खेलाडी र क्यानको किचलो, अन्योलमा क्रिकेट भविष्य

खेलाडी र क्यान यस्ता लफडामा अल्झिरहँदा नेपाली क्रिकेटका आउँदा वर्षका लक्ष्यहरू ओझेलमा परेका छन्।

खेलाडी र क्यानको किचलो, अन्योलमा क्रिकेट भविष्य

काठमाडौं। एकातर्फ नेपाली राष्ट्रिय क्रिकेट टिमसामु आउँदो वर्ष (सन् २०२२) मा पूरा गर्नुपर्ने चुनैतीका पहाड छन्। अर्कातर्फ अहिले त्यही राष्ट्रिय टिमका खेलाडीहरू र नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूबीच जुँगाको लडाइँ चलिरहेको छ।

नेपाली क्रिकेट आउँदा दुई विश्वकपको छनोट यात्रा र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट पाएको एकदिवसीय मान्यता जोगाउन अहिले कस्सिएर लाग्नुपर्ने हो। तर टिमको तयारीको त कुरै छाडौं राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकको टुंगोसमेत लाग्न सकेको छैन।

क्यान अध्यक्ष चतुरबहादुर चन्द आफैं कांग्रेसको बैतडी जिल्ला सभापतिमा होमिएका छन्। उनले हालै भएको जिल्ला अधिवेशनमा बैतडीबाट कांग्रेस सभापति निर्वाचित भए।

उता विभिन्न विवाद र आन्तरिक राजनीतिमा रुमल्लिरहने क्यान तथा राष्ट्रिय टिमको कर्तव्य र आफ्नो भविष्यको चिन्तामा च्यापिएका खेलाडीहरूमा अहिले अर्कै टक्कर चलिरहेको छ- कसको पावर कति छ भनेर देखाउने।

खेलाडी र क्यानबीच विवाद हुनु कुनै नौलो कुरा रहेन अब नेपाली क्रिकेटमा। विगतमा पनि यो प्रक्रिया चलिरहेथ्यो। यसपालिको विवादको शुरुआत भने गत महिनाको दोस्रो साताबाट भयो, जब क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसँगै केही खेलाडीसँग खेलाडी वर्गीकरणका विषयमा एक मिडियामा बोलेका कारण देखाउँदै एक हप्ताको समय सीमामा लिखित स्पष्टीकरण माग्यो।

जहाँ मिडियामा बोलेका भन्दा पनि क्यानको ठूलो टाउको दुखाइ त खेलाडीहरूले वर्गीकरणमा चित्त नबुझाएको कुरामा थियो। यसपछि खेलाडीहरूले क्यानसमक्ष लिखित स्पष्टीकरण बुझाए। खेलाडीहरू पनि के कम, क्यानले आफ्नो शक्ति देखाउन स्पष्टीकरण मागेलगत्तै बिहीबार क्रिकेट खेलाडीहरूको समूहले पनि क्यानसामु विभिन्न प्रश्न तेर्स्याउँदै ११ बुँदे ज्ञापनपत्र बुझाएर फेरि क्यानलाई आफ्नो शक्ति देखाए।

उनीहरूले पनि आफ्ना प्रश्नहरूको सम्बोधन र जवाफका लागि क्यानलाई सात दिनको म्याद दिएका छन्। क्यानको गत असोजमा बसेको बोर्ड बैठकले खेलाडीसँग सन् २०२१ को अप्रिलदेखि डिसेम्बरसम्म नयाँ सम्झौता गर्न नयाँ वर्गीकरण सूची पारित गरेको थियो।

खेलाडीको प्रदर्शन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताका प्रमुख आधारमा क्यानले खेलाडीहरूलाई तीन श्रेणीमा बाँडेको थियो। जसअनुसार राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीहरूले ‘ए’ श्रेणीमा पर्नेले मासिक ५० हजार, ‘बी’ मा पर्नेले मासिक ४० हजार र ‘सी’ मा पर्ने खेलाडीले मासिक ३० हजार पाउने व्यवस्था छ।

सो वर्गीकरणमा क्यानले नेपालका फाष्ट बलर सोमपाल कामीलाई ‘बी’ श्रेणीमा राखेको सहित अन्य केही विषयमा असन्तुष्टि जनाउँदै ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले एक मिडियामा बोलेका थिए।

यो विषयमा आधिकारिक रूपमा संघमा नआइकन मिडियामा गएको भन्दै चारै जना खेलाडीसँग क्यानले स्पष्टीकरण मागेको थियो। जुन औपचारिकताका लागि यो विषयमा खेलाडीहरूले स्पष्टीकरण बुझाए पनि आफ्नो ११ बुँदे ज्ञापनपत्रमा खेलाडीले फेरि धेरै विषयमा क्यानलाई नै प्रश्न तेर्स्‍याएका छन्। जसमध्ये मुल कुरा यो विवादको जड खेलाडी वर्गीकरणको असन्तुष्टि नै हो।

यो विषयमा बहिष्कार क्यानको केन्द्रीय कार्यालय मुलपानीमा खेलाडीहरू र क्यानका पदाधिकारीहरूबीच छलफल पनि भयो। सो छलफलमा ठोस निष्कर्ष के निस्कियो त भन्ने विषयमा भने दुवै पक्षले स्पष्ट रूपमा बताउन चाहेनन्।

आफूहरूले ज्ञापनपत्र बुझाएको विषयमा पनि खासै खुलेर बोल्न नचाहेका नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, “नेपाली क्रिकेटलाई के कसरी राम्रो गर्न सकिन्छ भनेर हामीले केही बुदाँ सम्धबोधनका लागि राखेका थियौं। जसमा खेलाडी वर्गीकरणका कुरा पनि समावेश छ। त्यही विषयमा क्यानसँग छलफल गरेका हौं। अब उहाँहरूले त्यसलाई मिलाउला भन्नु भएको छ। हेरौं त्यसपछि के हन्छ।”

उता छलफलमा समावेश भएका क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल भने खेलाडीहरूको सबै मागको जवाफ दिएको बताउँछन्। “खेलाडीहरूको आफ्नो केही माग राखेका थिए त्यसबारे हामीले सबै सम्बोधन गरेर स्पष्ट पारिदिएका छौं। त्यो विषयमा अब खेलाडीहरू सकारात्मक भए कि भएन हामीलाई थाहा छैन। क्यानले ११ ओटै बुँदाको दिनुपर्ने उत्तर दिएको छ, अब बाँकी कुरा खेलाडीहरूले बुझ्ने कुरा हो।”

उनले यो विवादको मूल जडको रूपमा रहेको खेलाडी वर्गीकरणको सूची भने कुनै ‍हालतमा परिवर्तन नहुने बताए। क्यानले बनाएको समितिले स्पष्ट मापदण्डअनुसार खेलाडीको वर्गीकरण गरेको र यसमा कुनै पनि गल्ती नभएको र त्यो पुनरवलोकन नहुने जानकारी गराएका छन्।

गत वर्ष पनि क्यानले गरेको वर्गीकरणमा खेलाडीहरूले असन्तुष्टि जनाएका थिए। पछि क्यानले आफ्नो गल्ती स्विकार्दै खेलाडीको वर्गीकरण पुनरवलोकन गर्दै श्रेणीमा हेरफेर गरेको थियो।

क्यानलाई दिएको उक्त ज्ञापनपत्रमा खेलाडीहलाई वार्षिक सम्झौताका लागि गरिएको वर्गीकरणका आधारहरू के-के हुन्? यो वर्गीकरणका मापदण्ड किन पहिले नै खेलाडीहरूलाई देखाइएन? गत वर्षभन्दा किन कम खेलाडीहरूलाई वार्षिक सम्झौतामा राखियोजस्ता प्रश्न क्यानलाई सोधिएको छ।

त्यसैगरी विदेश खेल्न जाँदाको भ्रमण भत्ता घटाइएको, सात महीनाअघिको ट्राई नेसन्स् सिरिज जित्दाको घोषणा गरेको नगद पुरस्कार नपाएको, राष्ट्रिय टिमको जर्सीको प्रायोजनबापतको रकमको हिस्सा खेलाडीले नपाएको र खेलाडीको बिमा, उपचारको उचित व्यवस्था नभएको विषयमा पनि क्यानलाई प्रश्न गरिएको थियो।

यता खेलाडी र क्यान यस्ता लफडामा अल्झिरहँदा नेपाली क्रिकेटका आउँदा वर्षका लक्ष्यहरू ओझेलमा परेका छन्।

सबैभन्दा नजिक रहेको आसन्न टी-ट्वान्टी विश्व कपको आठौं संस्करण अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुँदैछ। नेपालले उक्त विश्वकपका लागि छनोट प्रतियोगिता खेल्दैछ। १६ टिम सहभागी छनोट प्रतियोगितामा शीर्ष चारमा अटाउन सके मात्र नेपालले सन् २०२२ को टी-ट्वान्टी विश्व कप खेल्न पाउनेछ।

त्यसैगरी नेपाल हाल विश्व क्रिकेट लिग डिभिजन-२ का खेलहरू खेलिरहेको छ। सन् २०२२ लिग डिभिजन-२ का धेरै खेल हुँदैछन्। लिग डिभिजन-२, सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्व कपको छनोट प्रतियोगिता खेल्ने बाटोको रूपमा रहेको सिरिज हो। यो प्रतियोगिताको अन्त्यसम्म शीर्ष तीनमा पर्न सके नेपालले एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ।

त्यस्तै सन् २०१८ मा नेपाललाई आईसीसीले प्रदान गरेको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) को मान्यता सकिन अब लगभग दुई वर्ष मात्र बाँकी छ। उक्त ओडीआई मान्यता जोगाइराख्नु पनि नेपाली क्रिकेट टिमको अर्को लक्ष्य हो।

जसका लागि नेपालले सकेसम्म पहिले जारी लिग डिभिजन-२ को शीर्ष तीनमा पर्नु आवश्यक छ। त्यसपछि विश्वकप छनोटमा पनि राम्रो प्रदर्शन गर्न सके उक्त प्रदर्शनका आधारमा आईसीसीले नेपालको ओडीआई मान्यता यथावत् गरिदिन सक्छ।

तर यो यसतर्फ ध्यान कसले दिने? क्यान आफ्नै आन्तरिक र खेलाडीसँगको राजनीतिमै व्यस्त छ। अनावश्यक राजनीतिक कारणले नै सन् २०१६ मा आईसीसीले क्यानलाई निलम्बन गरेको थियो। यसपछि निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएपछि सन् २०१९ मा करिब तीन वर्षपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गरेको थियो।

तर नयाँ कार्यसमिति आएपछि पनि क्यानमा राजनीतिक प्रभावसँगै किचलो कायमै छ। क्यानका पदाधिकारी र खेलाडीबीच समझदारी हुन सकेकै छैन। नेपाली क्रिकेटको प्रमुख र एक मात्र निकाय तथा खेलाडीहरूको नै ‘ट्युनिङ’ नमिलेपछि नेपाली क्रिकेटको विकास कसरी हुन्छ? अनि समर्थकले के आशा गर्ने नेपाली टिमबाट?

पदाधिकारी र खेलाडीबीच यसरी नै आन्तिरिक खिचातानी भइरहने हो भने र नेपाली क्रिकेटलाई राजनीतिले थिचिरहने हो भने फेरि क्यान आईसीसीको निलम्बनमा नपर्ला भन्न सकिन्न।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved