दलितका घरमा ८४ वर्षीय ‘गिरी बा’ पुजारी

यही समाजका एक पुरोहित, जो लामो समयदेखि दलितको घरघर पुगेर पूजापाठ गर्दै आएका छन्।

दलितका घरमा ८४ वर्षीय ‘गिरी बा’ पुजारी

पर्वत। अहिले पनि समाजमा छुवाछुत प्रथा पूर्ण रूपमा हटिसकेको छैन। दलित समुदायका व्यक्तिले अझै पनि धेरै खालका जातीय समस्या भोग्दै आइरहेका छन्। समाजमा उनीहरूप्रति गरिने व्यवहार नै बेग्लै छ।

हिन्दू भएर पनि पूजापाठ, न्वारन, व्रतबन्ध, विवाहजस्ता धार्मिक कर्मकाण्ड गर्न उनीहरूको घरमा पण्डित पुग्दैनन्। दलितका घरमा पूजा गर्दा धर्म नास हुने गलत बुझाइ अहिले पनि उस्तै छ। यही समाजमा एक पुरोहित पनि हुन्, जो लामो समयदेखि दलितको घरघर पुगेर पूजापाठ गर्दै आएका छन्।

कुश्मा नगरपालिका-६ साझा चोक घर भएका ८४ वर्षीय गोपाल गिरी दलित समुदायको घरमा पूजापाठ गर्दै आएका छन्। छुवाछूतको कुरा कहीँ नलेखिएको तर केही टाठाबाठा ब्राह्मणले अर्कालाई निच देखाएर आफूलाई ठूलो देखाउन हिन्दू धर्मभित्र गलत परम्पराको शुरुआत गरेको गिरीको भनाइ छ।

मान्छेले मान्छेलाई भेद्भाव गर्न हुन्न भन्ने चेतना युवा अवस्थामै जागृत भए पनि उनले दलित समुदायको घरमा पुगेर पूजा गर्न शुरु गरेको तीन दशक भयो। “धर्मले यो सानो यो ठूलो, यसलाई भेद गर भनेको छैन, केही मान्छेलाई आफूखुसी यो प्रथाको शुरु गराएका हुन्, एउटै हिन्दू धर्ममा बाँधिएका हामी सबै एकै हौँ, फरक धर्म नै माने पनि मान्छे त सबै एकै हुन्”, पण्डित गिरीले भन्नुभयो, “मैले युवा अवस्थाबाट जातका नाममा भेद्भाव गर्नुहुँदैन भन्दै आएको छु।”

तिरस्कार सहेरै भए पनि उनले जातीय भेदभाव र हिन्दू धर्मभित्र भगवानका नाममा गरिने बलि प्रथाको समेत खुलेर विरोध गर्दै आइरहेको बताए। उमेरले उकालो चढेपछि पहिले–पहिले जस्तै बोलाएका सबै ठाउँमा पुग्न नसक्ने गरेको तर जान सक्ने भएमा भने उनी त्यहाँ पुगेर कर्मकाण्ड गर्दै आएको बताउँछन्।

वर्षौं पहिले जातीय छुवाछूतको अवस्था समाजमा व्याप्त थियो। पछिल्लो समयमा आएका सामाजिक परिवर्तनले यो समस्या कम हुँदै गएको छ। यसैको उदाहरण गिरीकी श्रीमती देवी पनि हुन्। श्रीमानले थालेको अभियानमा देवीको पनि साथ छ। उनले पनि अहिले छुवाछुतमा विश्वास मान्न छाडेकी छन्।

“सार्कीकामा, कामीकामा पूजापाठ गर्छ भनेर जिस्क्याए पहिले, जिस्क्याए पनि उहाँ जान छोड्नुभएन, जातभातका आधारमा मान्छेलाई हेलाँ गर्नहुन्न भन्नुहुन्छ”, उनी भन्छिन्, “मैले पनि छुवाछूत गर्दिनँ, उहाँ कहीँ पूजामा जान परेमा सघाउँछु, उहाँको कुरा एक दिन त बुझ्लान् नि अरूले।”

पुरोहित गिरीले छुवाछुत र जातीय विभेदविरुद्ध दलितको घरमा पुगेर पूजापाठ गर्ने मात्र नभई उनीहरूले बनाएको भोजनसमेत ग्रहण गर्ने गरेको बताए। त्यस जर्जर समय र परिवेशमासमेत खुलेरै समानताका पक्षमा लागेका उनलाई विभिन्न सङ्घ संस्थाले सम्मानसमेत गरिसकेका छन्।

कतिले त उनको साहसलाई क्रान्तिका रूपमा पनि बुझ्ने गरेका छन्। नेपाल दलित सङ्घका अध्यक्ष याम परियारले गिरीको साहसलाई आफूहरूले सम्मान गरेको जनाउँदै जातीय छुवाछूतको अन्त्यका लागि गिरीले गरेको आँटलाई जति सम्मान गरे पनि कमी हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved