आईपीएलमा बगिरहेछ पैसाको खोलो

क्रिकेट कमेन्टेटर आकाश चोपडा भन्छन्, “नयाँ टिम किन्न सबैभन्दा बढी ७ हजार ९० करोड तिरेको कम्पनीले पनि करीब ५ वर्षमा नै तिरेको पैसा फिर्ता पाउँछ। पाँच वर्षमा नै व्यापार ब्रेक इभन हुन्छ। त्यसपछि नाफैनाफा, यो धेरै लामो समय चल्ने व्यापार हो।”

आईपीएलमा बगिरहेछ पैसाको खोलो

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट हाल विश्वभरि सञ्चालित घरेलु फ्रेन्चाइज लिग क्रिकेटमध्ये सबैभन्दा पहिलो स्थानमा आउँछ।

ठूलो फ्यान फ्लोइिङ, मैदानमा सबैभन्दा बढी दर्शकको सहभागिता, विश्वभरिका स्टार खेलाडीहरूको जमघट र निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलका कारण आईपीएल आफैमा विश्व क्रिकेटको ठूलो ब्राण्ड भइसक्यो।

यी सबैका पछाडिको कारण हो, पैसा। आईपीएल क्रिकेटको खेलसँगै पैसाको पनि खेल हो। आईपीएल, भारतीय क्रिकेट ब्रोड (बीसीसीआई) ले आयोजना गर्ने भारतका ठूला शहर केन्द्रित फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेटको प्रतियोगिता हो। यो प्रतियोगितामा खेल्ने एक टिम रोयल च्यालेन्जर्स बेङ्लोरका खेलाडी तथा कप्तान विराट कोहलीको तलब हाल यूएईमा जारी टी-ट्वान्टी विश्वकपको उपाधि विजेता टिमले पाउने नगद पुरस्कार भन्दा निकै बढी छ।

यो एउटा उदाहरण काफी छ आईपीएल किन पैसाको पनि खेल हो भनेर बुझाउन।

टी-ट्वान्टी फर्म्याटको‍ राष्ट्रिय टिमले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता हो, टी-ट्वान्टी विश्वकप। विश्व क्रिकेटको सर्वोच्च संस्था, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगिता शुरु हुनुअघि घोषणा गरेअनुसार विश्वकप विजेता टिमले यो पटक करीब १९ करोड २० लाख नेपाली रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

जबकि यता कोहलीले बेङ्लोरबाट एक सिजन आईपीएल खेलेको २७ करोड २० लाखभन्दा बढी पैसा प्राप्त गर्छन्। कोहली मात्र होइन आईपीएल खेल्ने १० भन्दा बढी खेलाडीको एक सिजनको तलब यो विश्वकप विजेता टिमले पाउने नगदभन्दा बढी छ।

उता यो सिजनको आईपीएलको उपधि विजेता टिम चेन्नाई सुपर किङले भने करीब ३२ करोड नेपाली रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो। पैसाको हिसाबले एउटा देशको क्रिकेट बोर्डले सञ्चालन गरेको आईपीएल ,आईसीसीले आयोजना गरेको विश्वकपभन्दा माथि छ। यसैले थाहा हुन्छ आईपीएलको प्रभाव कत्तिको बढ्दो छ।

सोमबार भारतीय क्रिकेट ब्रोडले आउँदो २०२२ सिजनको आईपीएलका लागि निकै ठूलो पैसा लिएर दुई वटा नयाँ टिम थप्यो। यसअघिसम्म आठ फ्रेन्चाइज टिमले खेल्ने आईपीएलमा अब १० टिमले उपाधिका लागि भिडन्त गर्नेछन्। लोकप्रियता र प्रतिस्पर्धा बढाउन लिगमा दुई नयाँ टिम थपिएको बताइएको छ।

तर यस पछाडिको ठूलो व्यापार, सोझै भन्नु पर्दा पैसाको खेल,नयाँ टिम थप्नुका मुख्य कारण हो। यो पैसाको खेलले घाटा भने कसैलाई पनि छैन। सबैलाई फाइदा नै हुन्छ। यसले समग्रमा भारतिय क्रिकेटलाई नै विकास गर्न र अझ माथि उठाउन मद्दत गर्छ।

“यति ठूलो मूल्यमा नयाँ फ्रेन्चाइज टिम बिक्री हुनु धेरै राम्रो कुरा हो। यसले भारतीय क्रिकेट र क्रिकेट ब्रोडको आर्थिक पक्ष दुवैलाई बलियो बनाउँछ। यो कदमले भारतका घरेलु क्रिकेटरले विश्व क्रिकेटमा प्रभाव छाड्न थप मद्दत गर्नेछ”, भारतीय क्रिकेट बोर्डका अध्यक्ष तथा पूर्वक्रिकेटर शौरभ गांगुलीले बताए।

दुई वटा नयाँ टिम थप्नेबित्तिकै पहिलो फाइदा त भारतीय क्रिकेट बोर्डलाई नै भयो। सोमबार भएको करीब ६ घण्टा लामो बोलकबोल प्रक्रियाबाट दुई व्यापारिक समूहले नयाँ टिम खरिद गरे।

बोलकबोलमा सर्वाधिक ७ हजार ९० करोड भारतीय रुपैयाँ तिर्दै लखनउको फ्रेन्चाइज टिमलाई आरपी संजीव गोयन्का समूह (आरपीएसजी) ले किन्यो। त्यसैगरी अहमदाबादको फ्रेन्चाइज टिमलाई बोलकबोलमा ५ हजार ६२५ करोड भारतीय रुपैयाँ खर्च गर्दै सीभीसी क्यापिटल पार्टनर्सले आफ्नो बनायो।

यी दुवै टिमका लागि तिरेको पैसा भारतीय क्रिकेट बोर्डको खल्तीमा जान्छ। बोलकबोलका लागि क्रिकेट बोर्डले २ हजार करोडको न्यूनतम मूल्य तोकेको थियो। जसमा आरपीएसजी लखनउका लागि करीब २५० प्रतिशतभन्दा बढी पैसा तिर्न राजी भयो।

उता सीभीसीले पनि अहमदाबादको लागि तोकेभन्दा लगभग १ सय ५० प्रतिशतभन्दा बढी रकम तिर्नेछ। बोलकबोलमा ९ कम्पनीको उपस्थिति थियो। इङ्लिस प्रिमियर लिगको चर्चित क्लब म्यानचेष्टर युनाइटेडको स्वामित्व रहेको ल्यान्सर ग्रुपले पनि बोलकबोलमा सहभागिता जनाएको थियो तर यी दुईले भन्दा बढी तिर्न चाहेन।

एउटा टिमको लागि यति धेरै पैसा तिर्न यी व्यापारिक समूह किन राजी भए त?

किनकि आईपीएल खेल मात्र होइन, यो त ठूलो व्यापार हो। जसबाट उनीहरूलाई पनि भविष्यमा ठूलो फाइदा हुनेछ। ठूलो व्यापार देखेर नै अरू बोलकबोलवलालाई पछि पार्दै आईपीएल टिम खरिद गर्न यी समूहले यति धेरै पैसा खन्याएका हुन्। यो त हालको लगानी मात्र हो जसले भोलि मनग्य आम्दानी दिनेछ।

कसरी कमाउँछन् त आईपीएल टिमले पैसा?

आईपीएल प्रसारणको अधिकारको लागि हाल स्टार स्पोर्टसले भारतीय क्रिकेट बोर्डलाई वार्षिक करीब १६ हजार करोड भारतीय रुपैयाँ तिर्छ। जसमध्ये आदि पैसा बोर्डले लिन्छ भने बाँकी आदि ८ हजार करोड क्लबहरूले बराबर बाँड्छन्।

भारतीय पूर्वक्रिकेटर तथा क्रिकेट कमेन्टेटर आकाश चोपडा भन्छन्, “सन् २०२२ मा कुल ७४ म्याच खेलिने आईपीएलमा अर्को वर्ष ९० म्याच खेलिनेछन्। जसको लागि प्रसारणको अधिकारको पैसा बढेर करिब ३५ हजार करोडभन्दा माथि पुग्नेछ। त्यसमध्ये आदि पैसा बोर्डले लिन्छ भने आदि रकम १० टिमलाई बराबर भाग लगाउँदा एउटा टिमले एक वर्षमा कम्तीमा १ हजार ५ सय करोड भन्दा बढी रकम प्राप्त गर्छन्।”

चोपडा थप्छन्, “नयाँ टिम किन्न सबैभन्दा बढी ७ हजार ९० करोड तिरेको कम्पनीले पनि करीब ५ वर्षमा नै तिरेको पैसा फिर्ता पाउँछ। पाँच वर्षमा नै व्यापार ब्रेक इभन हुन्छ। त्यसपछि नाफैनाफा, यो धेरै लामो समय चल्ने व्यापार हो।”

फेरि टिम खरिद गरेबापत पैसा यी व्यापारिक समूहले क्रिकेट बोर्डलाई एकै पटक तिर्नुपर्दैन। १० वर्षको अवधि भित्रमा यो पैसा तिर्नुपर्ने प्रावधान छ। त्यसैले हरेक वर्ष व्यापारिक समूहले अधिकार बापतको पैसा लिँदै क्रिकेट बोर्डलाई तिर्दै गर्छन्।

नयाँ टिमले त पाँच वर्षमा नै व्यापार ब्रेक इभन् गर्छन भने पुराना टिमको व्यापार नाफा कति होला?

यसबाहेक पनि टिमलाई विभिन्न कम्पनीले गर्ने प्रायोजन, खेलको टिकट बिक्री र उपाधि जितेबापत प्राप्त हुने रकमजस्ता अन्य आय त छँदैछन्। अनि किन टिम खरीद गर्न पैसा खर्च नगरुन् व्यापारीले।

नयाँ टिम थपिएपछि खेलाडीलाई पनि फाइदा नै हुन्छ। दुई नयाँ टिम थपिने बितिक्कै ती टिमका लागि नयाँ खेलाडी चाहिन्छ। जसले गर्दा मौका नपाएका नयाँ तथा युवा खेलाडीले पनि मौका पाउँछन्।

त्यस्तै धेरै टिम हुने बित्तिकै टिमको प्रतिस्पर्धाका कारण खेलाडी किनबेचको अक्सनमा राम्रा खेलाडीले धेरै महँगो मूल्य प्राप्त गर्छन्। धेरै टिम भएपछि प्रतियोगितामा खेलको संख्यासँगै खेलाडीको प्रदर्शनमा स्वतः सुधार आउँछ। यी सबै कारणले गर्दा आईपीएलमा पैसाको खेल सबैका लागि ‘विन विन’को अवस्था हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved