काष्ठमण्डपको पुनर्निर्माण सकियो

नेपालभ्युज

काष्ठमण्डपको पुनर्निर्माण सकियो

काठमाडौं । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो।

वि.सं २०७२ सालको भूकम्पल यस सम्पदामा क्षति पुगेको थियो। देशका विभिन्न स्थानहरुबाट ल्याइएका काठहरु काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको समितिका अध्यक्ष तथा वागमती प्रदेशका सांसद राजेश शाक्यले बताए।

अध्यक्ष शाक्यका अनुसार अब काष्ठमण्डपलाई एउटै रुखको काठबाट बनेको भन्न मिल्दैन। अध्यक्ष शाक्यले अब चाँडै नै काष्ठमण्डपको उद्घाटन गर्ने मिति सार्वजनिक गर्ने पनि बताए। ‘काष्ठमण्डपको सबै काम सकिएको छ, यसको पुनर्निर्माण भइसकेको छ, यसको अब पहिलाको बार मात्रै राख्न बाँकी छ, काष्ठमण्डप सबै जनमानसको पनि चासोको विषय हो । उद्घाटनतिर लाग्ने कुरा पनि आइरहेको छ, अब हामी यसको उद्घाटको पनि तिथिमिति तोक्नेछौँ,’ उनले भने,‘हामीले यसको निर्माण गर्दा समुदायसँग मिलेर आज काष्ठमण्डप सातौँ शदाब्दीको प्रयोग गरिए पनि गारोमा थप थाम राखिएकोले सबल छ, नेपालको प्रविधिले यो बनाउन सकेको ठूलो उदाहरण हो । चीन, कोरिया, जापानले मात्रै बनाउन सक्छ भन्ने कुरालाई चिर्दै नेपालले पनि बनाउन सक्छ भन्ने कुराको विकास भएको छ । बनाएर देखाएको छ, अब नेपालीहरुलाई बनाउन अवसर आउनेछन् भन्ने सोचेको छु ।’

अध्यक्ष शाक्यले पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा अहिले काठबाहेक ढुङ्गा, माटो, इँटा, तामा लगायतका सामग्रीको प्रयोग गरिएको बताए। उनले काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको पनि बताए।

काष्ठमण्डप पुनर्निर्माणका लागि ११ करोड ५० लाख रुपैयाँ विभिन्न निकायबाट अनुदान सहायता प्राप्त भएको थियो। यसको पुनर्निर्माणमा झन्डै ११ करोड ३९ लाख रुपैयाँ खर्च भएको समितिका अध्यक्ष शाक्यले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved