चिनियाँ कम्युनिस्ट पार्टीको छैटौँ पूर्ण बैठक

चर्कँदो अमेरिका सम्बन्ध र ताइवान रुचि मुख्य मुद्दा

एक सय वर्ष पुगेको सत्तारुढ दलका अगाडि एक्काइसौँ शताब्दीमा जन्मिएका युवाको आकांक्षा पूरा गर्नुपर्ने सिङ्गो अभिभारा छ।

चर्कँदो अमेरिका सम्बन्ध र ताइवान रुचि मुख्य मुद्दा

बेइजिङ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) १९ औँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक सोमबार नोभेम्बर ८ देखि ११ तारिख बिहीबारसम्म (कात्तिक २२ देखि २५ सम्म) बेइजिङमा हुँदै छ। सीपीसीको पूर्ण बैठकलाई प्लेनरी सेसन अथवा प्लेनम भन्ने चलन छ। यो बैठकले चीनको मात्र नभएर विश्वकै ध्यान आकर्षित गराएको छ।

सन् १९४९ अक्टोबर १ तारिखदेखि चीनको सत्ता सम्हालेको सीपीसी विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल हो। यसका ९ करोड २० लाख सदस्यहरू छन्। सीपीसीको पूर्ण बैठक महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय हो। पूर्ण बैठकले पारित गरेका एजेन्डालाई परिमार्जन अथवा खारेज गर्ने ल्याकत महाधिवेशनले मात्र राख्ने गर्छ।

सीपीसीको महाधिवेशन हरेक पाँच वर्षमा हुने गर्छ। सम्पूर्ण केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्य सहभागी हुने पूर्ण बैठक सामान्यतः वर्षको एकपटक आयोजना हुने गर्छ। महाधिवेशनको ठिक अगाडि र तुरुन्तै पछाडि चाहिँ एकै वर्षमा दुईपटकसम्म पूर्ण बैठक बस्न सक्छ। सीपीसीको १९ औँ केन्द्रीय समितिमा २०४ जना पूर्ण र १७२ जना वैकल्पिक सदस्य छन्।

पहिलो पूर्ण बैठक महाधिवेशन सम्पन्न हुनासाथ बस्ने गर्छ। अन्य पूर्ण बैठक तीनदेखि चार दिनसम्म चल्ने भए पनि पहिलो पूर्ण बैठक भने एक दिन मात्र बस्ने गर्छ। यस बैठकले सीपीसीको महासचिव, पोलिट्ब्युरो, स्थायी कमिटीको चयन गर्दछ।

सीपीसीको नेतृत्व पहिलो पूर्ण बैठकले गर्छ भने चीनको नेतृत्वको प्रस्ताव दोस्रो पूर्ण बैठकले गर्छ। सामान्यतः अक्टोबर अथवा नोभेम्बरमा सीपीसीको महाधिवेशनसँगै पहिलो पूर्ण बैठक सम्पन्न भएको हुन्छ। त्यसको तीन महिनापछि दोस्रो पूर्ण बैठकले चीनको राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय जनकंग्रेसको अध्यक्ष र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको अध्यक्ष कसलाई बनाउने भनेर प्रस्ताव गर्दछ। सीपीसीको दोस्रो पूर्ण बैठकले प्रस्ताव गरेका व्यक्तिहरूलाई मार्चको ५ तारिखबाट सुरु हुने राष्ट्रिय जनकंग्रेसको पहिलो अधिवेशनले औपचारिकता रुपमा चयन गर्छ।

चीनको राजनीतिक तथा आर्थिक कार्यक्रममा सीपीसीको तेस्रो पूर्ण बैठक सर्वाधिक महत्त्वको हुने गर्छ। सन् १९७८ मा ११ औँ सीपीसीको तेस्रो पूर्ण बैठकले सुधार र खुलापन अँगाल्ने निर्णय गरेको थियो। वर्तमान समृद्धशाली र शक्तिशाली चीनको यात्राको महत्त्वपूर्ण कोशेढुङ्गा यही बैठकलाई मानिन्छ।

सीपीसीको चौथो पूर्ण बैठकले चीनको शासन क्षमताका विषयमा केन्द्रित एजेन्डामा बहस गर्छ। पाँचौँ पूर्ण बैठकले आसन्न पञ्चवर्षीय योजना तर्जुमा गर्दछ। छैटौँ पूर्ण बैठकले समाजको नैतिक धरातल सुधारमा छलफल गर्दै सांस्कृतिक पुनर्संरचनाका कार्यक्रमहरू अगाडि सार्ने गर्छ।

सातौँ पूर्ण बैठक सीपीसीको अन्तिम पूर्ण बैठक हो। सातौँ पूर्ण बैठकले सीपीसीको आसन्न महाधिवेशनमा पेस हुने प्रतिवेदन तयार गर्दछ। सातौँ पूर्ण बैठक सीपीसीको महाधिवेशनको ठिक पूर्वसन्ध्यामा आयोजना हुने गर्छ।

सीपीसीका उल्लिखित सातवटा पूर्ण बैठकहरू पूर्वनिर्धारित कार्यतालिका अनुसार व्यवस्थित रुपमा सम्पन्न हुने गर्दछन्। राजनीतिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रमा नीति निर्माण गर्ने, सरकारलाई मार्गनिर्देशन गर्ने, विदेश नीति परिमार्जन गर्ने लगायत महत्त्वपूर्ण विषयमा छलफल गर्दै कार्ययोजना अगाडि सार्ने गर्छ।

चीनले ल्याउने नयाँ आर्थिक नीति, सुरक्षा व्यवस्था, वातावरण संरक्षण, राजनीतिक सुधार, सामाजिक पुनर्संरचना आदिले चीनभित्र मात्र होइन विश्वमा असर पार्दछ। चीनका नयाँ नीतिले छिमेकी मुलुकका साथै विश्वका प्रमुख आर्थिक तथा राजनीतिक शक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेकै हुन्छ।

सोमबार शुरु हुने १९औँ सीपीसीको छैटौँ पूर्ण बैठक सीपीसीले सय वर्षको यात्रा पूरा गरेपछि आयोजना हुँदै गरेकाले यसको महत्त्व बढेको हो। कोरोना महामारी नियन्त्रण गर्नका लागि चीनले चालेका कदम, चीनको खोप कूटनीति, चर्कँदै गएको चीन अमेरिका सम्बन्ध, ताइवानलाई शान्तिपूर्ण पुनः एकीकरण चीनको अभीष्ट, चीनका विरुद्धमा अमेरिकाले सुरु गरेको गठबन्धन आदि विषयमा चीनले के कस्तो नयाँ कदम चाल्छ भन्ने कुरामा विश्वको ध्यान केन्द्रित भएको छ। तसर्थ पनि बैठकमा पेस हुने एजेन्डा र बैठकले गर्ने निर्णयका बारेमा संसारका प्रमुख सञ्चार माध्यमले सतर्कतापूर्वक विश्लेषण गर्न तम्तयार भएर बसेका छन्।

यस बैठकले मुख्यतः बितेका १ सय वर्षयता सीपीसीको उल्लेखनीय उपलब्धिको निचोड निकाल्नुका साथै मौजुदा ऐतिहासिक चुनौती तथा समस्याको अनुसन्धान र व्याख्या गर्नेछ।

सीपीसी केन्द्रीय समिति स्कुल विभागका प्राध्यापक ताइ येन च्युनका अनुसार, यस पटकको पूर्ण बैठक चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी पछि आयोजना गरिने सम्पूर्ण र ऐतिहासिक अर्थ बोकेको एक महत्त्वपूर्ण बैठक हो। सीपीसीले एक सय वर्षको इतिहासबाट ज्ञान र शक्तिको सम्मिश्रण गरेर आफ्नो अठोटलाई सुदृढ पारी राम्रोसँग भविष्यको सिर्जना गर्दै जाने योजना अनुसार यस बैठकमा घनिभूत छलफल हुनेछ।

सामान्यतः छैटौँ पूर्ण बैठकले समाजको गर्ने नियमित एजेन्डामा चिनियाँ समाजको नैतिक धरातल सुधारमा छलफल गर्दै सांस्कृतिक पुनर्संरचनाका कार्यक्रमहरू अगाडि सार्ने हो। यस्तो एजेन्डा आफैँमा अत्यन्त गहन र वृहत् हुनु स्वाभाविक छ। एक सय वर्ष पुगेको सत्तारुढ दलका अगाडि एक्काइसौँ शताब्दीमा जन्मिएका युवाको आकांक्षा पूरा गर्नुपर्ने सिङ्गो अभिभारा छ।


Comment

One thought on “चर्कँदो अमेरिका सम्बन्ध र ताइवान रुचि मुख्य मुद्दा

  1. सटिक,सारगर्भित,सरल,सरस तथा सुरुचिपूर्ण लेखका लागि मित्र चेतनाथ आचार्यलाई धन्यवाद छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved