साझा उम्मेदवार बनाउन नसके पार्टीबाटै बिदा हुन्छु – रामचन्द्र पौडेल

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसके आफू पार्टीबाटै बिदा हुने बताएका छन्।

बुधबार दिउँसोदेखि प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठकले १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न नसेकपछि वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन्।

छलफलका क्रममा कांग्रेस नेता डा. रामशरण महतले सहमति नभएपछि पौडेलले आफूलाई सहयोग गर्न पनि आग्रह गरेका बताए।

बुधबार दिनभरि भएको छलफलका क्रममा सभापतिको आकांक्षीहरूले दाबेदारी नछाडेपछि सहमति जुट्न नसकेको हो। नेताहरूबीच सहमति नभएपछि बिहीबार सभापतिको आकांक्षीहरूबाहेक केन्द्रीय सदस्यहरूको बैठक बस्ने र विकल्प सुझाउने कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिए।

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तीन नेताबीच सहमति भए आफू पछि हट्न तयार रहेको बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले आकांक्षीद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफूले त्यसलाई स्वीकार गर्ने बताउँदै आएका छन्। घिमिरेले केन्द्रीय सदस्यहरूले दिएको सुझावका आधारमा अघि बढ्ने उल्लेख गरे।

कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा शुरु हुँदै छ । महाधिवेशनमा नँया नेतृत्वका लागि संस्थापन पक्षले कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा सहमति जुटाएको छ भने संस्थापन इतरसमूहले निष्कर्षमा पुग्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved