विश्वकप २०२२ छनोट

रोनाल्डोले पोर्चुगललाई विश्वकपमा छनोट गराउन सक्लान् ?

सर्बियासँगको हारमा रोनाल्डो किन यतिविघ्न दुखी भए ? किन उनले आफूले सबथोक गुमाएको भावभंगी देखाए ?

रोनाल्डोले पोर्चुगललाई विश्वकपमा छनोट गराउन सक्लान् ?

काठमाडौं। एकातर्फ मैदानमा पोर्चुगललाई स्तब्ध पार्दै सर्बियाका खेलाडीहरू खुशी मनाइरहेका थिए, अर्कातर्फ क्रिस्टियानो रोनाल्डो  मैदानमा निकै विक्षिप्त देखिन्थे।

सर्बियासँगको खेलको अन्तिम समयमा २-१ ले पराजित भएपछि मैदानमै बसिरहेका पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो रुन मात्र सकेनन्। यसपछि अर्का टिममेट आएर उनलाई सान्तवना दिँदै उठाए। एकछिनमै उनी फेरि मैदानमा थचक्क बसे र निकै मलिनो अनुहारमा घाँस गन्न थाले।

यो दृश्य १० दिन अघि विश्वकप छनोट खेलमा पोर्चुगल सर्बियासँग पराजित भएपछिको थियो। खेलमा हारजित सामान्य प्रक्रिया हो। जति नै महान् खेलाडीले पनि करियरमा हारको नमीठो स्वाद चाखेका हुन्छन् र त्यसलाई आत्मसात गर्दै अगाडि बढ्छन्। रोनाल्डोको पनि हालसम्मको फुटबल खेलमा जितको प्रतिशत करीब ७० छ, अर्थात हरेक १० म्याचमा उनले औसतमा तीन खेल हारेका छन्।

त्यसो भए सर्बियासँगको हारमा रोनाल्डो किन यतिविघ्न दुखी भए ? किन उनले आफूले सबथोक गुमाएको भावभंगी देखाए ? यसको कारण छ। सर्बियासँगको हारपछि अब अर्को वर्ष कतारमा हुने विश्वकप छनोटका लागि पोर्चुगललले कठिन बाटो हिँड्नुपर्ने भएको छ। सन् २०२२ को विश्वकप शुरु हुन अब ठीक एक वर्ष मात्र बाँकी छ। जसका लागि छनोट खेल धमाधम चलिरहेका छन्।

यूरोपियन छनोटको ग्रुप ‘ए’ को आफ्नो अन्तिम खेलमा सर्बियाविरुद्ध विश्वकपमा छनोट हुनका लागि पोर्चुगललाई बराबरी नै काफी थियो। फेरि उसको खेल पनि घरेलु मैदानमा नै थियो। सोचे अनुरूप शुरुआत गरेको पोर्चुगलका लागि खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्सेजले गोल गर्दै विश्वकप यात्राको टिकट लगभग पक्का पनि गरेका थिए।

यसपछि पहिलो हाफमा टाडिकले गरेको गोलले पोर्चुगललाई टक्कर दियो। यतिमै खेल रोक्न सकेको भए पनि पोर्चुगल सिधै विश्वकपमा पुग्थ्यो। तर खेलको निर्धारित समयको अन्तिम सेकेण्डमा हेडर गोल गर्दै सब्सिट्युट खेलाडी मित्रोभिकले पोर्चुगलको कतार यात्राको टिकट नै खोसे भने त्यही टिकटमा सर्बिया कतार पुग्ने पक्का भयो।

यो हारपछि घरेलु मैदानमा रोनाल्डोसँगै घरेलु समर्थक पनि निकै स्तब्ध बने। किनकी यूरोपियन छनोटको हरेक समुहबाट एक विजेता विश्वकपका लागि सिधै छनोट हुनेमा यो ग्रुपबाट पोर्चुगललाई प्रवल दावेदार मानिएको थियो।

तर यो खेलपछि समुह विजेता बन्दै २० अंकसहित पहिलो स्थानमा रहेर सर्बिया सिधै विश्वकपका लागि छनोट हुँदा तीन अंक कम रहेको पोर्चुगलले अब प्लेअफ खेल्नुपर्ने भएको छ। प्लेअफ खेल्न पनि मार्चसम्म कुर्नुपर्नेछ।

यो यूरोपियन प्लेअफको ड्र आउँदो शुक्रबार हुँदैछ। जसमा पोर्चुगलले अन्य ११ राष्ट्रसँग विश्वकपका बाँकी ३ स्पटका लागि भिडन्त गर्नेछ।
प्लेअफ खेल्नुपर्ने अवस्था पोर्चुगलको मात्र होइन। यूरोपियन च्याम्पियन इटलीले पनि कतार पुग्न यही बाटो अपनाउनु पर्ने भएको छ। गत वर्षको यूरो २०२० को फाइनलमा इंल्याण्डलाई हराएर उपाधि जितेको इटली पनि सिधै कतार विश्वकपका लागि छनोट हुन सकेन।

अब प्लेअफमा पोर्चुगल र इटली जस्तै यूरोपियन छनोटको १० समुहका रहेका १० उपविजेता टिम र यूफा नेसन्स लिगबाट आएका दुई टिमबीच प्रतिस्पर्धा हुनेछ।

जसमा रसिया, स्विडेन, वेल्स, पोल्याण्ड, यूक्रेन, चेक रिपब्लिक जस्ता अन्य फुटबलका बलिया राष्ट्रहरू पनि छन्। कुल १२ टिमको दुई राउन्डमा खेलाइने प्लेअफमा ४-४ टिमलाई तीन समुहमा बाँडिनेछ। जहाँ हरेक समुहमा १-१ सेमिफाइनल खेलसरह खेलेर विजेता दुई टिमले फाइनल खेल्नेछन्। हरेक समुहका फाइनल विजेता १-१ टिमले विश्वकपमा प्रवेश पाउनेछन्। नकआउटको शैलीमा खेलाइने यो प्लेअफमा हारको कुनै गुञ्जायस छैन। एक खेल हार्ने बित्तिक्कै खेल खत्तम। त्यसले प्लेअफ कुनै पनि टिमका लागि सजिलो छैन।

सर्बियासँगको हारको भोलिपल्टै रोनाल्डले दिएको प्रतिक्रिया यस्तो थियो, “समय-समयमा फुटबलले सिकाउँछ कि कहिलेकाहीं सबैभन्दा कठिन बाटोले नै हामीलाई सबैभन्दा चाहिएको लक्ष्यतिर डोहोराउँछ। सर्बियासँगको हार निकै कठोर थियो, तर त्यति कठोर पनि छैन कि हामीलाई झुकाउन सकोस्। २०२२ को विश्वकप खेल्ने लक्ष्य अझैं पनि जिवित छ र हामीलाई थाहा छ त्यहाँ पुग्न के गर्नुपर्छ भनेर।”

३६ वर्षीय रोनाल्डोको सम्भवत: यो अन्तिम विश्वकप हो। जुन खेलेर, सम्भव भएसम्म अझ उपाधि जितेर नै राष्ट्रिय टिमबाट सन्यास लिने धोको होला रोनाल्डोको।

सन् २००६ देखि लगातार चार विश्वकप खेलेका उनी पाँचौ पटक अन्तिम विश्वकप खेल्न चाहन्छन्। यो पुस्ता र फुटबल इतिहासकै एक सर्वकालीन खेलाडी रोनाल्डो जस्तै अर्का महान् खेलाडी हुन् लियोनल मेस्सी। अर्जेन्टाइन स्टार मेस्सीलाई करियरमा जसरी विश्वकपको एक उपाधि खड्किरहेको छ ठीक उस्तै हालत रोनाल्डोको पनि छ। सम्भवत: दुवैका लागि यो विश्वकप अन्तिम हो र आफूलाई प्रमाणित गर्ने अन्तिम मौका पनि।

रोनाल्डोको युग शुरु हुनुअघि पोर्चुगल ७६ वर्षमा तीनपटक मात्र विश्वकपका लागि छनोट भएको रेकर्ड छ। सन् २००३ मा रोनाल्डोले पोर्चुगलबाट डेब्यू गरेयता हालसम्मको सबै विश्वकप पोर्चुगलले खेलेको छ।

यो बीचमा यूरोपियन च्याम्पियन्स लिग र यूफा नेसन्स लिगको उपाधि दिलाएर उनले पोर्चुगललाई पनि ब्राजिल, अर्जेन्टिना, फ्रान्स, जर्मनी आदि जस्ता फुटबलको पावर हाउस रहेको प्रमाणित गरिसकेका छन्। त्यसैले कठिन बाटोबाट विश्वकपमा पुग्न पोर्चुगलले निकै संघर्ष गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved