एमाले महाधिवेशन

सबै पदमा मनोनयन गर्ने प्रस्ताव ओलीलाई

यो भनेको पञ्चायतकालमा गाउँ फर्क अभियानजस्तो भयो -भूसाल

प्रस्तावमा पार्टीको पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने उल्लेख छ।

नेपालभ्युज

सबै पदमा मनोनयन गर्ने प्रस्ताव ओलीलाई

चितवन। चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिने प्रस्ताव गरेका छन्। प्रस्तावमा पार्टीको पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने उल्लेख छ।

तर विष्णु पौडेलको उक्त प्रस्तावमाथि भीम रावल र घनश्याम भूसालले भने आपत्त जनाएका छन्।  पौडेलको उक्त प्रस्तावमाथि असहमति जनाएका भूसालले नेपालभ्यूजसँग भने, “यो भनेको त पञ्चायतकालमा गाउँ फर्क भनेको जस्तो भयो।”

‘प्रस्तावउपर छलफल चलिरहे पनि त्यही नै पारित हुन्छ हुँदैन भन्ने तय भइनसकेको’ बन्दसत्रमा सहभागी एक नेताले जानकारी दिए। यसअघि पार्टीका मुख्य सचेतक विशाल भट्टराईले ओलीले नाम पढ्ने र अरूले त्यसमा सहमति जनाउँदै ताली पिट्नुपर्ने अभिव्यक्ति दिएका थिए।

शनिबार बन्द सत्र शुरु हुनुअघि प्रतिनिधिहरूले भोटिङ मेशिनमा भोट हाल्ने अभ्यास गर्दा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले भोटिङ हुने सम्भावना नरहेको बताएका थिए।

शनिबारको बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले प्रतिस्पर्धा पार्टी बाहिर हुने बताउँदै पार्टीभित्र सहमति हुनुपर्नेमा जोड दिएका थिए। पार्टीभित्र सर्वसम्मतमा पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने प्रयास जारी छ।

१० औँ महाधिवेशनलाई सहमतिको महाधिवेशनका रूपमा पार्टीले प्रचार गर्दै आएको छ। सहमतिको महाधिवेशन भनिँदै गर्दा निर्वाचनको माहोल भन्दै गएको चर्चाबीच उपमहासचिव पौडेलले यस्तो सबै अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव राखेका हुन्।

शनिबार दिउँसो मात्र शुरु भएको बन्द सत्रमा विदेशी अतिथिको सम्बोधनसँगै विदेशी दलहरूबाट आएको शुभकामना सन्देश सुनाइएको थियो। महासचिव ईश्वर पोखरेलले स‌ञ्चालन गरेको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि सर्वसम्मत कार्यसमिति चयनमा जोड दिएका छन्।

यता उपाध्यक्ष भीम रावलले भने पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने निर्णय नमान्ने बताएका छन्। उनले आफूले अध्यक्षमा उम्मेदवारी दिने अडान कायमै रहेको बताउँदै आएका छन्।

यता एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्दै ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाउनेलगायत प्रस्ताव उपमहासचिव पौडेलले बन्दसत्रमा पेस गरेका छन्। नेता व्यवस्थापनमा सकस परेपछि विधान महाधिवेशनले पारित गरेको विधान संशोधन प्रस्ताव पनि पेस भएको छ। उद्घाटनका क्रममा देखिएको जनलहरका कारण विधान संशोधन गर्ने निर्णय गरेको नेताहरूले बताएका छन्।

विधानतः २ सय २५ सदस्य हुने केन्द्रीय कमिटीमा ७६ सदस्य थपिने प्रस्ताव पेस भएको छ। शुक्रबार महाधिवेशन उद्घाटन समारोहपछि चितवनको सौराहामा मध्यरातसम्म बसेको साबिक केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो। साथै पोलिटब्यूरो पनि ब्युँताउने प्रस्ताव गरिएको छ।

प्रथम विधान महाधिवेशनले पारित गरेको विधानमा केन्द्रीय सदस्यमा नै दुई पटकभन्दा बढी चयन हुन नपाउने व्यवस्था छ। सोही विधानलाई आधार मान्दा हाल पदाधिकारीमा रहेका करिब १४ सदस्य नै केन्द्रीय सदस्य बन्न नपाउने अवस्था आएपछि विधान संशोधन गर्न पार्टी बाध्य भएको नेताहरूले बताए।

शुक्रबार भएको महाधिवेशनको दोस्रो दिन शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको थियो। तर उम्मेदवारी दर्ता हुन सकेन। आइतबारका लागि कार्यतालिका सारिएको छ।

अध्यक्ष ओली सर्वसम्मत आफू दोहोरिएर पदाधिकारी चुन्ने पक्षमा छन्। उपाध्यक्ष भीम रावल भने सही व्यवस्थापन नभएसम्म चुनावमै गएर जित हार स्विकार्न तयार रहेको बत्ताउँछन्। रावलले अध्यक्ष र उपमहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। यता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved