मधुमेहले कसरी गर्छ आँखामा आक्रमण ?

मधुमेहले कसरी गर्छ आँखामा आक्रमण ?

काठमाडौं। पाल्पाका एक शिक्षक आँखा धमिलो भएपछि उपचारका लागि तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं आइपुगे। अस्पताल आउँदा उनको एउटा आँखामा जलबिन्दु भएर बत्ती समेत देख्न नसक्ने भइसकेको थियो।

अर्को आँखामा पनि समस्या थियो। चिकित्सकले शल्यक्रिया गरे। ढिलो भइसकेकाले आँखाको ज्योति गयो। ३५ वर्षकै उमेरमा ज्योति गुमाएका ती पुरुषको स्मरण गर्दै तिलगंगा आँखा प्रतिष्ठानकी रेटिना विशेषज्ञ डा. रबा थापाले भनिन्, “तीन वर्ष अघिमात्र उनलाई मधुमेह भएको पत्ता लागेको थियो, उनको समस्या नै ढिला पत्ता लागेको थियो।” मधुमेहका आधि बिरामीलाई लक्षण नदेखिने भन्दै उनले ती पुरुषमा मधुमेहको लक्षण नदेखिएका कारण पत्ता लगाउन ढिला भएको बताइन्।

कुनै व्यक्तिमा मधुमेह देखिएमा शुरुमा नै आँखा परीक्षण गराउनुपर्ने उनले सल्लाह दिइन्। “मधुमेह कहिलेबाट लागेको थाहा पाउन सकिँदैन”, भन्छिन्, “रोग पत्ता लागेपछि नै एकपटक रेटिना परीक्षण गराईहाल्नुपर्छ।”

आँखामा केही समस्या नभए वर्षमा एक पटक नियमित परीक्षण गराउन उनी सुझाउँछिन्। आँखामा समस्या भए गम्भीरताअनुसार चिकित्सकले बोलाउँदा नियमित फलोअपमा परीक्षण गरे अन्धोपना हुनबाट बचाउन सकिने उनको तर्क छ।

“अहिले आँखा भन्नेबित्तिकै दृष्टि हेर्ने र पावर परीक्षण मात्र गराउँछन्” भन्छिन्, “आँखाको पर्दामा असर गर्ने भएकाले रेटिना परीक्षण अनिवार्य गर्नुपर्छ।”

धेरैजसो व्यक्ति आँखा नदेख्ने अवस्थामा मात्र अस्पताल आइपुग्ने उनी बताउँछिन्। मधुमेह भएर आँखादेखि अन्य अंग खुट्टालगायत भागमा असर पुगिसकेको अवस्थामा समेत अस्पताल आइपुग्ने उनको तर्क छ। ३० वर्ष नाघेपछि मधुमेहको लक्षण नदेखिए पनि समय समयमा सुगर परीक्षण गर्न उनी सुझाउँछिन्।

बुधबार राजधानीको तिलगंगा आँखा अस्पतालमा मधुमेहले आँखामा पार्नसक्ने असरबारे सञ्चारकर्मीसँग बुधबार गरिएको अन्तर्क्रिया

युवामा नै डाइबेटिक रेटिनोप्याथि देखिन थालेको उनको भनाइ छ।

“विश्वमा कुल अन्धोपनामध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको छ”, उनी भन्छिन्, “आँखामा मधुमेहले पार्ने असरबारे जनचेतना अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आइपुग्छन्।”

“मधुमेह रोगको पहिचान हुनासाथ डाक्टरको सल्लाह अनुसर नियमित रुपमा आँखाको परिक्षण गराउनु नै अन्धोपना हुनबाट रोक्ने प्रमुख उपाय हो” उनी भन्छिन, “मधुमेहले हुनसक्ने असरका बारे सचेत हुनुपर्छ।”

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार विश्वभर ४६ करोड ३० लाख मानिस मधुमेह बाट ग्रसित छन्। अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको उनी बताउँछिन्।

“मधुमेहका तीन जना बिरामीमध्ये एकजनाको दृष्टीमा क्षति पुग्छ”, उनी भन्छिन्, “मधुमेह लागेका व्यक्तिमा ह्रदय रोगको जोखिम सामान्य मानिसमा भन्दा तीन गुणा बढी हुन्छ।” त्यस्तै, मिर्गौलाले काम नगर्ने जोखिम मधुमेहका बिरामीमा १० गुणा बढी हुने उनले जानकारी दिइन्। संसारभर प्रत्येक ३० सेकेन्डमा कुनै एक मधुमेहका बिरामीले खुट्टा गुमारहेका उनी बताउँछिन्। प्रत्येक दुईमध्ये एक वयस्कमा मधुमेह रोगको निदान नहुने उनको तर्क छ।

“मधुमेह रोग एक संवेदनशिल समस्या हो”, उनी भन्छिन्, “यसको दुरगामी असर न्यूनीकरणका गर्न टाइप-२ मधुमेह, सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापन र उपचारका माध्यमबाट सजिलै ५० प्रतिशतभन्दा बढीमा रोकथाम गर्न सकिन्छ।”

“डायबेटिक रेटिनेपेथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो”, डा थापा भन्छिन्, “मधुमेह भएको २० वर्षमा टाइप-१ मधुमेह का करिब सबै र टाइप-२ मधुमेहमा करिब २ तिहाइ बिरामीको आखाँको पर्दा अर्थात् रेटिनामा असर परिसकेको हुन्छ।”

मधुमेहका बिरामीमा आँखाको पर्दामा असर गरे पनि यसको लक्षण तत्कालै नदेखिन उनी बताउँछिन्। “आँखामा धेरै असर गरिसकेपछि मात्र रोगबारे थाहा हुन सक्छ जति बेला उपचारपश्चात् पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ।” उनले बतायन्।

“मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरूमा असर गरी पर्दाको रक्तसंचारमा प्रभाव पार्छ”, उनी भन्छिन्, “जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुन गई दृष्टि कमजोर हुन जान्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved