कांग्रेस महाधिवेशनबारे के भन्छन् अन्य दलका नेता ?

नेपालभ्युज

कांग्रेस महाधिवेशनबारे के भन्छन् अन्य दलका नेता ?

काठमाडौं । नेपाली कांग्रेस अहिले महाधिवेशनको चटारोमा छ। शुक्रबारदेखि शुरु हुने कांग्रेसको  १४औँ महाधिवेशनमार्फत  ४ हजार ७ सय प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्दैछन्।

अन्य राजनीतिक दलका नेताहरुले मुलुकलाई वर्तमान परिस्थितिबाट निकास दिनका लागि कांग्रेसको भूमिका महत्वपूर्ण हुने भएकाले महाधिवेशनबाट सही नेतृत्व चयन गर्न कांग्रेसलाई सुझाव दिएका छन्।

एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन् :

प्रमुख तीन अङ्ग प्रभावकारी नभएको परिस्थितिमा मुलुकलाई निकास दिन कांग्रेसले गम्भीररूपमा सोचेर नीतिगत बहस चलाउन आवश्यक छ। संसद्ले काम गर्न सकेको छैन, न्यायपालिका ध्वस्तै छ, मुलुकमा अहिले धेरै विषय उठेका छन्, यस्तो अवस्थामा महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले यस्तो परिस्थितिबाट देशलाई कसरी बाहिर निकाल्ने भनेर सोच्नुपर्छ।

सबै राजनीतिक दलका अधिवेशन लोकतान्त्रिक विधि र प्रक्रियाअनुरुप सफलतापूर्वक हुनुपर्छ, यसले देशको संसदीय प्रणालीलाई बलियो बनाउँछ भन्ने मेरो मान्यता छ। यही मान्यतामा उभिएर कांग्रेसलाई मेरो शुभकामना दिन्छु।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भन्छन् : 

जहानियाँ राणा शासन, प्रजातन्त्र र गणतन्त्र स्थापना, प्रतिगमनविरुद्धलगायत नेपालको प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको योगदान छ। तर, आन्दोलनको पक्षधर भए पनि कांग्रेसमा ढुलमुले नीति छ।

बुर्जुवा राजनीतिमा समेत केही मान्यता र मूल्य हुने भएपनि नेपालमा नेतृत्वका लागि मात्र प्रतिस्पर्धा हुन थाल्यो, सत्तामा जाने दलले विधि, विधान, नीति बिर्सँदै गए, जुन कुरा हुनुहुन्थेन, अहिले राजनीतिमा नराम्रोसँग स्खलन आएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्ण भन्छन् : 

कांग्रेस देशमा एउटा प्रजातान्त्रिक पार्टीका रूपमा स्थापित छ। तर, पछिल्ला गतिविधि हेर्दा उसले लोकतान्त्रिक पद्धति र विधिलाई बिर्सँदै गएको हो कि भन्ने भान हुन थालेको छ ।

प्रजातन्त्र भनेको संसदीय व्यवस्था मात्रै भन्ने ठानियो।  गरिबी हटाउने र विकास अघि बढाउने सुस्पष्ट नीति र विचार भएन, समानता र गरिबी निवारण नभएसम्म प्रजातन्त्रले स्थायित्व पाउन कठिन हुन्छ। महाधिवेशन नीतिभन्दा नेता चयनमुखी हुन थाले, समाजवादको नेतृत्व गर्ने कांग्रेसले विकासको नीति निर्धारण गर्न सक्नुपर्छ ।

नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले भने :

राणाविरोधी आन्दोलनका क्रममा स्थापना भएको कांग्रेस सहिद, जेलनेल भोगेको राजनीति हो । शासकीय स्वरुप र अरु केही प्रश्नमा मतभेद भए पनि अहिले पनि हामीले मिलेर सरकार चलाइरहेका छौँ।

प्रतिगमनविरोधी आन्दोलनमा मिलेर नै सङ्घर्ष गरेका छौं। संविधानको रक्षा र लोकतन्त्रलाई अघि बढाउने सन्दर्भमा पाँच दलबीच मतैक्यता भएकै कारण अहिले पनि सरकारमा मिलेर काम गर्ने अवसर प्राप्त भएको हो।

अधिवेशनमा सक्रिय कांग्रेसका कार्यकर्ताले कहीँकतै पनि वैचारिक बहस गरेको मलाई थाहा छैन। जबकी, समाजले खोजेको माग र दिशातर्फ अघि बढ्न वैचारिक र राजनीतिक बहसमा केन्द्रित होस् भन्‍ने शुभकामना दिन चाहन्छु।

पूर्वमन्त्री हृदयेश त्रिपाठीले भने :

नेपालको लोकतान्त्रिक आन्दोलनमा पटक पटक अगुवाइ गरेको कांग्रेस ऐतिहासिक राजनीतिक दल हो। प्रत्येक राजनीतिक दलले महाधिवेशनमा वैचारिक बहस अघि बढाउनुपर्नेमा त्यो समाप्त भइरहेको अवस्था छ, कांग्रेसले यस महाधिवेशनमा वैचारिक बहसलाई केन्द्रित गरोस् भन्ने शुभकामना र शुभेच्छा प्रकट गर्छु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved