प्रचण्डले जीपलाइन खेलेपछि धुलिखेलको पर्यटनमा तरंग

प्रचण्डले जीपलाइन खेलेपछि धुलिखेलको पर्यटनमा तरंग

काठामाडौं। कात्तिक पहिलो साता नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काभ्रेको धुलिखेलमा रहेको ‘जीपलाइन’मा सवार भए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड जीपलाइनमा जति रमाए, त्यसको दोब्बर खुशी खेलका सञ्चालकमा देखियो। कारण थियो, कोरोना भाइरस संक्रमणण जोखिमका कारण संकटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरुङ्ग पैदा भइदिनु।

परिवारसहित सिन्धुपाल्चोकको सुकुटे गएर बसेका अध्यक्ष प्रचण्ड भोलिपल्ट फर्कँदा जीपलाइनमा पुगेका थिए। प्रचण्ड सवार भएपछि अहिले धुलिखेलको पर्यटन क्षेत्रमा तरङ्ग नै पैदा भएको छ।

त्यतिबेला अध्यक्ष प्रचण्डले जीपलाइन खेलपछि आफूलाई ‘निकै रमाइलो महसुस’ भएको प्रतिक्रियासमेत दिएका थिए। अहिले जीपलाइन खेल्न पर्यटकको घुइँचो नै लाग्ने गरेको छ। यसले धुलिखेलमा साहसिक खेल जीपलाइन छ भन्ने सन्देश पनि दिएको छ।

“पूर्वप्रधानमन्त्री प्रचण्डले जीपलाइन चढेपछि यहाँ आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ, धुलिखेलमा जीपलाइन खेल छ भन्ने सन्देश पनि गएको छ”, वर्ल्ड वाइल्ड एड्भेन्चर प्रालिका अध्यक्ष केदार थापाले भने।

उनका अनुसार त्यसदिन अध्यक्ष प्रचण्ड स्वतःस्फूर्त जीपलाइन खेल्न स्टेशन आएका थिए। जीपलाइनको ‘टेकअफ’ धुलिखेल नगरपालिका-८ थाक्लेडाँडादेखि ‘ल्यान्डिङ स्टेशन’ पाँचखाल नगरपालिका-५ स्थित खावासम्म एक हजार १०० मिटर लम्बाइको छ। २०७५ सालको अन्त्यबाट सञ्चालनमा आएको जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) तीन प्रकारको खेल्न पाइन्छ।

जीपलाइन खेलले मात्रै एक दिनको धुलिखेल घुमाई नसकिने भएकाले पर्यटकीय देवीस्थान र गोसाइँस्थान डाँडामा रमाउनु आन्तरिक पर्यटकको तालिका नै बन्ने गरेको पाइन्छ। “हालका बिदामा साथीहरू मिलेर जीपलाइन जाने र धुलिखेलका डाँडा घुम्ने गर्छौँ”, भक्तपुरका अनिष थापाले भने। धुलिखेलको पर्यटनमा चाडपर्वले पनि चहलपहल बढाएको पाइएको छ। विषेशगरी भक्तपुर, काठमाडौं, ललितपुर र नुवाकोटबाट धुलिखेलमा आन्तरिक पर्यटक आउने गरेका छन्।

त्यसो त गत भदौ दोस्रो सातादेखि कोरोना संक्रमणणदर ओरालो लाग्दै गर्दा धुलिखेलस्थित होटल सारथिका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रनेमा निकै खुशी लागेको छ। त्यसयता होटलमा शुक्रबार र शनिबार चहलपहल बढ्दै एक महीनामा दैनिक आन्तरिक पर्यटक आउजाउ पनि हुन थालेका उनले बताए। भने, “भदौयता कार्यक्रमका बुकिङसँगै दैकिजसो आन्तरिक पर्यटक आउन थालेका छन्।” चाडपर्वले पर्यटनमा थप चहलपहल बढेको हुन सक्ने उनको तर्क छ।

प्रक्षेपण गरिएअनुसार कोरोना तेस्रो लहर आउला–नआउला तर, कोरोना संक्रमणणदर संख्या निकै ओरालो लागेपछि हाल धुलिखेलमा होटल–पर्यटन तङ्ग्रने सुरसारमा देखिन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved