काठमाडौं। शैक्षिक मानसिक स्वास्थ्य सम्बन्धी नेपालमा पहिलो पटक विद्यालयका प्रधानाध्यापकको सेमिनार भएको छ। मानसिक स्वास्थ्य सम्बन्धी काम गर्दै आएको सम्भाव्य फाउन्डेसनले सेमिनार आयोजना गरेको हो।
कार्यक्रममा बोल्दै क्यारिबियन स्कुलका प्रधानाध्यापक सन्तोष दाहालले कोभिड १९ का कारण बालबालिकामा सामूहिक रुपमा घुलमिल हुन नसक्ने समस्या देखिएको बताए। कोरोनाकालमा मन्टेश्वरीमा पढ्ने बालबालिकाले युट्युबको अंग्रजी बुझ्ने र बोल्ने सक्षम भएका तर, सामूहिक घुलमिल हुन नसकेको उनको तर्क छ। त्यस्तै, बालबालिकामा सिक्ने क्षमतामा कमी देखिएको उनले बताए।
अभिभावकको व्यस्तताले बालबालिकाको सिकाइमा प्रभाव परेको ललितपुर प्याब्सन अध्यक्ष राधाकृष्ण महर्जनले बताए। उनी भन्छन्, “मानसिक समस्याका बारेमा बुझाई नै नकारात्मक छ। त्यसैले आफ्ना परिवारका कुनै सदस्यलाई मानसिक समस्या भएको स्वीकार गर्न नै सक्दैनन् ।” मानसिक समस्याका बारेमा जनचेतना फैलाउन जरुरी भएको उनले बताए।
प्यारेन्टिङ स्टाइल, पढाइमा अब्बल हुनुपर्ने दबाब र परिवारको वातावरणले पनि बालबालिकाको मानसिक स्वास्थ्यमा प्रभाव पार्ने प्रेरणा विद्या आश्रमका प्रधानाध्यापक हिरा महर्जनले बताए।
“बालबालिकामा अहिले डिजिटल माध्यममा केन्द्रित छन्” उनी भन्छन्, “बालबालिकालाई सामाजिकीकरण हुनमा निकै समस्या भइरहेको देखिन्छ ।” बालबालिका भावनात्मक रुपमा कठोर हुँदै गइरहेको उनको ठहर छ। उनी भन्छन्, “धेरैजसो बालबालिका बालबालिकाहरू एक्लै बस्न मन पराउने, कसैसँग पनि नडराउने, निराश हुने, टोलाएर बस्ने, धैर्यहीन भएका छन्।”
बालबालिकाको मानसिक स्वास्थ्य सुधार गर्न गुणस्तरीय अन्तरक्रिया गर्नुपर्ने उनको तर्क छ। बालबालिकालाई प्रविधिबाट लिन सकिने फाइदासँगै बेफाइदाबारे जानकारी दिनुपर्ने उनी बताउँछन्। उक्त सेमिनारमा काठमाडौंका ३० वटा विद्यालयका प्रधानाध्यापक सहभागी भएका थिए।
विद्यालय प्रशासनलाई मानसिक स्वास्थ्यको महत्त्व बारे जानकारी गराउन सेमिनारको आयोजना गरेको फाउन्डेसनका सहसंस्थावक अन्जु पुरीले बताइन्। “विभिन्न अध्ययनले धेरै जसो मानसिक समस्या भएका मानिसहरूमा किशोरावस्थाबाट शुरु हुने देखाएको छ ” उनी भन्छिन्, “नेपालमा कुल जनसङ्ख्याको ४० प्रतिशत १८ वर्षभन्दा कम उमेरको रहेका छन्” उनले थपिन्, “उक्त समूहको ठुलो हिस्साले आफ्नो अधिकांश समय विद्यालयमा बिताउने गरेका छन्।”
सानै उमेरबाट मानसिक समस्याहरू देखिने भएकोले यसबारे विद्यालय प्रशासनले बुझ्न जरुरी रहेको उनको तर्क छ।
हालैको अध्ययनले नेपालमा ५ दशमलव २ प्रतिशत किशोरकिशोरी विभिन्न प्रकारको मानसिक समस्याबाट पीडित हुन सक्ने देखाएको फाउन्डेसनको साइको सोसल काउन्सलर आदित्य ढंगोलले बताए । उनी भन्छन्, “३.९ प्रतिशत किशोर किशोरीमा आत्महत्या गर्ने सोच आएको अध्ययनले देखाएको छ ।”
बाल्यावस्थामा नै मनोपरामर्श पाए भविष्यमा हुन सक्ने मानसिक दुर्घटना रोक्न सकिने उनी बताउँछन् ।
फाउन्डेसनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरूमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको छ ।
यस अभियान अन्तर्गत सम्भाव्यले नेपालमै पहिलो पटक सिन्धुपाल्चोकको तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाहुनेपाटीस्थित जाल्पादेवी माध्यमिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरेको ढंगालेले बताए।
Facebook Comment
Comment