नेपाली कांग्रेसको १४ औं महाधिवशेन

साझा उम्मेदवार : शेखर कि प्रकाशमान ?

गगन भन्छन्, "देउवा बदल्न साझा उम्मेदवार चाहियो"

पूर्वसंस्थापन पक्षका चार आकांक्षीमध्ये दुई जना पछि हट्ने संकेत छ। प्रकाशमान सिंह र शेखर कोइराला दुवै जनाचाहिँ जसरी पनि सभापतिको प्रत्यासी बन्ने होडमा छन्।

नेपालभ्युज

साझा उम्मेदवार : शेखर कि प्रकाशमान ?

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पूर्व संस्थापन पक्षबाट सभापतिका आकांक्षी धेरै देखिएपछि साझा उम्मेदवार छान्ने अभ्यास शुरु भएको छ।

कांग्रेसमा पूर्वसंस्थापन पक्ष भन्नाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला आदि नेता सम्मिलित समूह हो भने देउवा संस्थापन पक्षका नेता हुन्।

संस्थापन र पूर्वसंस्थापन पक्षबाहेक कृष्णप्रसाद सिटौला समूह र विमलेन्ध्र निधि समूह पनि यो महाधिवेशनमा नेतृत्वमा पुग्ने आकांक्षमा छ। सिटौला समूह संस्थापन पक्षसँगै मिलेर अघि बढिरहेको देखिन्छ भने निधिले आफूलाई सभापतिको प्रत्यासीको रूपमा उभ्याएका छन्।

पूर्वसंस्थापन पक्षबाट सभापतिका आकांक्षीहरूमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला हुन्। यी चारमध्ये एक जना साझा उम्मेदवार बन्नुपर्ने अहिले यो समूहभित्र व्यापक दबाब परेको छ। त्यस्तो दबाब यो समूहसम्बद्ध दोस्रो/तेस्रो पुस्ताका नेताहरूले दिइरहेका छन्।

“हामीले सभापतिका आकांक्षी नेताहरूलाई प्रस्टसँग भनिसक्यौं, एक जनामा सहमति गर्नोस्। दुई जना नेता सभापतिमा बाँकी रहेसम्म हामी प्यानलमा उभिने छैनौं”, महामन्त्रीका आकांक्षी युवा नेता गगन थापा भन्छन्, “हामी यो समूहमा लागेको शेरबहादुर देउवाको नेतृत्व बदल्न हो। त्यसो गर्न साझा उम्मेदवार अनिवार्य शर्त हो। नेताहरूलाई हामीले साझा उम्मेदवार चाहियो भनिसक्यौं। छिट्टै निर्णय होला।”

पूर्वसंस्थापन समूहको बैठक सोमबार पौडले निवासमा भएको थियो। मंगलबार दिउँसो पनि साझा उम्मेदवारकै विषयमा छलफल गर्न बैठक बस्ने कार्यक्रम‍ छ। त्यसअघि मंगलबार बिहान १० बजे पूर्वसंस्थापन पक्षका दोस्रो पुस्ताका नेताहरूले पनि आपसी छलफल आयोजना गरेका छन्। गगन थापा, बद्री पाण्डे, धनराज गुरुङ, चन्द्र भण्डारीलगायत नेताहरूले आफ्नो पक्षबाट सभापतिको साझा उम्मेदवार बनाउन दबाब दिने उद्देश्यले बैठक डोकेका हुन्।

सम्भव छ, साझा उम्मेदवार ?

पूर्वसंस्थापन पक्षका चार आकांक्षीमध्ये दुई जना पछि हट्ने संकेत छ। प्रकाशमान सिंह र शेखर कोइराला दुवै जनाचाहिँ जसरी पनि सभापतिको प्रत्यासी बन्ने होडमा छन्।

रामचन्द्र पौडेललाई एकचोटि सभापति हुने औधि रहर छ। समकक्षी देउवा, शुशील कोइराला नेतृत्वमा पुगिसकेको सन्दर्भमा पौडेलले पनि सभापतिको आश गर्नु अस्वाभाविक होइन। तर, उनले सिंह, कोइराला परिवारका शेखर र शशांकमध्ये कोही एक जनामा सहमति बनेमा पछि हट्ने संकेत गरेका छन्। पौडेलनिकट एक नेता भन्छन्, “कि तीन जनामध्ये एकमा सहमति गर कि मलाई एकपटक सभापति स्वीकार। पौडेल अलि लचिलो देखिनुभएको छ।”

शशांक कोइरालले सभापतिमा दाबी गरे पनि अन्तिममा छोड्ने निष्कर्षमा पुगेका छन्। स्रोतका अनुसार उनले नजिकका आफन्तहरूलाई दाबी छोड्ने बताउन थालेका छन्। केही दिन अघिसम्म मिडियामा आफ्नो आकांक्षा राख्दै आएका शशांक अहिले मौनजस्तै छन्। “तर प्रकाशमान र शेखर एक्लै रहेसम्म पनि लड्छु भन्ने मनोविज्ञानमा छन्”, पूर्वसंस्थापनका एक नेता भन्छन्, “साझा उम्मेदवार छान्ने बाटोमा यी दुई नेताको अडान अवरोध बनेको छ।”

प्रदेशस्तरीय चुनावले शेखर र सिंह दुवैलाई केही धक्का लागेको छ। प्रदेश १ मा शेखर कोइराला पक्ष पराजित भएको छ भने बाग्मती प्रदेशमा सिंह समूहलाई धक्का लागेको छ। प्रादेशिक स्तरसम्मको निर्वाचन र महाधिवेशन प्रतिनिधिको चुनावले प्रस्ट सन्देश दिएको छ, साझा उम्मेदवार नहुँदा देउवालाई पराजित गर्न मुस्किल छ।

कांग्रेसभित्रका जानकारहरूका अनुसार  झण्डै ४८ सय महाधिवेशन प्रतिनिधिमा देउवाका पक्षमा २ हजार हाराहारीमा चुनिएर आएका छन्। पूर्वसंस्थापन पक्षबाट पनि त्यही हाराहारीमा प्रतिनिधि निर्वाचित भएर आएका छन्।

“७/८ सय मत निर्णायक हुन्छ। यो अवस्थामा साझा उम्मेदवार भएमात्रै पूर्वसंस्थापन नेतृत्वमा पुग्न सक्छ। अन्यथा दोहोरिने देउवा नै हुन्”, कांग्रेसका एक नेताको निष्कर्ष यस्तो छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved