आन्दोलन गर्ने सर्वोच्च अदालत ट्रेड युनियनको चेतावनी

नेपालभ्युज

आन्दोलन गर्ने सर्वोच्च अदालत ट्रेड युनियनको चेतावनी

काठमाडौँ। न्यायालयमा देखिएको अशोभनीय गतिविधिले न्यायालय थप सङ्कटतर्फ जाने भन्दै समाधान नभए आन्दोलन गर्ने सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनले चेतावनी दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको कारणले अदालतको गरिमा भत्किएको भन्दै राजीनामा माग गर्दै न्यायाधीशहरुले इजालस बहिस्कार गरिरहँदा ट्रेड युनियनले छिट्टै समाधान खोज्न आग्रह गरेको छ।

युनियनले विज्ञप्तिमा भनेको छ ‘अदालतभित्र देखिएका विकृति विसङ्गतिको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरू जिम्मेवार भई गम्भीरतापूर्वक अविलम्ब समुचित समाधान गर्न जोडदार माग गर्दछौँ।’

अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिर आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी छ।

यस्तो छ युनियनको विज्ञप्ति

नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको परिकल्पना गरेको छ। न्यायपालिकामाथि चौतर्फी आक्रमण भइरहेको वर्तमान अवस्थामा न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण राखी जनआस्था अभिवृद्धि गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्न सर्वोच्च अदालतमा कार्यरत हामी ट्रेड युनियनहरूले रचनात्मक एवं सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेको कुरा सर्वविदितै।

अदालत भित्र देखिएका विकृति विसङ्गतिका सम्बन्धमा विगत केही दिन देखि प्रधानन्यायाधीश एवं न्यायाधीशहरू बीचमा असमझदारी भई मुद्दाको सुनुवाइ नै प्रभावित भएको तथा विभिन्न पत्र-पत्रिका, अनलाइन समाचार तथा सामाजिक सञ्जालहरूमा जनताको अन्तिम आस्थाको केन्द्र न्यायालयको जनआस्था खस्काउने प्रकारका प्रकाशित समाचार तथा सर्वोच्च अदालतमा हालै भइरहेका गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

यस्ता अशोभनीय गतिविधिले न्यायालय थप सङ्कटतर्फ जाने भएको हुँदा अदालत भित्र देखिएका विकृति विसङ्गतिको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरू जिम्मेवार भई गम्भीरतापूर्वक अविलम्ब समुचित समाधान गर्न जोडदार माग गर्दछौँ।अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिर आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछौँ।

साथै न्यायालयमा देखिएको समस्याको सही समाधानका लागि सम्पूर्ण न्यायकर्मी, कानुन व्यवसायी, न्यायका उपभोक्ता, पत्रकार, नागरिक समाज तथा सरोकारवाला जनसमुदायलाई आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न समेत हार्दिक अपिल गर्दछौँ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved