यो महाधिवेशनबाट मुख्य नेतृत्व बदल्नुपर्नेछ : थापा

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्नुपर्ने बताएका छन्। शनिबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समुहको उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफू महामन्त्री हुने कुरा गौण भएको र नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताए।

देश अब राम्रो हुन्छ, बदलिन्छ भनेर विश्वास र भरोसा दिनसक्ने नेतृत्व चाहिएको उनको भनाइ थियो। अबकाे मुख्य प्रश्न नै महाधिवेशनबाट कांग्रेसको मुल अनुहार र मुख्य नेतृत्व बदल्न सक्ने कि नसक्ने रहेको उनले बताए। अरु कोही केही नभए पनि फरक नपर्ने तर मुल नेतृत्व बदल्नैपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

‘‘हामी कोही केही नभएर केही हुँदैन तर कांग्रेसको मुख्य नेतृत्व बदल्नुपर्नेछ,” उनले भने, ‘‘अहिले आम नागरिकको बीचमा गयो भने ठूलो निराशा छ, चुनावदेखि चुनावको गोलचक्रमा देश घुमेर मात्र हुँदैन।”

अहिले कांग्रेस चुनाव जिते पनि यति लामो संक्रमणपछि एउटा भरोसा चाहिएको बताउँदै उनले त्यो विश्वास दिलाउन सक्ने नेतृत्व चाहिएको बताए। नेतृत्व बदल्नका लागि एकता र समझदारी आवश्यक रहेको बताउँदै उनले १४ औँ महाधिवेशनमा १२ औँ महाधिवेशनताका एक ठाउँमा उभिएका नेता पुन: एकै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।

यस्तै कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान पार्टी नेतृत्वले निर्वाचनबाट कांग्रेसलाई ३० सिटमा सीमित गराएको भन्दै यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताए। ‘‘केन्द्रको नेतृत्व हामीले परिवर्तन गर्न सकेनौं भने १३ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको नेतृत्वमा १६५ बाट ३० सिटमा झरेको कांग्रेसलाई आउँदो दिन गाह्रो हुन्छ।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved