सर्वसाधारणको बन्दैछ कुनै बेला शासकका सन्तान पढ्ने ‘दरबार हाईस्कूल’

विद्यालयमा सर्वसाधारणका सन्तान थपिँदै गर्दा सरकारी उपेक्षा भने बढ्दै गएको छ। हुने खानेका सन्तानका लागि विद्यालय व्यवस्थापनमा केन्द्रित हुने राज्यले हुँदा खाँदाका सन्तान पढ्न थालेपछि आवश्यक शिक्षक नियुक्ति पनि गरिदिएको छैन।

सर्वसाधारणको बन्दैछ कुनै बेला शासकका सन्तान पढ्ने ‘दरबार हाईस्कूल’

काठमाडौं। कुनै समय थियो, दरबार स्कूल भन्नासाथ राणाका सन्तानहरू पढ्ने विद्यालय बुझिन्थ्यो। आम नागरिकका लागि शिक्षामा सहज पहुँच नदिएका राणा शासकहरूले आफ्ना सन्तानका लागि भने विद्यालय स्थापना गरेका थिए। समय फेरियो, इतिहास पनि बदलियो। अहिले दरबार स्कूल शासकको होइन भुइँमान्छेका छोराछोरी पढ्ने विद्यालय भएको छ।

इतिहासबाटै शुरू गरौं।

मध्यरातमा रक्तपात गरेर सत्ता हत्याएका जंगबहादुर राणाको मनमा विद्यालय खोल्ने सोच बेलायत नपुग्दासम्म पलाएको थिएन। ‘हिन्दूस्थान बेलायत ११ टापुका बादशाहहरूका बेहोरा कारखाना बुझेर दोस्ती गर्ने मनसुवाले’(जंगबहादुरको बेलाइत यात्रा, सं.- कमल दीक्षित, २०१४, पृ. १) बेलायत पुगेका राणाले केबल लण्डन शहर देखेनन्, त्यहाँको शिक्षादीक्षा दिने व्यवस्था पनि देखे। त्यसैबाट प्रभावित भएर १९०७ सालमा बेलायत भ्रमणबाट फर्किएपछि उनले विद्यालय खोल्ने मन गरे। तीन वर्षपछि केही भारतको बंगालबाट र केही बेलायती शिक्षक झिकाएर ‘दरबार हाईस्कूल’को स्थापना गरे। राणालाई अँग्रेजी र फारसी भाषा सिकाउन र साक्षर बनाउन दरबार हाईस्कूलको स्थापना गरिएको शिक्षा पत्रकार प्रकृति अधिकारीको मत छ (राणकालीन शिक्षा पुस्तक)।

नागरिकलाई पढ्नबाट वञ्चित गरिएको जहानियाँ राणा शासनमा सर्वसाधारणका सन्तानले पढ्न पाउने कुरै भएन। जंगबहादुर र उनका भाइ धीर शमशेरका छोराछोरीलाई उक्त विद्यालयमा गणित, अंग्रेजी र इतिहास पढाउन थालियो।

शुरुमा थापाथली दरबारको आँगनमा रहेको यो विद्यालय पछि कान्तिपथ हुँदै जमलमा सारियो। नितान्त आफ्ना सन्तानलाई पढाउन राणाहरूले खोलेको उक्त विद्यालयको ढोका सर्वसाधारणका लागि बन्द थियो। १९५७ सालमा देव शमशेर श्री ३ भएपछि सर्वसाधारणका छोराछोरीले पढ्न पाउने व्यवस्था ल्याए । तथापि दरबारनिकट बाहेकका लागि स्कूलको ढोका खुल्ने कुरा भएन।

राणा शासनको अन्त्यपछि राजाको सेवा गर्ने सम्भ्रान्त घराना, भारदार र पहुँच भएका कर्मचारीका सन्तान पढ्ने  ‘दरबार हाईस्कूल’ हाल भने गरीब, ज्यामी, मजदुरका छोराछोरीले शिक्षा लिने ठाउँ बन्दै गएको छ।

राणाका छोराछोरी पढाउन खोलिएको उक्त स्कूलमा श्रमिकका छोराछोरी र अभिभावकविहीन बाल मन्दिरको संरक्षणमा रहेका बालबालिका छन्। स्कूलकी प्रध्यानाध्यापक शारदा पौडेलले स्कूलमा संरक्षण गरिएका तथा बाल संगठनका बालबालिका र श्रमिकका छोराछोरीहरू अध्ययन गरिरहेको बताइन्।

०७२ को विनाशकारी भूकम्पले स्कूलको भौतिक संरचनामा क्षति भएपछि चीनले पुननिर्माण गरिदिएको थियो। ८५ करोड ५९ लाखमा एक वर्ष पहिले निर्माण भएको उक्त स्कूल मुलुक कोभिड १९ महामारीबाट गुज्रिएका कारण निर्माणलगत्तै सञ्चालनमा आउन सकेन। कोभिडको संक्रमण कम हुँदै गएपछि सञ्चालनमा आएको विद्यालयमा सर्वसाधारणका सन्तान पढिरहेका छन्।

‘‘कोभिडको असर होला सर्वसाधारणका छोराछोरीहरू अपेक्षा अनुसार विद्यालय आइसकेका छैनन्,” विद्यालयकी प्रधानाध्यापक पौडेलले भनिन्, ‘‘चालू आवमा ६ सय विद्यार्थी भर्ना भएकोमा सबै निम्न र मध्यमवर्गीय छन्।”

दैनिक चार पाँच जना विद्यार्थी भर्नाका लागि विद्यालयमा बुझ्न आइरहेको उनले बताइन्। “राणका छोरा पढ्ने स्कूलका रुपमा चर्चित भएकाले पनि होला कम खर्चमा सहज पढ्न पाइने भएपछि भर्ना गर्न खोज्ने बढेका छन्।” अघिल्लो आर्थिक वर्षमा डेढ सय जना मात्रै विद्यार्थी भर्ना भएको सम्झिँदै उनले यस वर्ष भर्ना ह्वात्तै बढेको बताइन्।

विद्यालयको भर्ना र मासिक शुल्क महँगो छैन। वार्षिक ६ हजार रुपैयाँमा विद्यार्थी पढ्न पाउने प्रधानाध्यापक पौडेल बताउँछिन्।

अहिले कक्षा १ देखि १० सम्म अनलाइनमार्फत शिक्षा दिइरहेको दरबार हाईस्कूलले तिहारपछि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ। अहिले अनलाइन कक्षा सञ्चालन भइरहेको छ। विद्यालयले अनलाइनको पहुँच नभएका ३० प्रतिशतलाई भौतिक उपस्थितिमा पठनपाठन गराइरहेको छ।

बढ्दो सरकारी उपेक्षा

विद्यालयमा सर्वसाधारणका सन्तान थपिँदै गर्दा सरकारी उपेक्षा भने बढ्दै गएको छ। हुने खानेका सन्तानका लागि विद्यालय व्यवस्थापनमा केन्द्रित हुने राज्यले हुँदा खाँदाका सन्तान पढ्न थालेपछि आवश्यक शिक्षक नियुक्ति पनि गरिदिएको छैन। स्कूलमा अहिले १९ जना शिक्षक छन्। उक्त संख्या अपुग भएको विद्यालयले बताएको छ। शिक्षक नियुक्ति गर्न सरकारले ढिलासुस्ती गरेका कारण विद्यालय आफैले शिक्षक व्यवस्थापन गर्नुपरेको छ।

‘‘मन्टेश्वरीसहित कक्षा १० सम्म प्रविधिमैत्री वातावरणमा अध्यापन गराउने तयारी छ,” विद्यालयकी प्रधानाध्यापक पौडेलले भनिन्, ‘‘४ देखि ७ कक्षामा अध्ययनरत विद्यार्थीलाई ‘रोबटिक शिक्षा’ दिने तयारी भइरहेकोमा रोबटिक शिक्षा र मन्टेश्वरीमा पढाउने शिक्षक अभाब छ।”

अभावका कारण विद्यालय आफैले शिक्षक व्यवस्थापन गर्नुपरेकाले शुल्क बढाउने तयारी गरिएको उनले बताइन्। सरकारले शिक्षक व्यवस्थापन नगरेसम्म अभिभावकबाटै शुल्क लिएर व्यवस्थापन गर्नुपर्ने बताउँदै उनले विद्यार्थीसँग कति शुल्क लिने भन्ने भने तय नभइसकेको जानकारी उनले दिइन्।

यस्तै विद्यालयले कक्षा १२ सम्म पठनपाठन गराउने तयारी गरेको छ। यसका लागि अनुमति लिइसकेपनि पहल गर्न नसक्दा कक्षा थप गर्न नसकिएको उनले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved