महाधिवेशन हुने जिल्लामै प्रतिनिधि छनोट गर्न एमालेलाई सकस

नेपालभ्युज

महाधिवेशन हुने जिल्लामै प्रतिनिधि छनोट गर्न एमालेलाई सकस

चितवन। चितवनमा आयोजना हुने नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई केन्द्रीय नेतृत्वले सहमतिको महाधिवेशन बताए पनि प्रतिनिधि छनोटमा त्यस्तो देखिएको छैन। महाधिवेशनका लागि शनिवार प्रतिनिधि छनोट हुँदै गर्दा केही स्थानमा सर्वसम्मत प्रतिनिधि छनोट भए। केही स्थानमा धेरै अकांक्षिका कारण प्रतिनिधि छनोट हुन सकेको छैन। एमाले महाधिवेशन हुने चितवनमा प्रतिनिधिको अकांक्षि बढी देखिएको हो।

चितवनबाट महाधिवेशनका लागि २८ प्रतिनिधि जानुपर्ने हो। तर, त्यसको सात गुणा बढी अर्थात् २०६ जानाले मनोनयन पत्र दर्ता गराएको एमाले चितवनले जनाएको छ। एमाले चितवनका अनुसार महाधिवेशन प्रतिनिधिका लागि चितवन निर्वाचन क्षेत्र नं १ बाट १० जना, क्षेत्र नं २ बाट ९ जना र क्षेत्र नं ३ बाट सात जना प्रतिनिधि छनोट गर्नुपर्ने हुन्छ। यस्तै समग्र दलित तथा उत्पीडित क्षेत्रबाट दुई जनाको कोटा चितवनले पाएको छ।

शनिवार भएको मनोनयन पत्र दर्ताका क्रममा भने क्षेत्र नं १ बाट ६५ जना आकाङ्क्षीले उम्मेदवारी पत्र दर्ता गराएका छन्। क्षेत्र नं २ बाट ७० जना र क्षेत्र नं ३ बाट ६० जनाको उम्मेदवारी पत्र दर्ता भएको छ। यस्तै, दलित तथा उत्पीडित क्षेत्रबाट ११ जानाको उम्मेदवारी दर्ता भएको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिएकी छन्।

महाधिवेशनमा प्रतिनिधि बन्न धेरैले आकाङ्क्षा देखाएको अध्यक्ष रावलले बताइन्। “धेरैको मनोनयन पत्र दर्ता भएको छ। समझदारी जुटाएर प्रतिनिधि छनोट गर्नका लागि छलफल हुँदै छ,” अध्यक्ष रावलले भनिन्।

आवश्यकभन्दा बढीको मनोनयन पत्र दर्ता भएपछि स्थानीय नेताहरू समझदारी जुटाएर प्रतिनिधि छनोट गर्ने कार्यमा लागेका छन्। दलित तथा उत्पीडित क्षेत्रबाट दुई जनाले प्रतिनिधित्व गर्न पाउनेछन्। समावेशीमा एक शिवकुमारी गोतामे छनोट भइसकेकी छन्। बाँकी एक जना छनोटका लागि छलफल भइरहेको अध्यक्ष रावलले भनिन्। निर्वाचन क्षेत्रमा पनि आइतबारसम्म प्रतिनिधि छनोट हुने नेताहरूको दाबी छ।

क्षेत्र नं ३ मा आइतबार बिहानसम्म प्रतिनिधि छनोट हुने नेता देवी ज्ञवालीले जानकारी दिए। यस्तै अन्य दुई निर्वाचन क्षेत्रमा पनि सहमतिमा महाधिवेशन प्रतिनिधि छनोट गर्नका लागि नेताहरू लागिपरे पनि सहमतिमै छनोट हुने सम्भावना भने न्यून रहेको बताइएको छ।

खास गरी माधव नेपाललाई छोडेर नेकपा एमालेमै रहेका व्यक्तिहरूलाई महाधिवेशन प्रतिनिधि बन्न नदिने रणनीति पार्टीले लिएका कारण समस्या देखिएको स्थानीय एक नेताले बताए। भन्छन्, “कार्यकताआफ्नो र अरू पक्षको भन्दै विभेद गर्ने स्तरमा नेताहरू उत्रिदा समस्या आएको हो।”

एमालेले ३० कात्तिकभित्र महाधिवेशनमा सहभागी हुने १९ सय ९९ प्रतिनिधिको नामावली सार्वजनिक गर्ने बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved