एक्लै हिँड्ने अहंकार नगरौं, ओरालो लागिन्छ : प्रचण्ड

शान्तिवार्ता गर्ने श्रेय देउवालाई जान्छ।

नेपालभ्युज

एक्लै हिँड्ने अहंकार नगरौं, ओरालो लागिन्छ : प्रचण्ड
तस्वीरः रासस

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन गरेर अघि बढ्न कांग्रेसलाई आग्रह गरेका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नत्र ओरालो लागिने चेतावनी दिए।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नै आफूलाई जनयुद्धताका शान्ति प्रक्रियाका लागि पहिलो चिठी लेखेको प्रचण्डले स्मरण गराए। भने, “उहाँले पहिलो चिट्ठी लेखेर मलाई वार्तामा आह्वान गर्नुभयो र क्रमिक रुपमा साँच्चै दुनियालाई देखाउने गरी मौलिक प्रकृतिको शान्ति प्रक्रिया गर्‍यौं।”

त्यसलाई कार्यान्वयन गर्दै जटिल विषयहरू मिलाइए पनि अझै पनि केही बाँकी नै रहेको उनको भनाइ थियो। “माओवादी पार्टीको कांग्रेससँग विशिष्ट सम्बन्ध छ। यो परिवर्तनलाई संस्थागत गर्ने र देशलाई अग्रगति दिने सम्बन्धमा पनि गहिरो एकता हुन जरुरी छ,” प्रचण्डले भने, “कहिलेकाँही एक्लै हिँड्नुपर्छ भन्नुहुन्छ। हामी मिलेरै हिंड्ने हो। अहंकार नगरौं। प्रतिस्पर्धा गरे पनि प्रतिस्पर्धाभित्र एकता खोज्नैपर्ने हुन्छ।”

अहिले पाएको सफलता एकता र गठबन्धनबाट प्राप्त भएको भन्दै सबै लोकतान्त्रिक राजनीतिक दलहरूबीचको यो परिणाम भएको बताए। एक्लै हिँड्ने अहंकार गर्दा अहंकार गर्नेको ओरालो यात्रा शुरु हुने उनले बताए। “लोकतान्त्रिक राजनीतिक दलहरूबीच समझदारी कायम गर्ने र देशलाई अघि लैजाने कुरामा नेपाली कांग्रेसले उचित नीति निर्धारण गरोस्,” उनले सुझाव दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved