‘श्रीमतीले पकाएको खाएर बस्ने मलाई किन करोडौँको भाँडा चाहियो?’

नेपालभ्युज

‘श्रीमतीले पकाएको खाएर बस्ने मलाई किन करोडौँको भाँडा चाहियो?’
फाइल तस्वीर

काठमाडौं। नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपको खण्डन गरेका छन्। ओलीले थाइल्याण्ड, इटालीलगायतका सामान थुपारेको प्रचण्डको आरोप खण्डन गर्दै प्रधानमन्त्री हुँदा बालुवाटारको भान्छामा आफ्नै भाँडाकुँडा हुने गरेको बताएका हुन्।

एमाले सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले बालुवाटारमा बस्दा आफ्नै भाँडाकुँडा प्रयोग गरेको बताएका हुन्। ‘‘मेरो भान्छामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे, केको सरकारी पैसामा किन्नु ?,” उनले भने, ‘‘मेरी श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंको भाँडाकुँडँ चाहियो?” उनले प्रधानमन्त्री निवासमा सेना पनि हुने भएकाले सेनाले सामान प्रयोग गरेको हुनसक्ने बताए। उनले भने, ‘‘थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करोडौंको भाँडाकुँडा किन चाहियो ?’’ सुनका भाँडामा पकाउनु र अन्य भाँडामा पकाउनुमा आफ्ना लागि केही फरक नभएको बताउँदै उनले विरोधीहरूले किस्सा बनाएको बताए।

शुक्रबार चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीमा बालुवाटार छाड्नै नपर्ने मानसिकताले घर गरेको बताएका थिए। बालुवाटारमा ओलीले थुपारेका सामान हेर्दा ओलीमा त्यस ठाउँलाई छोड्नुपर्छ भन्ने भावना नै नरहेको देखिएको बताउँदै उनले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमा ओलीले जोडेका सामान देखेर छक्कै परेको बताएका थिए। उनले भनेका थिए, ‘‘ओलीमा त बालुवाटार छाड्नुपर्छ भन्ने नै रहेनछ नि, बालुवाटारमा ओलीले थुपारेको सामान हेर्दा देउवाजी र म त छक्कै पर्यौँ।’’

ओलीले आफू राजा भएँ भन्ठानेर बालुवाटारमा थाइल्याण्ड, इटालीलगायतका अर्बौँका सामान जोडेको आरोप प्रचण्डले लगाएका थिए।

यसैगरी कांग्रेस बूढो भएर महाधिवेशन समेत गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै एमाले अध्यक्ष ओलीले एमाले फुटेपनि शक्ति नघटेको बताए। एमाले एकतावद्ध भएको देखेर केही नेताहरू आत्तिएको टिप्पणी उनले गरेका थिए।

उनले आफूले चुच्चे नक्सा सार्वजनिक गरेपछि प्रचण्ड र माधव नेपालको छाती चिरिएर कम्फोटेबल सरकार बनाउँछौं भनी भारतसँग लम्पसार परेको आरोप लगाए। भारतीय सेनाले तुइन काटेर मृत्यु भएका जयसिँह धामीको घटनाबारे टिप्पणी गर्दै उनले गृह मन्त्रालयले टिप्पणी नगर्न भनी धम्की दिएको बताए। उनले प्रचण्ड-माधव नेपालमा लेण्डुप दोर्जे मानसिकता रहेको आक्षेप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved