यी हुन् नेपाली क्रिकेट टिमका सम्भावित मुख्य प्रशिक्षक

छनोट समितिले क्यानको बोर्डलाई छनोटमा परेकाको नामावली बुझाएपछि क्यानको टेक्निकल कमिटीले सर्टलिष्टको काम गर्नेछ। क्यानले सर्टलिष्ट गरिएका सम्भावित प्रशिक्षक मध्येबाट अन्तर्वार्तापश्चात प्रशिक्षकको छनोट र नियुक्त गर्नेछ।

यी हुन् नेपाली क्रिकेट टिमका सम्भावित मुख्य प्रशिक्षक

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिम प्रशिक्षकविहीन बनेको करीब तीन महीना भयो। गत भदौमा लिग डिभिजन-२ अन्तर्गतको ओमान टुरका दौरान नेपालका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका थिए। टिम सम्हालेपछिको करीब आठ महिना पनि नेपाल नबसी वाटमोर भारतको बरोडा क्रिकेट टिमको प्रशिक्षक बन्न पुगेपछि नेपाली टिम प्रशिक्षकविहीन बनेको थियो।

त्यसपछि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो। नयाँ प्रशिक्षकको छनोट र नियुक्ति प्रक्रिया हाल अन्तिम चरणमा पुगेको क्यानले जनाएको छ।

नयाँ प्रशिक्षकका लागि कुल ६० जनाको आवेदन परेकोमा क्यानले प्रशिक्षक छनोटको लागि तीन चरणमा काम गरेको थियो। जसअनुसार पहिलो चरणमा प्रशिक्षक पदको लागि परेको आवेदनबाट मापदण्ड पूरा गरेकालाई मात्र ‘सर्टलिष्ट’ गरिएको थियो। दोस्रो चरणमा भने मापदण्ड पूरा गरेका मध्येबाट पनि क्यानको छनोट समितिले आफूले चाहेअनुसार र योग्य १५ जनालाई छानिसकेको छ।

अब प्रशिक्षक छनोटको तेस्रो चरणको काम बाँकी छ। छनोट समितिले क्यानको बोर्डलाई छनोटमा परेकाको नामावली बुझाएपछि फेरि सर्टलिष्टको काम क्यानको टेक्निकल कमिटीले गर्नेछ। क्यानले सर्टलिष्ट गरिएका सम्भावित प्रशिक्षक मध्येबाट अन्तर्वार्तापश्चात प्रशिक्षकको छनोट र नियुक्त गर्नेछ।

अब यो नोभेम्बरको अन्त्यसम्म नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया टुंगो लाग्ने क्यानले जनाएको छ।

नेपालको प्रशिक्षक बन्नको लागि इंग्ल्याण्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाको लेभल-३ वा सो सरहको प्रशिक्षक हुनुपर्ने योग्यता तोकिएको छ। कम्तीमा पाँच वर्ष प्रोफेसनल क्रिकेटमा प्रशिक्षणको अनुभव हुनुपर्ने, जसमा आईसीसीको पूर्ण सदस्य राष्ट्र, एसोसिएट राष्ट्र वा फस्ट क्लास क्रिकेट टिम सम्हालेको अनुभव हुनुपर्ने र नेपाली क्रिकेट जानकार तथा क्रिकेट कल्चर बुझेको हुनुपर्ने जस्ता प्रावधान क्यानले तोकेको थियो।

सोही प्रावधानमा रहेर आवेदन दिएकामध्येबाट नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको सम्भावित प्रमुख तीन नाम निम्न छन्।

मोन्टी देशाई

नेपाली टिमको नयाँ प्रमुख प्रशिक्षकको रूपमा हालको वेष्ट इण्डिज टिमका ब्याटिङ कोच मोन्टी देशाईको सभावना निकै बढी छ। उनीसँग करीब १६ वर्ष लामो प्रशिक्षणको अनुभव छ। उनले विशेषगरी ब्याटिङ प्रशिक्षकको भूमिका निभाएका छन्।

नेपाली क्रिकेटको प्रमुख समस्या भनेको ब्याटिङ नै हो। त्यसैले लामो समयदेखि ब्याटिङ प्रशिक्षणमा केन्द्रित भएका उनी नेपाली क्रिकेट टिमका लागि संकटमोचक बन्न सक्छन्। वेष्ट इण्डिजअघि उनले सन् २०१८ को विश्वकप छनोटका लागि अफगानिस्तानको ब्याटिङ प्रशिक्षकको रूपमा पनि काम गरेका थिए।

नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको कुरा मान्ने हो भने नेपालका लागि पहिलो कुरा त सबैभन्दा बढी मात्रामा एसोसिएट क्रिकेट बुझेको प्रशिक्षक आउनुपर्छ। मोन्टीसँग एसोसिएट राष्ट्रमा काम गरेको पनि राम्रै अनुभव छ। उनले क्यानडाको प्रमुख प्रशिक्षकको रूपमा र सन् २०१९ को विश्वकप छनोटमा यूएईको टिममा पनि ब्याटिङ प्रशिक्षकको भूमिका निभाएका थिए।

त्यसैगरी, मोन्टी नेपाली क्रिकेटका लागि नयाँ नाम पनि होइन। यसअघि उनले सन् २०१५ मा नेपाली राष्ट्रिय क्रिकेट टिमकै ब्याटिङ प्रशिक्षकको रूपमा काम गरेका थिए। मोन्टीसँग आईपीएलमा राजस्थान रोयल्स, गुजरात लायन्स, किंग्स ११ पन्जाब जस्ता टिममा सहायक प्रशिक्षकको रूपमा काम गरिसकेको अनुभव पनि छ।

वेष्ट इण्डिजसँगको उनको सम्झौता पनि सकिँदैछ भने उनी आफैं पनि नेपाली टिमसँग काम गर्न पहिलेदेखि नै इच्छुक छन्।

पुबुदु दासानायके

नेपाललाई सन् २०१४ मो टी-ट्वान्टी विश्वकपसम्म पुर्याउने पुबुदु नेपालको सफल पूर्वप्रमुख प्रशिक्षक हुन्। श्रीलंकन प्रशिक्षक पुबुदु सन् २०११ देखि सन् २०१५ सम्म चार वर्ष नेपाल बसेका थिए।

“नेपाली क्रिकेट टिमबाट राम्रो नतिजा निकाल्न लामो समयका लागि टिक्ने प्रशिक्षक आवश्यक छ। हामीले सर्ट टर्मका लागि दुई प्रशिक्षकसँग सहकार्य गरिसक्यौँ। तर छोटो समयमा नै प्रशिक्षक परिवर्तन हुनाले प्रशिक्षकको भिजन अनुसार काम गर्न पाइएन”, नेपाललाई अब कस्तो प्रशिक्षक चाहिन्छ भन्ने प्रश्नमा नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको जवाफ हो यो।

नेपालको आवश्यकताअनुसार लामो समय बस्ने खाले प्रशिक्षक हुन पुबुदु। यसअघि पनि उनी नेपाललाई विश्वकप खेलाउने मुख्य योजनासहित नै नेपाल आएका थिए। त्यही एउटै योजनामा फोकस भएर लामो समय काम गर्दा उनी सफल पनि भए। अबको नेपाली क्रिकेटको आवश्यकता पनि यस्तै प्रशिक्षकको हो।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका विनोद दास पनि नेपालले सकेसम्म लामो समय बस्ने प्रशिक्षक खोजेका बताउँछन्। अबको प्रशिक्षकलाई कम्तिमा दुई वर्षको लागि नेपालमा राख्ने क्यानको योजना छ।

नेपाली क्रिकेट, खेलाडी र क्यानलाई पनि राम्रोसँग बुझेका पुबुद पुन नेपालसँग सहकार्य गर्न इच्छुक र तयार रहेका छन्। यसै वर्ष भएको एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सको प्रशिक्षकको रूपमा उनी नेपाल आएका थिए। त्यसबेला नै उनले पुन राष्ट्रिय टिमको प्रशिक्षक बन्न सक्ने संकेत समेत दिएका थिए।

नेपाललाई मात्र होइन, उनले क्यानडालाई पनि सन् २०११ को विश्वकपमा छनोट गराएका थिए। उनी अमेरिकी क्रिकेट टिमको प्रशिक्षक पनि बनिसकेका छन्।

क्रिस ह्यारिस

न्यूजिल्याण्डका पूर्वस्टार क्रिकेटर क्रिस ह्यारिस पनि नेपाली टिमको प्रशिक्षकको रूपमा काम गर्न चाहना राखेका अर्का व्यक्ति हुन्। ह्यारिससँग प्रशिक्षकको रूपमा काम गरेको खासै अनुभव त छैन। तर खेलाडीको हिसाबले हेर्ने हो भने उनी प्रशिक्षक भएमा नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रोफाइलका प्रशिक्षक बन्नेछन्।

उनी सन् १९९० को न्यूजिल्याण्ड क्रिकेटका लोकनायक मानिन्छन्। उनी न्यूजिल्याण्डका लागि २५० एकदिवसीय खेल खेल्ने पहिलो खेलाडी हुन्। विशेषगरी ब्याटिङका लागि प्रख्यात उनी नेपालको प्रशिक्षक बनेमा नेपाली क्रिकेट टिमको ब्याटिङ सुध्रनेमा दुई मत छैन।

ह्यारिसले न्यूजिल्याण्डबाट २५० एकदिवसीय खेल खेलेका छन्, जसमा चार हजार ३७९ रन बनाएका थिए। त्यसैगरी देशका लागि खेलको २३ टेष्ट खेलमा उनले ७७७ रन जोडेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved