नेपाल एयरलाइन्सले धनगढी-बझाङ उडान भर्ने

नेपाल एयरलाइन्सले धनगढी-बझाङ उडान भर्ने

धनगढी। सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमले धनगढीबाट बझाङ परीक्षण उडान गर्ने भएको छ।

धनगढीलाई बेस बनाएर जिल्लामा हवाइ सेवा सञ्चालन गर्नका लागि आइतबार परीक्षण उडान हुने भएको हो। लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाइ यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ।

धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा उडान हुने बताए। धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडादर कायम भएको छ।

धनगढीदेखि बझाङको तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम भएको छ। जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आइतबार बिहान नेपाल वायुसेवा निगमले धनगढी बझाङ उडान गर्नेछ। हवाइ भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङवासीको माग छ। एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ।

असोज ३१ गते आइतबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दशैं मनाउन घर आएका काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्जलगायत बाहिर जिल्लामा पढ्ने विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सकेका छैनन्। धनगढीबाट आउने मालबाहक गाडी, बस र कतिपय यात्रुसमेत बीचबाटोमै अलपत्र परेका नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंहले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved