‘नेपालमा मुटुरोग र हृदयघातको प्रमुख कारक तत्व धुम्रपान’

नेपालभ्युज

‘नेपालमा मुटुरोग र हृदयघातको प्रमुख कारक तत्व धुम्रपान’

काठमाडौं। शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा हप्तामा तीन जना युवावस्थाका हृदयघातका बिरामी आउने गरेका छन्।

बुधबार स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, एक्सन नेपाल, एपिक्याट र द युनियनको संयुक्त आयोजनामा भएको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धीबहुपक्षित पैरवी बैठकमा यस्तो जानकारी गराइएको हो।

“नेपालमा नसर्ने रोगका बिरामी संख्या बढ्दो छ”, केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी भन्छन्, “नेपालमा मुटुरोग र हृदयघातको प्रमुख कारक तत्व धुम्रपान हो।”

सन् २००७ मा मुटुरोगका कारणले मृत्यु हुनेको संख्या ०१७ मा आइपुग्दा ४६ प्रतिशतले बढेको पाइएको उनले बताए। सन् २०११ भन्दा २०१५ मा मुटुरोग र हृदयघातको समस्या लिएर आउने बिरामीको संख्या ४० प्रतिशतले बढेको उनले बताए।

“२०१२ मा हृदयघात भएर केन्द्रमा ४९५ जना बिरामी आएका थिए भने ०१८ मा एक हजार ४६० पुगेको थियो”, अधिकारी भन्छन, “यो तथ्यांक अनुसार ६ वर्षमा तीन गुणाले हृदयघातको बिरामी बढेका छन्।”

नेपालमा प्रत्येक वर्ष १५ हजार हृदयघातका बिरामी थपिएका उनले बताए।

अन्तराष्ट्रिय रुपमा हेर्ने हो भने एक सय जनालाई हृदयघात भए २३ जनाको मृत्यु घर र अस्पतालको बीचमा हुने तथ्यांक डा अधिकारीले प्रस्तुत गरे। भने, “त्यसबाहेक अन्य बिरामी उपचार गर्न अस्पताल पुगे १३ प्रतिशतको मृत्यु अस्पतालमा भएको पइन्छ।”

नेपालको सन्दर्भमा अस्पताल भर्ना भएका हृदयघातका बिरामीमध्ये सात प्रतिशतको मृत्यु हुने उनले बताए। नसर्ने रोग रोकथाम गर्न सूर्तीजन्य पदार्थ नियन्त्रण गर्नुपर्ने उनको तर्क छ।

सूर्तीजन्य पदार्थ सेवन गर्ने शिक्षित व्यक्तिको संख्या धेरै हुने भएकाले यसलाई नियन्त्रण गर्न आतंकित शैली अपनाउनुपर्ने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताए।

“सूर्तीजन्य पदार्थको बट्टामा खराब फोक्सोको चित्र राखेर पनि सचेत भएनन्”, उनी भन्छन, “अस्पताल आउँदा बिरामीलाई सूर्तीजन्य वस्तुले थोरै असर गरेको भए पनि धेरै असर गरेको डर देखाइदिनुको विकल्प रहेन।”

नेपालमा नसर्ने रोग नियन्त्रण गर्न सूर्तीजन्य पदार्थमा नै नियन्त्रण गर्नुपर्ने विश्व स्वास्थ्य संगठनकी नसर्ने रोग विभागकी डा लोनिम दीक्षित बताउँछिन। भन्छिन्, “नेपालमा विपन्न परिवारका व्यक्तिले धुम्रपान गरिरहेको सूर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने र अर्को कुरा मल्टी सेक्टोरल अप्रोचबाट सबैले प्लेन प्याकिजङतर्फ जान सहयोग गर्नुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved