समितिले तीन चरणमा काम गरेर छानिएका सात जना आवेदकसँग अन्तर्वाता लिएको थियो। यसपछि पुबुदुको नाम समितिले बोर्डमा पठाएको थियो।

हाल दुई वर्षका लागि क्यानले पुबुदुसँग सम्झौता गरेको छ भने उनलाई नेपाल आइपुग्न ५ पुससम्म समय दिइएको छ।

“म निकै खुसी छु र आफूलाई भाग्यमानी ठान्छु कि फेरि नेपाल क्रिकेट संघसँग काम गर्ने मौका पाए। म आशावादी छु कि अबका दिनमा नेपाली क्रिकेटलाई अझ उचाइमा पुर्‍याउन सक्नेछु, जसका लागि सिनियर मात्र होइन जुनियर तहमा पनि हामीसँग धेरै प्रतिभावान खेलाडी रहेका छन्”, पुनः नेपालको प्रशिक्षकको रूपमा नियुक्त भएपछि पुबुदुले बताए।

उनले यो अवसर प्रदान गरेकोमा नेपाल क्रिकेट संघ र नेपाली क्रिकेट समर्थकलाई धन्यवाद पनि दिएका छन्।

हुन त यो पटक नेपालको प्रशिक्षकको दौडमा पुबुदु अगाडि भारतका मोन्टी देशाईको नाम थियो। हालको वेष्ट इण्डिज टिमका ब्याटिङ कोच देशाईसँग करीब १६ वर्ष लामो प्रशिक्षणको अनुभव पनि थियो।

यसअघि सन् २०१५ मा नेपाली राष्ट्रिय क्रिकेट टिमकै ब्याटिङ प्रशिक्षकको रूपमा काम गरेका मोन्टीसँग आईपीएलमा राजस्थान रोयल्स्, गुजरात लायन्स्, किङ्गस ११ पन्जाब जस्ता टिमबाट सहायक प्रशिक्षकको रूपमा काम गरिसकेका अनुभव पनि छ।

तर मासिक करीब २० हजार अमेरिकी डलर तलब मागेको र आउदो आईपीएल दौरान बिदा पाउनुपर्ने उनको माग पूरा गर्न नसकिने भन्दै क्यान पुबुदुतर्फ मोडिएको थियो। पुबुदुसँग भने करीब मासिक १२ हजार अमेरिकी डलर तलबमा सम्झौता भएको क्यान स्रोतले जनाएको छ।

लामो समयदेखि ब्याटिङ प्रशिक्षणमा केन्द्रित देशाईले नेपाली क्रिकेटको प्रमुख समस्याको रूपमा रहेको ब्याटिङ सुधार्ने आशा पनि सबैले गरेका थिए। क्यानले पनि सकेसम्म उनलाई नै ल्याउने तयारी गरेको थियो।

तर मासिक करीब २० हजार अमेरिकी डलर तलब मागेको र आउदो आईपीएल दौरान बिदा पाउनुपर्ने उनको माग पूरा गर्न नसकिने भन्दै क्यान पुबुदुतर्फ मोडिएको थियो। पुबुदुसँग भने करीब मासिक १२ हजार अमेरिकी डलर तलबमा सम्झौता भएको क्यान स्रोतले जनाएको छ।

क्रिकेटमा ठूला टिमसँग काम गरिसकेका हुनाले यो पटक देशाई नै नेपालको लागि उपयुक्त प्रशिक्षक हुने धेरैको धारणा थियो। तर यो पटक पनि उनलाई आईपीएल टिमबाट अफर आइसकेको र राष्ट्रिय टिमको जिम्मेवारी लिइसकेपछि लामो समय बिदामा बस्न नमिल्ने क्यानको ठहर छ।

हुन त पुबुदु पनि कम अनुभवी प्रशिक्षक भने होइनन्। चार वर्षको पहिलो कार्यकालमा पुबुदुले नेपाललाई टी-ट्वान्टी विश्वकपमा पुर्‍याउनुका साथै एकदिवसीय क्रिकेटमा पनि नेपाललाई विश्व लिग डिभिजन-४ देखि लिग डिभिजन-२ सम्म पुर्‍याएका थिए।

नेपाल आउनुअघि क्यानडालाई पनि सन् २०११ को एकदिवसीय विश्वकपमा छनोट गराएका उनले अमेरिकी क्रिकेट टिमको प्रशिक्षकको भूमिका पनि निभाइसकेका छन्।

तर यसपालि पुबुदुलाई नेपालको बसाइ त्यति सहज नहुने पक्का छ। तल्कालका लागि अर्को वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी-२० विश्वकपमा नेपाललाई छनोट गराउनु उनको प्रमुख चुनौती हुनेछ।

सन् २०२२ को अक्टोबरमा हुने विश्वकपका लागि नेपाल ग्लोबल छनोटको समूह ‘ए’ मा परेको छ। जसका खेलहरू १५-२५ फेब्रुअरीमा ओमानमा हुनेछन्। यो समूहमा नेपालसहित टेस्ट राष्ट्र आयरल्याण्ड, आयोजक ओमान, यूएई, बहराइन, क्यानडा, जर्मनी र फिलिपिन्ससहित आठ टिम छन्।

यो ग्लोबल छनोटमा कुल १६ टिम छन्। दुई समूहमा विभाजन गरेर राउण्ड रोबिन लिगका आधारमा खेलाइने ग्लोबल छनोटबाट दुवै समूहमा शीर्ष स्थानमा रहने दुई-दुई गरी कुल चार टिमले विश्वकपमा प्रवेश पाउनेछन्।

नेपाल रहेको समूहमा रहेका चार टिम बहराइन, क्यानडा, जर्मनी र फिलिपिन्सलाई तुलनात्मक रूपमा नेपालभन्दा कमजोर मान्न सकिन्छ। तर नेपाललाई दोस्रोपटक विश्वकपमा पुग्न आयरल्याण्ड, ओमान र यूएईले ठूलो चुनौती दिने पक्का छ।

यसको तयारीका लागि अब नेपालसँग करीब दुई महीनाको समय मात्र बाँकी छ। यता खेलाडी र टिमको छनोट नै भएको छैन भने उता नेपाली राष्ट्रिय क्रिकेट टिमका केही खेलाडीहरू र नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वबीच नै ठूलो द्वन्द्व चलिरहेको छ।

वार्षिक सम्झौताका लागि वर्गीकरणमा खेलाडीको चित्त नबुझेका कारण शुरु भएको विवाद हाल चरम उत्कर्षमा छ। र क्यान नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल लगायतका केही खेलाडीलाई कारबाही गर्ने सम्मको निर्णयमा पुग्न लागिसक्यो।

त्यसैले नेपाल आएपछि क्यान र खेलाडीको यो विवादमा मध्यस्तकर्ताको भूमिका निभाउँदै विश्वकप छनोटका लागि नेपाली टिमलाई तयार पार्नु नै पुबुदुको पहिलो काम हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved