अग्रता जोगाउन नसक्दा पुलिससँग बराबरीमा रोकियो हिमालयन शेर्पा

नेपालभ्युज

अग्रता जोगाउन नसक्दा पुलिससँग बराबरीमा रोकियो हिमालयन शेर्पा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुंगिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शेर्पा र पुलिसले १-१ को बराबरी खेलेका हुन्।

खेलमा पहिलो अग्रता भने हिमालयन शेर्पाले लिएको थियो। खेलको ५३औँ सेकेण्डमै कप्तान विश्वास श्रेष्ठले गोल गरेका थिए। मैदानको मध्य भागमा अलरिच सिवे र विश्वासको समन्वयमा बनेको मुभमा विश्वासको पेनाल्टी बक्सबाहिरको प्रहार पुलिसका गोलरक्षक शत्रुघनकुमार चौधरीलाई लाग्दै गोलमा परिणत भएको थियो।

यता पुलिस क्लबले भने खेलको दोस्रो हाफमा एक गोल फर्काउँदै खेललाई १-१ गोलको बराबरीमा ल्यायो। खेलको ६०औँ मिनेटमा रवि पासवानको पासमा सुमन लामाले करिब सिक्स यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो।

यस बराबरीसँगै पुलिसले तीन खेलमा पाँच अंक जोडेको छ। अंक तालिकामा पुलिस चौथो स्थानमा उक्लिएको छ। त्यस्तै हिमालयन शेर्पाले तीन खेलमा दुई अंक जोडेको छ। हिमालयन शेर्पा लिगको १२औँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved