बढ्दै कोरोना संक्रमण दर, तर कसैमा छैन डर !

यतिबेला नेकपा (एमाले) ले चितवनमा पार्टीको दशौं महाधिवेशन गरिरहेको छ। लाखौं संख्यामा त्यहाँ मानिसहरूको उपस्थिति छ। त्यहाँ कुनै पनि प्रकारको जनस्वास्थ्य मापदण्ड अपनाइएको देखिएको छैन।

बढ्दै कोरोना संक्रमण दर, तर कसैमा छैन डर !

काठमाडौं। नेपालमा दैनिक दुई सय जनाभन्दामा कोरोना भाइरस संक्रमण देखिइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले भीडभाड नगर्न तथा जनस्वास्थ्यका मापदण्ड पालन गर्न दैनिक सचेत गराइरहेको छ।

नेपालमा शुक्रबार १० हजार ४४६ जनको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा २७० जनामा संक्रमण देखिएको छ। अहिले नेपालमा सात हजार २८७ जना कोरोना भाइरसका संक्रिय संक्रमित छन्।

यतिबेला नेकपा (एमाले) ले चितवनमा पार्टीको दशौं महाधिवेशन गरिरहेको छ। लाखौं संख्यामा त्यहाँ मानिसहरूको उपस्थिति छ। त्यहाँ कुनै पनि प्रकारको जनस्वास्थ्य मापदण्ड अपनाइएको देखिएको छैन।

माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत प्रमुख दलका पार्टीको पनि यही महीना राष्ट्रिय सम्मेलनदेखि महाधिवेशन गर्ने तयारी गरिरहेका छन्। जसका कारण देशभर कार्यकर्ता तथा नेताहरू जुलुस बाँधेर कार्यक्रम गर्न व्यस्त छन्।

जिम्मेवार पक्षले नै बेवास्ता गरे

पछिल्लो समय देशभर कोरोना संक्रमणदर केही घटे पनि यसको जोखिम उस्तै रहेको स्वास्थ्यविद्हरूले चेतावनी दिइरहेका छन्। यसैबीच केही दिनयता दक्षिण अफ्रिकालगायत केही यूरोपेली राष्ट्रहरूमा कोरोनाको नयाँ भेरियन्ट देखिन थालेको छ। छिमेकी मुलुक हुँदै नेपालमा पनि यो नयाँ भेरियन्ट नआउला भन्न सकिँदैन।

यस्तो बेलामा सम्बन्धित निकाय तथा पक्ष जिम्मेवार बन्नुपर्ने हो। तर देशभर राजनीतिक दलहरूले गर्ने कार्यक्रम र तिनीहरूका गतिविधिले कोरोना संक्रमण भित्र्याउन प्रश्रय दिइरहेको छ। जहाँ भीडमा रहेका एक जनालाई संक्रमण भए देशभर फैलिने खतरा पनि उत्तिकै छ।

सरकारले देशैभर चरणबद्ध रूपमा कोभिडविरुद्ध खोप लगाइरहेको छ। तर खोप उपलब्धतमा केही ध्यान दिएको सरकारले अन्य जनस्वास्थ्य मापदण्ड पूरा गराउन सकेको छैन। यस्तोमा नागरिकसँगै सरकार अझ बढी जिम्मेवार हुनुपर्ने हो।

“मन्त्रालयले अझै पनि धेरै मानिस जम्मा भएर भीडभाड नगर्न, विवाह ब्रतबन्धलगायत सामाजिक काममा थोरै मानिस संलग्न हुन सचेत गराइरहेको छ”, स्वास्थ्य तथा जनसंख्या मन्त्रीका सल्लाकार डा. रमेश ढकाल भन्छन्, “कोरोना निर्मुल भएको छैन, भौतिक दूरी पालन नगरी भीडभाड गर्नु उपयुक्त होइन।”

स्वास्थ्य मन्त्रालयले दैनिक भौतिक दूरी पालना गर्न र जनस्वास्थ्य मापदण्ड पालन गर्न सुझाए पनि जिम्मेवार निकाय नै चुकेको उनको बुझाइ छ। भन्छन्, “काठमाडौंमा केही व्यक्तिले मास्क लगाए पनि काठमाडौंबाहिर धेरैले मास्क लगाउन छोडिसकेका छन्”, भन्छन्, “अहिलेको अवस्थामा राजनीतिक पार्टी जनताप्रति जिम्मेवार देखिएनन्।”

कोरोनालाई हेलचेक्राइँ गरे पुनः कोरोनाको विषम परिस्थिति सिर्जना हुन सक्ने उनले दाबी गरे।

तेस्रो लहर शुरु

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमाइक्रोन’ संक्रमण फैलिरहेको छ। नेपालमा पनि यसको संक्रमण रोकथामको पूर्वतयारी भइरहेको डा. ढकाल बताउँछन्।

यो भेरियन्ट अहिले दक्षिण अफ्रिकाका धेरैजसो राज्यमा तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा दुई हजार ४६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म २९ लाख ९२ हजार पाँच सय जना संक्रमित भएका छन्।

संक्रमण रोक्न सरकारको कस्तो छ तयारी ?

“नेपालमा ओमिक्रोन संक्रमण रोकथामका लागि देशभरका सरकारी अस्पताललाई तयारी अवस्थामा छन्”, ढकाल भन्छन्, “केन्द्र र संघीयस्तरका सरकारी अस्पतालमा सेवा सुविधासहित विस्तार गरेका छौं।” कोरोनाको पहिलो लहरमा खड्किएको समस्या अहिले नभएको उनको तर्क छ।

भन्छन्, “अक्सिजन प्लान्ट जडान, आईसीयूमा कक्ष विस्तार र जनशक्तिलाई तयारी अवस्थामा राखेका छौं। वीर अस्पतालमा ३०० आईसीयू कक्ष विस्तार गरेका छौं।” संघीय अस्पताल भरतपुर, भेरी, नारायणीमा पनि शय्या वृद्धि गरिएको उनले जानकारी दिए। यी अस्पतालमा भेन्टिलेटर संख्या पनि आवश्यक मात्रामा थप गरिएको उनले बताए।

मन्त्रालयले कोरोना संक्रमण जोखिम नियन्त्रण गर्न खोपमा नै जोड दिएको उनी बताउँछन्। अहिलेसम्म ४२ प्रतिशत जनसंख्यालाई खोप लगाएको उनले जानकारी दिए। “१८ वर्ष माथिका धेरैले खोप लगाइसकेका छन् बाँकीलाई लगाउन खोप उपलब्ध छ”, ढकाल भन्छन्, “१२ देखि १७ वर्ष समूहमा १० हजारलाई पहिलो चरणको खोपको मात्रा दिइसकेका छौं।”

यो उमेर समूहका ३४ लाख जनसंख्यालाई एक महीनाभित्र खोप लगाउने तयारी पनि भइरहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved