काठमाडौं। २५ नोभेम्बर २०१४, सिड्नी क्रिकेट मैदान। न्यू साउथ वेल्सविरुद्ध साउथ अस्ट्रेलिया टिमका लागि फर्स्ट क्लास क्रिकेट खेलिरहदाँ फिलिप ह्युज निकै फर्ममा थिए। ‘के यी तिनै फिलिप हुन् ? जो लगातारको खराब प्रदर्शनका कारण राष्ट्रिय टिममा पर्न असफल छन् ? वा उनको फरक अवतार प्रकट भइरहेको छ ? ’ सायद, प्याराफिटबाट दर्शकहरु यस्तै सोचिरहेका थिए। किनकि, यस दिन फिलिपको ब्याट मज्जाले चलेको थियो।
ओपनिङमा आएका उनले साउथ अस्ट्रेलियाका लागि ६३ रन बनाए र उनको नजर शतकमा थियो। तर, न उनको धोको पूरा भयो, न उनलाई आउट गर्ने विपक्षी बलरको धोको नै। न्यू साउथ वेल्सबाट बलिङ गरिरहेका सियन एबोटले बाउन्सर फ्याँके, जवाफमा ह्युजले हुक सट खेल्ने प्रयास गरेका थिए। तर, ब्याटलाई छलेर गएको बल सिधै गएर उनको कान पछाडिको घाँटीको त्यो भागमा लाग्यो, जुन भाग हेल्मेटले छोपिएको थिएन।
यसपछि एकछिनमै उनी मैदानमा ढले। तत्कालै उनलाई अस्पताल पुर्याएर पनि उनी काेमामा पुगे। तत्कालै अपरेसन पनि भयो। फिलिपको २६ औँ जन्मदिन आउन पाँच दिन बाँकी छँदा यस्तो दुर्घटना निम्तिएको थियो। समर्थक, आफन्त र परिवारले लगातार उनको सुस्वास्थको कामना गरिरहेका थिए। तर, जन्मदिन आउन ३ दिन बाँकी छँदै उनी अस्ताए।

फिलिपको यो मेडिकल केसलाई निकै दुर्लभ मानिन्छ। अस्ट्रेलियन टिमका डाक्टर पिटर ब्रक्नरले घटना पछि बताएका थिए,‘फिलिप ह्यूजको जस्तो केस विरलै हुन्छ। हालसम्म विश्वमा करीब एक सयजनामा भएको मात्रै यस्तो भएको छ। क्रिकेट बलले लागेर निम्तिएको यो पहिलो दुर्घटना हो।’
घटनाको सात वर्ष पूरा भइसक्यो। तर, अहिलेसम्म पनि त्यस चोटको पीडाबाट विश्व क्रिकेट जगत तङ्ग्रिन सकेको छैन। जब, कुनै खेलमा बल गएर खेलाडीको टाउको वा हेल्मेटमा लाग्छ, तब सबैको मनमा चस्का पस्छ र फिलिपको अनुहार मानसपटलमा छाउँछ।
फिलिप ढलेपछि रद्द भएको त्यो खेल फेरि कहिल्यै खेलिएन। शुरुमा फिलिपको इनिङलाई ‘रिटायर्ड हर्ट’ भनिएपनि पछि उनको सम्मानमा उनको अन्तिम इनिङलाई ‘६३ नटआउट’ नाम दिइयो। उनको नाम कहिले आउट नहुने ब्याटस्म्यानका रुपमा दर्ज रह्यो। यो सबै त्यतिबेला भइरहेको थियो, जतिबेला फिलिपलाई अस्ट्रेलियन क्रिकेटमा उदाउँदा ब्याट्सम्यानका रुपमा हेरिएको थियो।
उनले आफ्नो क्रिकेट करियरको शुरुआतमा नै निकै प्रभावशाली प्रदर्शन गरेका थिए। उनले टेस्ट क्रिकेटमा एकै म्याचको दुई इनिङमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्डसमेत बनाएका थिए। यो उपलब्धि उनले दक्षिण अफ्रिकाविरुद्ध २० वर्षको उमेरमै हासिल गरेका थिए।
साथै, एकदिवसीय खेलमा आफ्नो डेब्यू म्याचमै शतक प्रहार गर्ने उनी पहिलो अस्ट्रेलियन ब्याट्सम्यान हुन्। सन् २०१३ मा श्रीलंका विरुद्धको डेब्यू म्याचमा उनको यो रेकर्ड बनेको थियो। तर, यसका बाबजुद पनि फिलिपको फर्म सधैं उस्तै रहेन। त्यसैले त, निधनअघि उनले ५ वर्षे अन्तर्राष्ट्रिय करियरमा अस्ट्रेलियाका लागि २६ टेष्ट र २५ एकदिवसीय म्याच मात्र खेल्न पाए।
जुन खेलले फिलिप ह्यूजलाई संसारमा चिनायो, त्यही खेलले अल्पायुमै उनको ज्यान पनि लियो। यस घटनापछि विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै नियममा केही संशोधन गर्यो।
ब्याट्सम्यानले लगाउने हेल्मेटको ढाँचा परिवर्तन गरियो, टाउको वरपरको कुनैपनि खुल्ला भागमा बलले सिधै नछुनेगरी डिजाइन गरिएका हेल्मेट प्रयोगमा आए। खेल दौरान बलले टाउको वरपर वा हेल्मेटमा लाग्ने बित्तिकै चोट छ कि छैन भनेर तत्काल जाँच गर्न थालियो।
यसले क्रिकेटरहरुलाई केही सुरक्षित बनाएको छ। तर, फिलिप फर्कने छैनन्। ‘६३ नटआउट’ को रुपमा फिलिप र उनको याद मात्र विश्व क्रिकेटमा रहिरहनेछ।
फिलिपको ज्यानै लिने बाउन्सर फालेका सियट एबोट पनि अस्ट्रेलियाका उम्दा खेलाडी थिए। उनले फिलिपसँगै २०१४ मै टी-२० क्रिकेटमा डेब्यू गरेका थिए। यस घटनापछि बलिङ गर्दा बाउन्सर फ्याँक्न पाइदैन भनेर बहस पनि चल्यो। तर, फिलिपको निधन खेलकुदमा विरलै हुने दुर्भाग्यपूर्ण दुखद् घटनामात्रै भएको निष्कर्ष निकालियो।
यसमा कसैको दोष थिएन। न क्रिकेटको, न बलको, न बलर सियन एबोटको, न त स्वयं फिलिप ह्यूजको। फिलिपको संझनामा धेरै कार्यक्रमहरु राखिए। त्यसमध्येको एउटा कार्यक्रम काठमाडौंको कीर्तिपुरमा आयोजित क्रिकेट म्याच थियो। यस खेलमा अस्ट्रेलियन खेलाडीहरु सहितको टोलीसँग नेपालको राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेलेको थियो। ६३ नटआउटको सम्झना गर्दै दुवै टिमलाई ३१ ओभर ३ बल खेल्न दिइयो।
Facebook Comment
Comment