‘महाधिवेशनबारे कुनै विवाद छैन, भाँडभैलो हुन दिँदैनौं’

नेपालभ्युज

‘महाधिवेशनबारे कुनै विवाद छैन, भाँडभैलो हुन दिँदैनौं’

काठमाडौं।  नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तरविरोध नरहेको बताएका छन्।

मंगलबार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सचिव विष्टले एमालेको महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए।

महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उनले उल्लेख गरे। “आजको सन्दर्भमा नेकपा (एमाले)लाई चारै तर्फबाट जुन ढंगले घेराबन्दी गर्ने प्रयत्न गरिँदैछ, नेकपा(एमाले)माथि षड्यन्त्र गरिँदैछ। जुन प्रकारले प्रहारको निशाना बनाइँदै छ, यो कुरालाई हामीले गम्भीरतासाथ मनन गर्दै सहमति, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सीमाभित्र रहेर नै हामीले महाधिवेशन सम्पन्न गर्छौ। यसतर्फ हामी अत्यन्त गम्भीर हुन्छौँ। एमालेभित्र विवाद, अन्तरविरोध छैन,” विष्टले भने।

साथै विष्टले एमालेलाई गुटरहित र प्यानलरहित बनाउनेगरी अघि बढ्ने बताए। महाधिवेशनमा भाँडभैलो होला कि भनेर मान्छेले अनुमान, कल्पना गरे पनि त्यस्तो अवस्था आउन नदिने उनले दाबी गरे।

त्यसैगरी नेकपा(एमाले)का नेता रघुविर महासेठले उम्मेदवारी घोषणा गर्नेहरूले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गरे। जुन प्रतिनिधिको बलमा उम्मेदवारी घोषणा गरिएको छ सोही प्रतिनिधिको प्रस्तावमा उम्मेदवारी फिर्ता हुने उनले बताए। “प्रजातान्त्रिक विधिमा पनि, प्रक्रियामा पनि, सहमति भनेको पनि ठूलो प्रक्रिया हो। हामी सहमतिकै आधारमा आउने महाधिवेशनमा नेतृत्वको चयन होस् भनेर बहुसंख्यक ८० प्रतिशतभन्दा बढी प्रतिनिधिहरू सहमतिको पक्षमा हुनुहुन्छ। जुन साथीहरूले अहिले उम्मेदवारी घोषणा गर्नुभएको छ, मलाई विश्वास छ, निर्वाचनको समयसम्म उहाँहरू आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ किनकि जुन प्रतिनिधिको भरमा उहाँहरूले उम्मेदवारी घोषणा गर्नुभएको छ,” उनले भने।

उनले एमालेको नेतृत्व चयन सहमतिमा हुँदैन कि भनेर शंका गर्ने ठाउँ नरहेको बताए। केही नेताहरूले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको नेता महासेठको टिप्पणी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved