विदेशीको चेपुवामा परेकै हो नेपाली चलचित्र ?

नेपालभ्युज

विदेशीको चेपुवामा परेकै हो नेपाली चलचित्र ?

काठमाडौं। अर्जुन कुमारको निर्माणमा बनेको चलचित्र ‘चपली हाइट ३’ को रिलिज मिति ३ पुसमा तय गरिएको छ।

कोरोना भाइरसको महामारीपछि रिलिज हुन लागेको ठूलो बजेटको यो चलचित्रसँगै दक्षिण भारतीय चलचित्र ‘पुष्पा’को रिलिज मिति तय भएपछि नेपाली चलचित्रको विवाद उत्कर्षमा पुगेको छ। अहिलेको निर्माता र हल व्यवसायीहरुको विवादका विषयमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले शुक्रबार अन्तर्किया कार्यक्रम सम्पन्न गरेको छ।

के नेपाली चलचित्र विदेशी चलचित्रको चेपुवामा परेकै हो त ? निर्माता, निर्माता संघ र हल व्यवसायी तथा वितरक छाता संगठन नेपाल चलचित्र संघको धारणा:

अर्जुन कुमार, निर्माता

म रिलिज डेटबाट ब्याक भएको छैन। यदि ब्याक हुनुपर्यो भने निर्मातासँग संगठित भएर ब्याक हुन्छु, यसै हुँदिनँ। हामीले जति कुरा गरे पनि यो क्षेत्रमा इमान्दारिताको कमी छ। जबसम्म फिल्म क्षेत्रमा इमान्दारिता रहँदैन, तबसम्म फिल्म क्षेत्र यस्तै हुनेछ। विदेशी चलचित्रको चेपुवामा हामी सधैं पर्ने हो। अहिले चपली हाइटलाई मात्रै यो समस्या परे जस्तो लागेको छ, तर यो वर्षौँदेखि हामीले भोग्दै आएको हो।

अहिले संगठित नहुने हो भने यसले पछि अरुलाई पनि समस्यामा पार्छ नै। अहिले दक्षिण भारतीय फिल्मको डबिङ ल्याएर जसरी चलाउन खोजिदैछ, यसले सिंगो नेपाली चलचित्र कोल्याप्स हुन्छ। नेपाली फिल्मको कुनै मान्यता पनि हुँदैन, फिल्ममा लगानी गर्नु भनेको बालुवामा पानी हाले जस्तै हुन्छ। नेपाली फिल्मलाई कसैले प्राथमिकतामा राख्दैन। नेपाली फिल्मलाई सधैं सताइरहन्छ। यही चेपुवामा म अहिले परेको छु। डब फिल्म पनि नेपाल प्रवेश गर्यो भने यो काल पल्किए जस्तो हुन्छ, आगामी दिनमा यसको असर सबैलाई पर्छ। हामी विदेशी फिल्मसँग डराएका होइनौँ। मेरो आवाज भनेको अहिले नजुधाउदेऊ न, एकचोटी त मलाई रिलिज गर्न देऊ न भनेर अनुरोध गरेको हो। नेपालमा विदेशी चलचित्र चलाउनहुँदैन भनेको होइन। अहिलेको अवस्थामा सहयोग गरिदिनु न भन्ने मात्र हो।

चलचित्र संघले अहिले दाबी गरिरहेको कुरामा म सहमत छैन। हलले व्यवसाय गर्न पाउँछ तर पहिलो प्राथमिकता नेपाली चलचित्रले पाउनुपर्छ। नेपाली चलचित्र लागेको १५ दिनसम्म अन्य चलचित्र लगाउन नपाउने सहमति भएकोमा संघले सात दिनकै अन्तरमा अर्को चलचित्र लगाएको छ। यो कदापि स्वीकार गर्न सकिने कुरा होइन। यसमा मेरो आपत्ति छ।

मधुसुदन प्रधान, अध्यक्ष/नेपाल चलचित्र संघ 

आधिकारिक हिसाबले पुष्पाको रिलिजका लागि आजसम्म दर्ता भएको छैन। कसले ल्याएको हो भन्ने पनि थाह छैन। चपली हाइटको डेट जुन रिलिज भइसकेको छ, कुनै न कुनैसँग त चलचित्र पहिल्यैदेखि जुध्दै आएको हो। अहिले हल सीमित छैनन्।

मल्टिप्लेक्सदेखि सबै सिनेप्लेक्समा कम्तीमा दुई/तीनओटा पर्दा छ। यसरी धेरै पर्दा भएको हलमा एउटा सिनेमाले पुग्दैन। अन्य भाषाको चलचित्र पनि रिलिज गर्न आवश्य हुन्छ। यो त स्वतन्त्र व्यवसाय हो। उहाँको चलचित्र चल्दाचल्दै रोकिएको होइन। ठूलोबाट सानो हलमा सार्ने काम भएको छैन। उहाँको त चलचित्र नै रिलिज भएको छैन, कसरी अन्यायमा पर्नुभयो उहाँ ? यस्तो भयो भने हामीसँग सम्पर्क गरे त हामी साथ दिन्छौँ। यो स्वभाविक हो। योभन्दा अगाडिका फिल्म हेर्दा पनि जुधेकै छन्। यो त्यसरी मुद्दा बनाउने विषय होइन।

यो बेला त हामी मिलेर जानुपर्छ। सिनेमा हलको पनि आफ्नो किसिमको लगानी छ। बन्दाबन्दीमा पनि खर्च भएको छ, कर्मचारीलाई तलब दिएका छौँ। बिजुली, पानी, सुरक्षा, बहाल खर्च आदि कायम राख्न पनि अन्य फिल्म पनि चलाउन त पाइन्छ। यो मुद्दा बनाउन पर्ने विषय जस्तो लाग्दैन। हल व्यवसायी र चलचित्रकर्मीबीच १५ दिनभित्र अर्को चलचित्र चलाउन नपाइने सहमति भएको हो, तर अर्को नेपाली नै चलचित्र चलाउन नपाइने भन्ने सहमति हो। अन्य भाषाको चलचित्र नचलाउन पाइने भन्ने सहमति भएको होइन।

माधव वाग्ले, प्रथम उपाध्यक्ष/नेपाल चलचित्र निर्माता संघ 

निर्माता संघले भनेको चलचित्र संघले मान्दैन। चलचित्र संघले भनेको विकास बोर्डले मान्दैन। विकास बोर्डले भनेको सरकारले मान्दैन। यो पुरानै कुरा हो। अहिलेको परिस्थितिमा सबै जना मिलिजुली जानुपर्छ। यसमा विदेशी र नेपाली चलचित्र भन्ने कुरा आउँदैन।

जहाँसम्म नेपाली चलचित्र प्रदर्शनको कुरा छ, हलावालाहरुले पहिलेदेखि नै विदेशी फिल्मलाई बढी शो र नेपाली फिल्मलाई कम शो दिँदै आएका छन्। फिल्मअनुसारको शो दिन्थे। अहिले २÷३ सय करोड लगानीमा बनेको पुष्पा फिल्म रिलिज हुँदैछ। कहाँ दुई/तीन सय करोडमा बनेको विदेशी फिल्म कहाँ एक करोड नेपालीमा बनेको फिल्म, कसरी प्रतिस्पर्धा गर्न सक्छौँ। यो सिधै चेपुवामा परेको विषय हो। विदेशी चलचित्र सस्तोमा ल्याएर शो दिन्छन् र नेपाली चलचिलाई शो दिन्नन्। नेपाली फिल्म चेपुवामा परेको कारण यही हो।

हामी कन्टेन्टअनुसार कम छैनौँ, क्वालिटीअनुसार हामी कमजोर छौँ। हामीले नेपाली भाषाको फिल्म भावानात्मक रुपमा बेच्न खोजेका होइनौँ। हामीले पछारेका पनि छौँ विदेशी फिल्म। कन्टेन्टअनुसार हामी कमजोर छैनौँ। यो हिसाबले हामी चेपुवामा परेकै छौँ। त्यसैले अहिलेको अवस्थामा नेपाली फिल्मलाई प्राथमिकतामा राख्नुपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved