जो आफू ऋणमा डुबेर रोजगारी दिइरहेका छन्

‘‘वर्षातले बोट सखाप बनाएर यो सिजनमा उत्पादन भएन त्यसैले सँधैं यस्तै हुने हो कि भन्ने डर लागिरहन्छ’’, उनले भने।

जो आफू ऋणमा डुबेर रोजगारी दिइरहेका छन्

गोरखा। कपाल सेतै फुलेर गालामा मुजा पर्न थालिसक्दा पनि गोरखा फुजेल गाउँका ५४ वर्षीय जितबहादुर भट्टको शरीरले आराम पाएको छैन। व्यवसायी खुसार्नी खेती गरेर सोचेअनुरुप आम्दानी गर्न नसकेपछि निराश भए पनि उनी बिहान उज्यालो भएदेखि साँझसम्मै खुर्सानी बारीमै हुन्छन्।

भट्ट पूर्व सैनिक हुन्। २०५६ सालमा नेपाली सेनाबाट निवृत्त भएपछि उनी गोरखा नगरपालिका-१३ देउरालीस्थित रामशाह टोलमा बस्न थाले। सेवा निवृत्त भएपछि खालि बस्नुभन्दा उनी सामाजिक कामम केन्द्रीत भए। रामशाह टोल सुधार समितिको दुई कार्यकाल अध्यक्ष पनि भए।

गोरखाकै मझुवामा रहेको ‘गोरखकाली रबर उद्योग बचाऊ समिति’मा ६ वर्षसम्म संयोजक भएर स्थानीयको प्रतिनिधित्व गरे। रिटार्ड जीवनपछि सामाजिक काममा सक्रिय भट्टले व्यापार पनि सँगसँगै गर्दै थिए। ‘‘डेरीको व्यवसाय थियो। २०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीले व्यापार खस्कियो। लगानी डुब्यो,” उनले भने।

भूकम्प र नाकाबन्दीका कारण व्यापारमा घाटा व्यहोरेका उनले त्यसपछि कृषक बन्ने सोच बनाए। अनि २०७४ सालमा पैत्रिक थलो फुजेल फर्किए। व्यापारमा असफललता भोगेका भट्टले शुरुमा बाख्रा पाले।

‘‘म गाउँ फर्किएपछि व्यवस्थित रुपमा चल्न नसकेको  कालिका कृषक समूहले संचालन गरेको बाख्रा फार्म किनें’’, उनले भने। २२ ओटा बाख्राबाट व्यवसाय शुरु गरेका उनले हालसम्म फार्ममा १४ लाख लगानी गरिसकेका छन्। व्यवसाय फस्टाउँदै थियो। फार्ममा एकैदिन ५३ ओ‌टा बाख्रा मरे। ‘‘बाख्रा पाल्न थालेको वर्षदिन नहुँदै एकैपटक ५३ ओटा बाख्रा मरेपछि ठूलो आर्थिक क्षति व्यहोर्नु पर्‍यो’’, उनले दु:ख पोखे।

बाख्रा पालन पनि सोचेजस्तो नभएपछि उनले फेरि सोच बदले। व्यवसायीक खुर्सानी खेती शुरु गरे। अहिले उनी एक सय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिरहेका छन्।  पैत्रिक १६ रोपनी र भाडामा लिएको एक सय एक रोपनी जग्गामा उनको अकबरे खुर्सानी खेती छ।

उनी भन्छन्, ‘‘अकबरे खुर्सानी खेतीको बारेमा धेरै अध्ययन गरेको छु। मेरो जानकारीमा भएसम्म नेपालकै सबैभन्दा ठूलो अकबरे खुर्सानी खेती यही हो।’’

व्यापार र बाख्रापालनबाट घाटा व्यहोरेका उनले खुर्सानी खेती शुरु गर्दा बजार राम्रो हुने र घाटाको ऋण तिर्ने सोचेका थिए। यही आशमा उनले एकैपटक एक सय १७ रोपनी जग्गामा ७५ हजार बिरुवा रोपे। २०७६ देखि खुर्सानी खेती गर्ने चाँजोपाँजो मिलाएका उनले गत भदौबाट मात्रै उत्पादन शुरु गरे।

तर, पिरो खुर्सानी बेचेर गुलियो आम्दानी लिने आश गरेका उनले टर्राे स्वाद पाए। अर्थात्, सोचे जति आम्दानी गर्न सकेनन्।

‘‘बेमौसमी वर्सातले धेरै ठूलो नोक्सानी भयो। ७५ हजार बिरुवा लगाउँदा २५ हजार भन्दा बढी पानीले खत्तम बनायो। यो बेलासम्म ३० लाख रुपैयाँको खुर्सानी बेच्ने लक्ष्य थियो तर जम्मा एक लाख ५० हजारको मात्रै बेचें’’, उनले मौसमका कारण घाटा व्यहोरेको भन्दै दुखेसो पोखे।

सोचेजस्तो उत्पादन लिन नसकेका भट्ट भने अहिले ५१ लाख रुपैँया ऋणमा छन्।

तर उननले आफू ऋणमा डुबे पनि गाउँमै १० जनालाई रोजगारी दिइरहेका छन्। उनकोमा काम गर्ने स्थानीय महिलाहरूले दैनिक ६ सय रुपैयाँसम्म कमाइरहेका छन्। गाउँमै काम गर्न पाउँदा उनीहरू दंग छन्।

सरकारको साथ पाए हरेस खान्नँ

एकपटक रोपेको खुुर्सानीको बोटले तीन वर्षसम्म उत्पादन दिने गर्छ। एक वर्षमा दुईदेखि चार पटकसम्म टिप्न मिल्छ। अहिलेसम्म भट्टले पाँच क्विन्टल मात्र खुर्सानी बिक्री गरेका छन्। बिक्री गर्न बजारको भने समस्या छैन।  खुर्सानी दुईसय २५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ।

‘‘वर्षातले बोट सखाप बनाएर यो सिजनमा उत्पादन भएन त्यसैले सँधैं यस्तै हुने हो कि भन्ने डर लागिरहन्छ’’, उनले भने।

अहिले उनको मनमा लगानी डुब्ने डर मात्रै हैन, डुबेको सबै लगानी उठाउने आश पनि छ। जसकारणले फुजेललाई उनले यहाँ खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना बनाइरहेका छन्। ‘‘अहिलेसम्म मैले कहीं कतैबाट अनुदान, सहयोग लिएको छैन। अब सरकारबाट केही सहयोग पाए यसलाई खुर्सानीको पकेट क्षेत्र बनाउँछु,’’ उनले भने।

अनुदानका लागि उनी वडा, पालिका, ज्ञान केन्द्र र प्रदेशदेखि केन्द्र सरकारमा पटकपटक नधाएका होइनन्। तर बाँझोबारी  जोत्न उनले दुई वर्षअघि ज्ञानकेन्द्रबाट ८५ हजार बाहेक केही पाएका छैनन्।

ऋण लिएर काम गरेकोमा सोचेजस्ते उत्पादन नहुँदा समस्या परेको उनी बताउँछन्। सरकारले व्यवसायीक कृषि गर्नेलाई अनुदान दिने, मोडल फार्म घोषणा गर्ने र पुरस्कार दिने गर्छ। तर, सरकारले दिने गरेको त्यस्तो सहुलियत भने सत्ता र शक्तिको आसेपासेले दुरुपयोग गर्दा वास्तविक किसानले नपाउने गुनाशो उनको छ।

‘‘व्यवसाय शुरु गर्दा लागेको ऋण तिर्ने अवस्था छैन। वडादेखि केन्द्र सरकारसम्म धाउँदाधाउँदा थाकिसकेँ। तर कतैबाट सहयोग पाइएन,’’ उनले भने।

अत्यधिक पिरो हुने हुँदा बजारमा अकबरे खुर्सानीको माग बढी छ। त्यसैले सरकारी निकायहरूबाट सहयोग पाएमा यस व्यवसायलाई पकेट क्षेत्रको रुपमा विकास गरेर अघि बढ्ने उनको लक्ष्य छ। भन्छन्, ‘‘सरकारी निकायबाट सहयोग मिले भने हरेस खान्नँ, खुर्सानीलाई यस क्षेत्रको पहिचान बनाउने गरी काम गर्छु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved