मोरङस्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टमा भीषण आगलागी

नेपालभ्युज

मोरङस्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टमा भीषण आगलागी
फाइल फोटो

मोरङ। पुरानो टायरहरू पगालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका-४ स्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ।

बुधबार (आज) बिहान पौने ६ बजे आगलागी हुँदा उक्त उद्योगमा कच्चा पदार्थको रूपमा प्रयोग हुने पुराना टायरहरू जलेर नष्ट भएको छ। यस्तै टायरबाट तार निकाल्ने मेसिन र टायर काट्ने मेशिनहरूमा क्षति पुगेको छ। दुई सिफ्टमा सञ्चालन हुने सो उद्योग गएराति बिहान २ बजे दोस्रो सिफ्टपछि बन्द अवस्थामा थियो। सोही समयमा आगलागी भएको हुनसक्ने उद्योग सञ्चालक विनित सिंघानियाले बताए। विद्युत शर्ट भएर आगलागी भएको हुन सक्ने उनको अनुमान छ।

उद्योगको स्क्राइप वार्डमा राखिएका पुराना टायरहरू जल्न थालेपछि आगलागीले भीषण रूप लिएको थियो। विराटनगर महानगरपालिका भित्रका दमकलले मात्र आगो नियन्त्रण हुन नसकेपछि रंगेली, बेलबारी, कानेपोखरीसहित सुनसरीको इनरुवा र दुहबीलगायत पालिकाबाट समेत दमकलहरू बोलाइएको उद्योग प्रशासनले जनाएको छ।

टायरहरूमा लागेको आगो पानीको फोर्सले मात्र निभाउन समस्या भएपछि स्काभेटर मगाएर टायरहरूको चाङलाई खोतलेर आगो नियन्त्रणमा लिइएको थियो। बिहान पौने ६ बजे लागेको आगो स्थानीयबासी, दमकल र प्रहरी प्रशासनको सहयोगबाट ८ बजेपछि मात्र नियन्त्रणमा आएको थियो।

सो उद्योगले पुराना टायरहरू संकलन गरी पघालेर फर्नेस आयलको उत्पादन गर्दै आएको छ। फर्नेस आयल उद्योगहरूमा इन्धनको रूपमा प्रयोग गरिन्छ।

विद्युत् शर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको भए पनि यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved