कैलालीमा उत्पन्न तनावलाई नियन्त्रणमा लिन हवाई फायर

कैलालीमा उत्पन्न तनावलाई नियन्त्रणमा लिन हवाई फायर

कैलाली। पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्की सडकखण्डमा ट्रकको ठक्करबाट बिहीबार टीकापुर नगरपालिका–२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको छ। उक्त सडकखण्डको मिनी मार्केटमा बिहीबार मध्याह्न ना२ख ९३७० नं को ट्रक मोड्ने क्रममा दिएको ठक्करबाट पैदलयात्री थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि आक्रोशित स्थानीय बासिन्दाद्वारा मध्याह्नदेखि अवरुद्ध पारिएको सडक साँझ प्रहरीले बल प्रयोग गरेर खुलाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले घटनापछि उत्पन्न तनावको स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रयोग र हवाई फायरसमेत गर्नुपरेको बताए। आक्रोशित स्थानीय बासिन्दाले ठक्कर दिने ट्रकका चालकमाथि कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनसहित राजमार्ग अवरुद्ध पार्नुका साथै ट्रकमा समेत तोडफोड र आगजनी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।

घटनालगत्तैबाट उक्त सडकमा आवागमन बन्द हुँदा गन्तव्यतर्फ गइरहेका सयौँ सङ्ख्याका यातायातका साधन बिच बाटोमै रोकिएका थिए। साँझ शव उठाएर परीक्षणका लागि टीकापुर अस्पताल लगिएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved