बेइजिङ डायरी

नेपाली कम्युनिष्टले सी विचार अंगाल्न सक्छन्?

नेपालका कम्युनिष्टहरू कुनै बेला माओको रातो किताब साथमा बोकेर हिँड्थे। माओले प्रतिपादन गरेका अनुशासनका आठ नियम कण्ठस्थ पार्थे। यतिबेला नेपालका कम्युनिष्टहरू माओ विचारभन्दा सी चिनफिङ विचार सुन्न र अध्ययन गर्न लालायित छन्।

नेपाली कम्युनिष्टले सी विचार अंगाल्न सक्छन्?

नेपालका कम्युनिष्टहरू किसान र मजदुरको दुहाई दिँदै राजनीति गरिरहेका छन्। कम्युनिष्ट मात्र किन, नेपाली कांग्रेस पनि समाजवादी नारा दिएर किसान र मजदुरकै नाममा राजनीति गर्दैछ।

१५ वर्ष अघिसम्म नेपालमा विश्वकै सबैभन्दा धेरै माओवादी राजनीतिक दल सक्रिय थिए। नेपालका कम्युनिष्टहरू कुनै बेला माओको रातो किताब साथमा बोकेर हिँड्थे। माओले प्रतिपादन गरेका अनुशासनका आठ नियम कण्ठस्थ पार्थे।

यतिबेला नेपालका कम्युनिष्टहरू माओ विचारभन्दा सी चिनफिङ विचार सुन्न र अध्ययन गर्न लालायित छन्। ‘चिनफिङ चीनको शासन व्यवस्था’ किताबको पहिलो र दोस्रो भाग नेपाली भाषामा अनुवाद भइसकेको छ। चिनियाँ कम्युनिष्ट पार्टीसँग केही शृंखलामा नेपालका कम्युनिष्टहरूले तालिम पनि लिएका छन्।

नेपाली कम्युनिष्टको सिक्ने र जान्ने इच्छाअनुरूप चीनले तत्कालीन सत्तारुढ नेकपा (नेपाल कम्युनिष्ट पार्टी) सबै नेतालाई चीनमै बोलाएर ग्रामीण क्षेत्रको प्रत्यक्ष अवलोकन गराउँदै तालिम दिने कार्ययोजना बनाएको थियो। त्यस्तो योजना कोरोनाका कारण स्थगित भयो। नेकपा पनि विभाजित भएर पूर्ववत्ः अवस्थामा पुग्यो।

नेपालका कम्युनिष्ट नेताहरूको चीनबाट सिक्ने चाहना बोलीमा मात्र हो कि व्यवहारमा पनि हो भन्ने कुरा मुख्य प्रश्न हो। व्यवहारमा सिक्न चाहने हो भने व्यक्तिमा कम्युनिष्ट आचरण हुनुपर्छ। जीवनशैलीदेखि राजनीतिक लाभमा बस्दाका उसका क्रियाकलापलाई कम्युनिष्ट अनुशासनको मियोमा बाँध्न जरुरी छ।

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यले केकस्तो अनुशासन अपनाउनुपर्छ र अनुशासन उल्लंघन गरेमा केकस्तो कारबाही हुन्छ भन्ने कुरालाई अर्को लेखमा प्रस्तुत गर्नेछु। आजको लेखमा चाहिँ नेपाली कम्युनिष्टहरूले भन्ने गरेको सी चिनफिङ विचारको पृष्ठभूमिको चर्चा गर्दैछु।

यतिबेला सी चिनफिङको नाम विश्वमै चर्चित छ। विशाल जनसंख्या भएको विश्वकै सबैभन्दा ठूलो विकासोन्मुख मुलुक चीनलाई विश्वको पहिलो अर्थतन्त्र बनाउन सक्रिय रहेका चिनफिङको पृष्ठभूमि कस्तो थियो?धेरै नेपालीले चासो राखेको तर धेरै कुरा थाहा नभएको विषय हो यो।

सी विचारको सबैभन्दा सशक्त पक्ष भनेकै जनताको सेवा  गर्नु हो। यो कुरालाई सीपीसीको दस्तावेदमा पनि उल्लेख गरिएको छ। जनताको सेवा गर्न जनताबीचै पुग्नुपर्छ। पार्टीका हरेक सदस्यले जनताबीच गएर काम गर्नुपर्छ भन्ने कुरालाई सीसीपीले निकै कडाइका साथ लागू गर्दै आएको छ। यो कुरालाई सी चिनफिङले नेपाल भ्रमणका क्रममा आफ्नो मन्तव्यमा पनि उठाएका थिए।

सी चिनफिङको किशोर अवस्था र सीपीसीको पार्टी सदस्यता पाएको इतिहाससँगै जनताका बीचमा पुग्नुपर्ने उनको मूल मर्म कसरी शुरु भएको थियो भन्ने कुराको छोटकरी चर्चा गरौं।

चिनफिङको जन्म सन् १९५३ मा राजनीतिक परिवारमा भएको थियो। उनका पिता सी चोङसुन क्रान्तिकारी कम्युनिष्ट नेता थिए। उनी चीनका उपप्रधानमन्त्रीसम्म भएका थिए। सन् १९६२ मा चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको आन्तरिक कारबाहीमा परेपछि सी चोङसुन जेलमा परे। उनलाई सांस्कृतिक क्रान्तिको समय सन् १९६६ देखि सावर्जनिक रूपमै अपमान गर्दै बेइज्जत गरियो।

सांस्कृतिक क्रान्ति शुरु भएको दुई वर्षपछि सन् १९६८ डिसेम्बर २२ तारिख अध्यक्ष माओ चतोङले ‘ग्रामीण भेगका गरिब किसानबाट युवालाई पुन:शिक्षा आवश्यक’ भन्ने फर्मान जारी गरे। शहरी क्षेत्रको शिक्षा सैद्धान्तिक मात्र हुने र त्यस्तो शिक्षाले जनताको पीरमर्का बुझ्न नस्कने हुनाले विश्वविद्यालय प्रवेश गर्ने उमेरका किशोरहरूले ग्रामीण क्षेत्रमा पुगेर निश्चित समय जनतासँग घुलमिल हुँदै काम गर्नुपर्ने निर्देशन माओले जारी गरेका थिए।

माओको उद्घोष सीपीसीको आदेश हुन्थ्यो र सीपीसीका सदस्य मात्र नभई हरेक चिनियाँले त्यसलाई अनुशरण गर्नु अनिवार्य थियो। माओको आदेशअनुसार एक करोड ७० लाख किशोर विद्यार्थीहरू (त्यतिबेला शहरी जनसंख्याको दश प्रतिशत) लाई शहर छोडेर ग्रामीण क्षेत्रमा गएर जनतासँग काम गर्न खटाइयो।

१५ वर्षे चिनफिङलाई बेइजिङबाट दूरदराजमा रहेको ग्रामीण क्षेत्रमा पठाउनु अगाडि पिता सी चोङसुनको सबै सम्पति जफत गरिएको थियो। अपमानले भरिएको आफ्नो बाल्यकालमा भोग्नु परेको अपमान र  भेदभाव सम्झँदै चिनफिङले लेखेका छन् ‘मेरो पहिचान नै कथित प्रतिक्रियावादीको अनुशासनहीन छोराका रूपमा थियो। म मुस्किलले १५ वर्षको थिएँ तर उनीहरू मलाई एक सय मृत्युको लायक छस् भन्थे।’

त्यतिबेला गाउँमा जाने एक करोड ७० लाख किशोरमध्ये सी चिनफिङ एक जना थिए। सो समयमा सी १५ वर्ष पुगेर १६ मा लगेका थिए। बेइजिङदेखि पश्चिममा पर्ने पल्लो शान्षी प्रान्तको यानआन नजिकै लिआनच्याहमा चिनफिङलाई पुर्‍याइएको थियो।

यानआन त्यही क्षेत्र हो जहाँ चिनियाँ क्रान्तिको समयमा सबैभन्दा लामो समय सीपीसीको हेड क्वाटर रहेको थियो। माओको नेतृत्वमा लङमार्च यानआनमा पुगेर टुंगिएको थियो र सन् १९३४ देखि १९४९ सम्म सीसीपीको हेडक्वाटर रहेको थियो। अहिले यो क्षेत्र लालपर्यटनका रूपमा प्रख्यात छ। नेपालका वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलगायत अधिकांश नेपाली कम्युनिष्ट नेताहरूले यानआनको अवलोकन गरिसकेका छन्।

चिनफिङलाई यानआनमा पठाउनु एक हिसाबले निर्वासनमा पठाउनुजस्तै थियो। पहिले सीलाई जेलमा हाल्ने निर्णय भएको थियो तर जेल कोचाकोच भएकाले उनलाई श्रम शिविरमा पठाउने निर्णय गरियो। त्यसबारे स्मरण गर्दै सीले एक अन्तर्वार्तामा भनेका छन् ‘उनीहरूले म यानआनमा जाँदै गरेको देखे। त्यहाँ जानु भनेको लगभग निर्वासनमा जानु जस्तै थियो। त्यसकारण उनीहरूले जेलमा हाल्नुको साटो मलाई त्यहाँ जाने अनुमति दिए।’

सीले यानआन जाने इच्छा आफैं प्रकट गरेका थिए किनभने चिनियाँ क्रान्तिको समयमा उनका पिताले यानआनमै बसेर लामो समय पार्टीको काम गरेका थिए। उनले पिताबाट चिनियाँ क्रान्तिका थुप्रै साहसी घटनाहरू पनि सुनेका थिए।

सन् १९६९ जनवरी १३ मा बेइजिङ रेल्वे स्टेशन मानिसहरूको भीडले भरिएको थियो। १६ वर्षमा लाग्दै गर्दा चिनफिङ कथित यानआनका लागि ‘शिक्षित युवा एक्प्रेस’मा चढेका थिए। जब रेल गुड्न थाल्यो रेलभित्र र बाहिर रहेका सबै रुन थाले।

उक्त घटना स्मरण गर्दै सी चिनफिङले भनेका छन् ‘त्यहाँ म मात्र मुस्कुराइरहेको थिएँ। रेलबाहिर रहेका थुप्रै मेरा आफन्तहरू किन मुस्कुराएको भन्दै मलाई प्रश्न गरिरहेका थिए। मैले भनेँ यदि म यहीँ रहेको भए रुने थिएँ। मलाई थाहा छैन म बाँच्थें कि बाँच्दिनथेँ। त्यसकारण अहिले यहाँबाट छोड्नु राम्रो हैन त?’

सन् १९६९ देखि १९७६ सम्म चार समूहमा २ लाख ८० हजार युवाहरूलाई बेइजिङबाट यानआनमा लगिएको थियो। सीको परिवारलाई त्यतिबेला छिन्नभिन्न बनाइएको थियो। बुबालाई जेलमा राखिएको थियो भने आमालाई घटुवा गरिएको थियो। अनि बहिनीलाई भित्री मंगोलिया पठाइएको थियो। यानआन पुगेको केही महीनापछि सीले परिवारलाई भेट्नका लागि बेइजिङ जाने अनुमति मागेका थिए। त्यही निहुँमा उनलाई पक्राउ गरियो र शहर फर्कन खोजेको अभियोगमा थुनियो।

थुनामा राख्दा उनलाई भयंकर शारीरिक र मानसिक यातना दिइयो। थुनामुक्त भएपछि उनी नियमित रूपमा श्रममा लागे। राति टुकी बालेर पढ्ने बानी थियो। सँधैं पढिरहने चिनफिङका लागि कागजी किताब बाहेक सबैभन्दा ठूला किताब स्थानीय किसान थिए। किसानका हरेक गतिविधिले उनलाई गरिबी के हो र मानिसले केकस्ता समस्यासँग संघर्ष गर्नुपर्छ भन्नु कुराको गहिरो छाप परेको थियो। एउटा अन्तर्वार्ताका क्रममा चिनफिङले भनेका छन् ‘किसानहरूबाट मैले सिकेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको जमिनमा आफूलाई उभ्याउने कला र कठिनाइलाई सहन गर्ने क्षमता हो।’

अहिले पनि चिनफिङ किसानलाई उच्च प्राथमिकता दिन्छन्। किसानका घर दैलोमा पुग्छन्। कृषि क्षेत्रमै पुगेर प्रत्यक्ष अवलोकन गर्छन्। चिनियाँ कृषि प्रणाली र किसानका दुःखलाई किशोरावास्थामै बुझेकाले त्यसलाई सुधार गर्न चिनफिङले धेरै ठूलो प्रयत्न गरेका छन्। फलतः आज चीन अन्न उत्पादनमा आत्म निर्भर बनेको छ। एक अर्ब ४० करोड चिनियाँ जनता अब कहिल्यै भोकै पर्ने छैनन्। सी महासचिव भएपछि ८ करोडभन्दा बढी चिनियाँलाई गरिबीबाट मुक्त गराएका छन्। अब चीनमा कोही पनि गरिब छैनन्।

श्रम शिविरमा गएको पाँच वर्षपछि सन् १९७३ को वसन्तको प्रारम्भमा चिनफिङले ल्यानचाह नजिकैको चाओच्याह निर्माण बिग्रेडमा अस्थायी शिक्षकको रूपमा काम गर्ने मौका पाए। उनले त्यस अगाडि नै पार्टी सदस्यका लागि आवेदन दिएका थिए। जतिपटक आवेदन दिएपछि सँधैं अस्वीकृत भयो। नौ पटकसम्म आवेदन दिँदा पनि उनले चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्न पाएनन्।

सन् १९७४ मा दशौं पटकको आवेदनमा बल्ल चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे। पार्टी सदस्य प्राप्त गरेपछि उनले विश्व विद्यालयमा पढ्ने अनुमति मागे। उनको अनुमति स्वीकृत भएन। उनले किसानसँग पाँच वर्ष बिताइसकेका थिए। दोस्रोपटकको आवेदनमा उनले सन् १९७५ मा बेइजिङको छिङ्ह्वा विश्वविद्यालयमा पढ्ने अनुमति पाए र केमिकल इन्जिनियरिङमा भर्ना भए। सन् १९७९ मा केमिकल इन्जिनियरिङको अध्ययन पूरा गरे।

उनी इन्जिनियर भएर विश्वविद्यालयबाट निस्कँदा सांस्कृतिक क्रान्ति पतन भएको तीन वर्ष भएको थियो भने तङ स्याओफिङको नेतृत्वमा चीनले सुधार र खुलापन अँगालिसकेको थियो। उनका पिता पनि जेलमुक्त भइसकेका थिए।

इन्जिनियर भएपछि उनी पार्टीले खटाएका विभिन्न क्षेत्रमा काम गर्दै अगाडि बढे। उनी सीपीसीको महासचिव भएपछि स्वाभाविक रूपमा चीनको राष्ट्रपति भए। त्यसपछि उनी यानआन क्षेत्रका ती किसानहरूको घरमा पुगे जहाँ उनले पाँचवर्ष दुःख बाँढेका थिए। सन् २०१५ को फेब्रुअरी १३ मा उनी ल्याङच्याह पुगे। उनले ४० वर्षदेखि भेट नै नभएका मानिशहरूलाई तुरून्तै चिने। उनीहरूको नाम र बोलाउने नामबाटै सम्बोधन पनि गरेपछि स्थानीय किसानहरू छक्क परेका थिए।

नेपालका कम्युनिष्टहरू भोट माग्न मात्र जनताको घरदैलोमा पुग्छन्। जनताका दुःख अनुभूति गर्ने व्यक्ति मात्र नेता हुन्छ। यति कुरा थाहा पाएपछि नेपाली कम्युनिष्टहरूले चिनफिङ विचार अवलम्बन गर्न आँट गर्लान्?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved