राष्ट्रपति भण्डारी महोत्तरी आउँदै, रंगशालाको उद्घाटन र जलेश्वरनाथ मन्दिरमा पूजा गर्ने

नेपालभ्युज

राष्ट्रपति भण्डारी महोत्तरी आउँदै, रंगशालाको उद्घाटन र जलेश्वरनाथ मन्दिरमा पूजा गर्ने

जनकपुरधाम। राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमवार) महोत्तरी आउँदैछिन्। महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित रङ्गशालाको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आउने कार्यक्रम छ।

नगरपालिकाद्वारा निर्माण गरिएको रङ्गशालाको उद्घाटन १० बजे पछि हुने मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। उनले कार्यक्रमको तयारी पूरा भइसकेको जनाए। जलेश्वरको परिकौलीमा रहेको नेपाली सेनाको रणभीम गणमा राष्ट्रपतिको हेलिकप्टर ल्यान्ड गरिने र सोही ठाउँमा राष्ट्रपतिको स्वागत गर्ने कार्यक्रम छ। त्यहाँबाट सवारी साधनमा सडक यात्रा करिब ७ किलोमिटर दूरीमा रहेको मटिहानी लगिने कार्यक्रम रहेको छ।

नगरप्रमुख मण्डलले भने, ‘‘मटिहानीमा सर्वप्रथम मटिहानी मठमा पूजाअर्चना गरी त्यहाँबाट नेपालकै सबैभन्दा पुरानो विद्यालय राजकीय संस्कृत माविको अवलोकन पश्चात् रङ्गशालाको उद्घाटन गरिनेछ।’’

नगरप्रमुख मण्डलले आर्थिक वर्ष २०७४–७५ मा शुरु गरिएको रङ्गशालाको निर्माणमा करिब एक करोड पाँच लाखको लागतमा निर्माण गरिएको जनाए। एक बिघा नौ कठ्ठा क्षेत्रफलमा फैलिएको यस रङ्गशालामा क्रिकेट, फुटबल, भलिबल, कबड्डी, जुडो कराँते लगायतका खेल खेल्न सकिने यसक्षेत्र कै ठूलो रङ्गशाला भएको प्रमुख मण्डलले जनाए। राष्ट्रपति भण्डारीको आगमनमा रणभीम गण परिकौलीबाट मटिहानीसम्म पुग्ने बाटोलाई सरसफाइ गरिएको छ भने खाल्डो रहेको ठाउँहरूमा बालुवा गिट्टीले मिलाइ पानी छर्किएको छ।

त्यसैगरी राष्ट्रपति भण्डारीको मटिहानीको कार्यक्रम पश्चात् बाह्रैमास २४ सैं घण्टा जल मुनि बस्ने महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना र दर्शन गर्ने कार्यक्रम समेत छ। स्वागतका लागि जलेश्वर नगरपालिकाले विभिन्न स्थानमा स्वागतद्वारा निर्माण, बाबा जलेश्वरनाथ महादेव मन्दिरलाई सजाउने र राष्ट्रपतिको सम्मान गर्ने कार्यको विशेष तयारी गरेको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले बताए।

राष्ट्रपति भण्डारीले जलेश्वरनाथ महादेव मन्दिरमा पूजा अर्चना तथा दर्शन गर्नेलगायतका कार्यक्रमको लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मेवारी विशेष कार्यदलको रहेको र सम्पूर्ण तयारी पूरा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए।।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved