नेपालका नेतालाई चीनको सन्देश : देश विकासका लागि बलियो नेतृत्व आवश्यक

नेपालभ्युज

नेपालका नेतालाई चीनको सन्देश : देश विकासका लागि बलियो नेतृत्व आवश्यक

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १ सयौं वर्ष पूरा भएको अवसरमा आयोजित १९ औं केन्द्रीय कमिटीको छैटौं बिस्तारित बैठकपछि पार्टीको अन्तर्राष्ट्रिय विभागले दक्षिण एशियाका बामपन्थी पार्टीहरूसँग आफ्ना अनुभव साटासाट गरेको छ।

भर्चुअल्ली आयोजना गरिएको उक्त बैठकमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनसहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, नेकपा माले, मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टीका साथै श्रीलंका, भारत र बंगलादेशका वामपन्थी पार्टीहरूको सहभागिता थियो । बैठकमा २० भन्दा बढी पार्टीका ३ सयजना भन्दा नेताहरू सहभागी रहेका थिए।

बैठकलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको अन्र्ताष्ट्रिय विभागका मिनिस्टर सोङ ताओले पार्टीको १९ औँ केन्द्रीय कमिटीको छैटौँ बिस्तारित बैठकबारे सहभागीहरूलाई जानकारी दिएका थिए। उनले चिनियाँ विशेषतासहितको समाजवादको नयाँ युगमा चीन प्रवेश गरेको बताएका थिए।

‘यो एक सय वर्षको अनुभवबाट हामी कसरी सफल भयौँ र भविष्यमा कसरी सफलता पाउन सकिन्छ भनेर सिक्न सक्छौँ,’ ताओले भने, ‘विश्वभरका वामपन्थी पार्टीहरू जातीय स्वाधिनता, राष्ट्र धनी र जनता सुखीको उद्देश्य हासिल गर्नका लागि काम गरिरहेका छौँ। हाम्रा अनुभव उस्तै छन्। हामीले एकअर्कालाई बुझ्न र समर्थन गर्न सक्छौं।’

मिनिस्टर ताओले चीनको उदाहरण दिदैं देशको उन्नति र प्रगतिका लागि बलियो नेतृत्व र वैज्ञानिक सिद्धान्त आवश्यक रहेको बताए । ‘बलियो नेतृत्वका कारण नै चिनियाँ कम्युनिस्ट पार्टीले सिंगो राष्ट्रलाई एउटा सिद्धान्तमा एकीकृत गर्न सफल भयो,’ ताओले भने, ‘१८ औँ महाधिवेशनदेखि हामी चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ युगमा प्रयोग प्रवेश गरेका छौँ।

महासचिव सी जिनफिङको नेतृत्वमा चीन राष्ट्र बलियो बनेको छ, जनता धनी बनेका छन्। किनभने हामी चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ जिनपिङ विचारधारा छ।’ ‘हामी आफ्नो देशको वास्तविक अवस्थतासँग अनुकूल बाटो हिँड्नुपर्छ।

हामीले मार्क्सवादको आधारभूत सिद्धान्त र चीनको वास्तविक अवस्थालाई एक अर्कासँग जोडेका छौँ। हाम्रो देशसँग अनुकूल भएको चिनियाँ विशेषतायुक्त समाजवादको सी विचारधारालाई अघि सारेको छौं।’

चीनले पनि अरु देशको अनुभावबाट पाठ सिकेको भए पनि यो सिद्धान्त अरुको हबहु नक्कल नभएको दाबी उनले गरे। मिनिस्टर ताओले अब चीनले दोस्रो सय वर्षको सपना साकार गर्नका लागि कामको थालनी गर्ने जानकारी दिए। बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वका सबै राष्ट्रहरूबीच ‘विन–विन’ को अवस्थामा सहकार्य गरेर साझा भविष्यसहितको समुदाय निर्माण गर्नका लागि छैटौँ विस्तारित बैठकको विशेष महत्व रहेको बताए। उनले नेपाल सधैँ ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको बताए।

त्यसअघि, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले हासिल गरेको सफलताबाट विश्वकै कम्युनिस्ट पार्टीहरू प्रभावित बनेको बताएका थिए। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चिनियाँ कम्युनिस्ट पार्टीलाई एकसय वर्ष पूरा गरेकोमा बधाई दिए।

उनले चिनियाँ विशेषतासहितको समाजवादको प्रशंसा गर्दै उनले आफूहरू पनि नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेको बताए। तर, यसका आन्तरिक र वाह्य धेरै चुनौतीहरू रहेको पनि उनले बताए। कार्यक्रममा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का सीताराम यचुरी, बंगलादेशको कम्युनिस्ट पार्टीका नेता दिलिप बरुवालगायतले पनि आ–आफ्नो धारणा राखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved