कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउन सक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्कको प्रयोग अनिवार्य गरिएको प्रवक्ता विश्‍वप्रकाश शर्माले बताए।

नेपालभ्युज

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौं। नेपाली कांग्रेसको आसन्न १४ औँ केन्द्रीय महाधिवेशनको अन्तिम चरणमा पुगेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। २४ देखि २७ मंसीरसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन आयोजना हुनेछ।

केन्द्रीय महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारका कामलाई तिव्रताका साथ अघि बढाइएको शर्माले बताए।

‘‘नेपाली काँग्रेस पार्टीको १४ औँ महाधिवेशनको अन्तिम चरणमा छौँ। टोलदेखि केन्द्रसम्म काँग्रेस पार्टीको संगठनको ८ वटा चरण छ। त्यसमा ७ वटा तहको निर्वाचनको प्रक्रियाहरु हुन्छ। वडादेखि लिएर प्रदेश अधिवेशनसम्म आउँदा ६ वटा तह सकिएको छ। प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक ती विषयहरुलाई महाधिवेशनपछि हुने कुरा थाँति राखेर अब हामी केन्द्रीय अधिवेशनतर्फ केन्द्रित छौँ,’ शर्माले भने,‘ यसमा केन्द्रित हुँदै गर्दा देशभरबाट प्रतिनिधिहरु आउने क्रम शुरु भएको छ। केन्द्रीय महाधिवेशनको लागि यसको व्यवस्थापकीय काममा अहिले हामी व्यस्त छौँ।’’

प्रवक्ता शर्माले कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउन सक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्कको प्रयोग अनिवार्य गरिएको बताए। त्यस्तै, महाधिवेशन स्थलमा डेल्थ डेस्क रहने पनि उनले बताए।

प्रस्ताव डिजिटल भोटिङको, तयारी मेनुअलकै

प्रवक्ता शर्माले डिजिटल भोटिङको व्यवस्था गर्ने प्रस्ताव निर्वाचन समितिबाट आएको पनि बताए।

‘‘निर्वाचन समितिका संयोजक अधिवक्ता गोपालकृष्ण घिमिरे र अरु साथीहरुले डिजिटल भोटिङ मेसिनको प्रयोग गरौं भन्ने प्रस्ताव गर्नुभएको छ। हामी पदाधिकारी र केन्द्रीय समितिको बैठक बसेर यो विषयमा भोलि÷पर्सि भित्रमा हामी टुंगोमा पुग्छौं। अहिले भने हामी म्यानुअल्ली भोट गर्ने व्यवस्थालाई नै व्यवस्थित गर्न जुटेका छौं।’’

१ हजार बढी ब्यालेट बक्सहरु मैदानमा राख्ने र २ सय ९३ भन्दा बढी स्पट पोइन्टबाट मत हाल्ने व्यवस्था मिलाउन लागिएको शर्माले बताए। ‘‘२९ वटा मतपत्र हुन्छ र मतदाताले, पार्टीको महाधिवेशन प्रतिनिधिले पहिलोपटक गएर शुरुमा सभापतिको मतपत्र लिनुहुन्छ। सभापतिको मत व्यक्त गरेर खसालेपछि क्रमशः उपसभापति, महामन्त्री र सदस्यहरुको मतपत्र लिनुहुनेछ। करिब १ घण्टा मत व्यक्त गर्न लाग्ने परिस्थिती देखिएको छ। प्रविधिको व्यवस्था गर्न सक्यौँ भने त्यो भन्दा छिटो हुन्छ। त्यसले मत गणनाको प्रक्रियालाई पनि छिटो छरितो बन्छ भन्नेमा ढुक्क छौँ। तर अहिलेको जे व्यवस्था छ त्यसमा जाँदै गर्दा मतगणनामा पनि समय लाग्ने, मतदानमा पनि समय लाग्ने स्थिति छ,’ उनले भने।

महाधिवेशनपछि नीति अधिवेशन
प्रवक्ता शर्माले २०४६ सालको परिवर्तनयता दलहरुको महाधिवेशनमा नीतिगत कुराहरु उठ्ने गरेपनि नेतृत्व चयनले नै प्राथमिकता पाउने गरेको बताए । महाधिवेशन भने पूर्ण रुपमा नेतृत्व चयनमै केन्द्रीत रहने उनले बताए।

‘हामी के बहसमा थियौँ भने नेपाली काँग्रेसलाई रुपान्तरित र आधुनिक बनाउने हो भने नीति अधिवेशन र नेतृत्व अधिवेशन फरक–फरक गर्नुपर्छ। यसक्रममा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले १४ औं अधिवेशनलाई नेतृत्व अधिवेशनमा परिणत गरौं भन्ने प्रस्ताव पदाधिकारी बैठकमा गर्नुभयो,’ शर्माले भने,‘ यसपछि महाधिवेशनबाट आउने कार्यसमितिले नीति अधिवेशन गरेर काँग्रेसको विधान, नीति, कार्यक्रमको सन्दर्भमा टुंगो गरौं भन्ने उहाँको प्रस्ताव थियो। त्यसैले, अब नीतिको विषय सर्लक्क छुट्याइसकेपछि हामी नेतृत्वमै केन्द्रीत हुनेछौं।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved