यस वर्षको अन्तर्दृष्टि पुरस्कार पन्थी, भट्टराई र राईलाई प्रदान गरिने

नेपालभ्युज

यस वर्षको अन्तर्दृष्टि पुरस्कार पन्थी, भट्टराई र राईलाई प्रदान गरिने

काठमाडौं। अपांगता भएका व्यक्तिहरूको ३०औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा तीन विधामा अन्तर्दृष्टि प्ररस्कार २०७८ घोषणा गरिएको छ। अपांगताप्रति समाजको विद्यमान नकारात्मक, विभेदपूर्ण र पूर्वाग्राही सोचमा परिवर्तन ल्याइ समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचानका लागि डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ २०७८ का लागि तीन विधामा घोषणा गरिएको छ।

यस वर्षको अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार कपिलवस्तुको सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा शिक्षक रोमहर्ष पन्थीलाई प्रदान गरिने भएको छ। शिक्षण सिकाइ क्रियाकलाप, सामाजिक व्यवहार, अपांगताप्रतिको सोच र दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार उनलाई पुरस्कार दिन अन्तर्दृष्टि पुरस्कार समितिका संयोजक होमनाथ अर्यालले जानकारी दिए।

यस्तै अन्तर्दृष्टि हातेमालो पुरस्कार सिद्धार्थ स्मारक माध्यमिक विद्यालयकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी ममता भट्टराईलाई प्रदान गरिने भएको छ। अपांगता नभएका विद्यार्थीहरूको सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान आदिलाई आधार मानी छनोट गरेअनुसार उनलाई पुरस्कार दिन लागिएको समितिले जनाएको छ।

यसैगरी अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी विद्या राईलाई दिने निर्णय समितिले गरेको छ। पत्रकारिताका माध्यमबाट अपांगता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाजको अंग बनाउन भूमिका खेलेर योगदान गरेकामा उनलाई उक्त पुरस्कार दिन लागिएको समितिले जानकारी दिएको छ।

अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम  २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम १० हजार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम १० हजार रुपैयाँ रहेको छ।

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूको सर्वेक्षणका आधारमा ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ तथा ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो। अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ भने समितिका सदस्यहरू होमनाथ अर्याल, डा. कमल लामिछाने, सुनिता थापा र सरिता लामिछानेको निर्णयका आधारमा गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved