एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजबाट

५ लाख नेता, कार्यकर्ता जम्मा हुने दाबी

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आज (शुक्रवार) शुरु हुँदै छ। चितवनको नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन हुनेछ।

नेपालभ्युज

एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजबाट

काठमाडौँ। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आज (शुक्रवार) शुरु हुँदै छ। चितवनको नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन हुनेछ। बन्दसत्र भने शनिबार पर्यटकीय नगर सौराहामा शूरु हुनेछ।
महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम तय गरिएको छ। ३ दिन चल्ने महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता जम्मा हुने क्रम जारी छ।

महाधिवेशनमा सहभागी हुन र अवलोकन गर्न देशभरबाट झन्डै ५ लाख नेता, कार्यकर्ता शुक्रवारसम्म चितवन आइपुग्ने एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश नेताहरू बिहीबार नै चितवन पुगिसकेकाछन्। अरू दलका नेताहरु तथा विदेशी पाहुनाहरू पनि पुगिसकेका छन्।

कार्यक्रमको उद्घाटन हुने नारायणी नदी किनारमा मञ्चसहितका सबै संरचना तयार भएका छन्। नारायणी नदीको नारायणगढ तर्फको किनारामा मात्रै सहभागी नअट्ने भएकाले नवलपरासीको गैँडाकोटतर्फको किनारामा पनि बस्ने व्यवस्था मिलाइएको छ।

नारायणगढ बजार क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिस्ट पार्टीको हँसियाहथौडा अंकित झन्डा र ब्यानर सजाएर बजारलाई झकिझकाउ र सुन्दर बनाइएको छ।

महाधिवेशनमा निर्वाचित र मनोनीत गरी २ हजार १७५ प्रतिनिधि सहभागी हुनेछन्। यसअघि २७ कात्तिक गते देशभरिबाट १ हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए। ७ मंसिरमा गते बसेको स्थायी कमिटी बैठकले कूल निर्वाचित प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो। महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved