फेरिँदैछ नेवार महिलाको पहिरन

कुनै बेला आफ्नै घरको तानमा बुनिएको कपडा लगाउने काठमाडौंका नेवार महिला अचेल बजारमा पाइने रेडिमेड कपडामा अभ्यस्त भएका छन्। उनीहरुको पहिरन कस्तो थियो, कसरी फेरिँदैछ, केले फेर्दैछ ?

फेरिँदैछ नेवार महिलाको पहिरन

काठमाडौं। हुर्किँदै गर्दा आमाले आफ्नै तानमा बुनेको कपडाबाट घाँघर सिलाएर लगाइदिँदा भक्तपुरकी रञ्जना धुकुजुले कहिल्यै ‘लाउँदिन’ भनिनन्। घरमा बस्दा होस् वा मामाघर वा कतै पाहुना जाँदा उनको पहिरन नै आमा र दिदीहरूले घरको तानमा बुनेको कपडाबाट सिलाएको घाँघर नै लगाउँथिन्। हरेक वर्ष नयाँ घाँघर पाउँदा उनी फुरुक्क हुन्थिन्। युवा भएपछि ह्वाताङ शुरुवः (आधुनिक कुर्ता शुरुवाल जस्तै देखिने परम्परागत नेवार युवतीको पहिरन) लगाउन थालिन्।

सानो छँदा उनको घरमा कपडा बुन्ने आफ्नै तान थियो। आमा, दिदीहरूलाई सघाउँदा सघाउँदै उनी आफैं पनि कपडा बुन्नमा पोख्न हुन थालिन्। त्यसपछि आमा, दिदीहरूसँगै थरीथरीका बुट्टा भरिएका र नभरिएका कपडा बुन्न थालिन्। त्यही कपडा सिलाएर लगाउनुपर्थ्यो।

अहिले रञ्जना ४५ वर्षकी भएकी छन्। आमा र दिदीहरूको सीप सिकेकी छन्। भक्तपुर लिवालीस्थित घरेलु कपडा बुन्ने कारखानामा नेवार समुदायले लगाउने विभिन्न थरीका पहिरने बुन्छिन्। हाकुपटासी (कालो फरिया), जनी (पटुका), गा(ओढ्ने), पुटु लँ(चोलो), ह्वाताङ शुरुवः, प्वाकःलँ (भित्री वस्त्र) का कपडा तयार पार्छिन्। तर उनकै सन्तान उनले बुनेका कपडा लगाउन चाहँदैनन्।

दुई छोरी र एक छोरालाई केही वर्ष अघि उनले घरमै बुनेको कपडाले लुगा बनाइदिन चाहिन्। छोराछोरीले मानेनन्। बजारका ‘आधुनिक’ लुगा किनिदिन आग्रह गरे।

भक्तपुर लिवालीकै ६६ वर्षीया महालक्ष्मी प्रजापतिले पनि सानैदेखि घरमै बुनेको कपडा लगाइन्। उनी आफै कपडा बुन्छिन्। चोलो र हाकुपटासी उनको प्रिय पोशाक थियो। दुई वर्ष भयो, उनको पहिरन फेरिएको छ। बजारमा किनेको रेडिमेड टिसर्ट लगाउन थालेकी छन् उनले।

“गर्मीमा त चोलो लगाउनै नसक्ने भइसक्यो,” उनी भन्छिन्, “त्यसैले गर्मी महिनामा हाकुपटासी माथि टिसर्ट लगाउँछु। जाडोमा बुनेकै चोलो लगाउँछु।”

“नेवार समुदायमा उमेर समूहअनुसार महिलाले लगाउने पहिरन फेरिएको छ”, त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक लीला न्याइच्याइ भन्छिन्, “बालिकादेखि किशोरी र ४० वर्ष आसपासका महिला र वृद्ध महिलाले लगाउने पहिरनमा फरकपन आइसकेको छ।”

सन् १९८० को दशकमा भक्तपुरको भार्वाचो, दुधपाटीमा जन्मिएकी लीला आफै सानो छउन्जेल आमाले बुनेको कपडा लगाउँथिन्। “हातैले बुनेको सर्ट जस्तो कपडा र घाँघर लगाइदिन्थे। आमाहरूले पनि हातैले बुनेको परासी (सारी) लगाउँथे। त्यतिमात्र होइन घरमा राख्ने तन्ना, सिरकको खोलसमेत आमाले नै बुन्नुहुन्थ्यो”, उनी सुनाउँछिन्।

विद्यालय जान थालेपछि भने उनको पहिरन फेरियो। निलो फ्रक र आकाशे रङको सर्ट लगाउन थालिन्।

भक्तपुरका नेवार महिलाको मात्र होइन अन्य स्थानका नेवार महिलाको पहिरन पनि यसैगरी परिवर्तन भइरहेको छ। नेवार महिलाको पहिरनमा केले परिवर्तन ल्याइरहेको छ ? त्यो भन्दा पहिला नेवार महिलाको पहिरन के हो भन्ने चर्चा गरौं।

आदिवासीले बनाएको पहिरन

इतिहासविद् प्रा.डा. पुरषोत्तमलोचन श्रेष्ठका अनुसार नेवार पहिरन तयार पार्ने श्रेय लिच्छविकालभन्दा पहिलादेखि नेपाल मण्डलमा रहेका किसानहरूलाई जान्छ। उनीहरू नै यहाँका आदिवासी हुन्। दुई हजार वर्ष पहिला नै ती आदिवासी किसानले बुनेको कपडा निर्यात हुने गरेको उनी बताउँछन्।

“नेपाल मण्डलमा लिच्छवीकाल पहिलेदेखि नै कपडा बुन्ने तानको चलन रहेको थियो”, श्रेष्ठ भन्छन्, “नेपालमण्डलमा बुनिएका कपडा, राडी पाखीहरू दुई हजार वर्षअघि भारतको पाटलीपुत्र (अहिलेको पटना)सम्म निर्यात भएको कौटिल्य अर्थशास्त्रमा उल्लेख भएको छ।”

त्यतिबेला राजादेखि देशबासी सबैले घरमै बुनेको कपडा लगाउने गरेको श्रेष्ठ बताउँछन्। “उच्च पदमा भएका व्यक्तिले महंगो बुट्टा हालेका सुती, रेशमका कपडा लगाउँथे भने किसान समूहले साधारण लुगा लगाउँथे।”

कतिसम्म भने, कुन जातका मानिसले कस्तो कपडा लगाउने भन्ने समेत तोकिन्थ्यो। गरगहना पनि सबै जातका मानिसले लगाउन पाउँदैनथिए। जातअनुसार काम बाँड्ने भक्तपुरका राजा जयस्थिति मल्लले जातअनुसार नै खानपिन र पहिरनको नियमसमेत बनाएका थिए।

उनले कथित तल्लो जातका मानिसले सुनका गरगहना लगाउन नपाउने नियम बनाए। पोडे समुदायले पूरै शरीर छोपेर हिँड्नुपर्ने, शाही खड्गी समुदायले पूरा बाहुला भएको लुगा लगाउन नपाउने नियम थिए।

“छैटौँ शताब्दीमा लिच्छवीकालका जिष्णु गुुप्तको पालामा बुढानिलकण्ठको मूर्ति बनाउन काठमाडौंको ठूलो जनशक्ति त्यसमा खटियो। काठमाडौंका जनताले मूर्ति बुढानिलकण्ठ पुर्‍याइदिएवापत् सुनको गरगहना लगाउने छुट पाएका थिए”, श्रेष्ठ भन्छन्।

थरीथरीका नेवार पहिरन

नेवार महिलाको पहिरन भन्नासाथ धेरैले हाकुपटासी सम्झिन्छन्। इतिहासविद् श्रेष्ठका अनुसार नेपाली हस्तकला उद्योगका प्राचीन उत्पादनमध्येको एक हाकुपटासी पनि हो। र यसको उत्पादक ज्यापुहरू हुन्। हाकुपटासी नेवार ज्यापु महिलाको पहिचान हो।

नेवाः कवि रामगोपाल आशुतोषका अनुसार सबै नेवारले हाकुपटासी लगाउँदैनन्। “ज्यापु समुदायबाहेकका समुदायका महिलाले छिना पर्सी लगाउँछन्”, आशुतोष भन्छन्, “नेवारको पाँचथरी, छ थरी अनि राजप्रासाद आदिमा काम गर्ने महिला र कर्मचारीका श्रीमती, छोरी, बुहारीले छिना पर्सी लगाउँछन्।”

छिना पर्सी पनि हाकुपटासी जस्तै तानमा बुनिन्छ। शुरुमा सादा रंगको धागोले बुनेर त्यसमा छिपा समुदायले रंगाउने गर्थे। छिपा धागो र कपडा रंगाउने पेशा गर्ने जात हो।

“नेपालभाषामा रंगाउने कामलाई रंग छिएको वा छिएगु, सुकाउनेलाई पाएगु भनिन्छ। छिएगु र पाएगुबाट छिपा भएको हो,” आशुतोष भन्छन्, “भक्तपुरको नागपोखरी, त्रिपुरासुन्दरी लगायत ठाउँहरूका छिपा समुदायका मानिसले कपडा र धागोलाई रंगाउने र लर्का सुकाउने गर्थे। छिपा स्थानीय भाषा विस्तृत हुँदै विभिन्न स्थान र जातिविशेषसम्म पुग्दा अपभ्रंश भएर छिपा सारी नै कालान्तरमा छिना सारी भएको हुनुपर्छ।”

आशुतोषका अनुसार महिलाले बिहे गर्दा तासको चोलो र दुपट्टाको सारी लगाइन्छ भने बेलसँग बिहे गर्दा इही पर्सी लगाइन्छ। उनी भन्छन्, “अहिले नेवार महिलाको पहिरन भन्ने वित्तिकै हाकुपटासी मात्रै बुझिन्छ, छिना पर्सीलाई बिर्सियो। यसलाई सिफन, लेनाइन, खद्दर, सुती र धोतीले बिस्थापित गर्दै लग्यो।”

राजनीतिले ल्याएको खुलापन

नेवार महिलाको पहिरनमा परिवर्तन ल्याउने एउटा प्रमुख कारक हो, राजनीतिक परिवर्तनसँगै भित्रिएको खुलापन। २००७ साल र २०४६ सालमा देशमा भएको व्यवस्था परिवर्तनसँगै खुलापन पनि भित्रियो।

“प्रजातन्त्र आएपछि सबै बराबर भयो। राजनीतिकसँगै सामाजिक, सांस्कृतिक परिवर्तनहरू पनि भएको थियो”, इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठको अनुभव छ।
तर यो परिवर्तन समाजमा स्थापित हुन भने समय लागेको थियो। नयाँ पहिरन लगाउनु अनेकन् टिप्पणीको शिकार हुनु पनि थियो।

“चार दशकअघि महिलाहरूले ब्लाउज लगाउने चलन भित्रिएको थियो”, श्रेष्ठ सुनाउँछन्, “महिलाहरूले आधामात्रै बाहुला भएको ब्लाउज लगाएको देखे मानिसहरू ‘कस्तो पोडे रहेछ’ भनी गाली गर्थे। त्यस्तै कथित तल्लो जातका मानिसले पनि पूरै बाहुला भएका लुगा लगाउन थालेपछि सबैलाई प्रजातन्त्र आएछ भनेर खिसि गर्थे।”

प्रजातन्त्रले मानिसलाई धेरै थोकमा छनौटको स्वतन्त्रता दियो। पहिलेजस्तो जातको आधारमा पहिरन पहिरिन परेन। “किनभने कस्तो पहिरन लगाउने भनेर छनौट गर्ने विषय व्यक्तिको राजनैतिक अधिकारसँग जोडिएको विषय पनि हो”, मानवशास्त्री सुरेश ढकाल भन्छन्, “यो स्वतन्त्रताको मानक पनि हो।”

हुन पनि राजनीतिक परिवर्तनहरूले नै नेवार महिलालाई स्वतन्त्रताको स्वाद चखायो। यसको उदाहरण हुन्, लिला न्याइच्याइ। २०६३ को अन्तरिम व्यवस्थापिका र पहिलो संविधान सभाको सदस्य पनि हुन् उनी। सांसद भएपछि पाइन्ट लगाउन थालेको सुनाउँछिन् उनी।

“२०६२ पछि दुईपटक नेपालको सांसद भएँ। त्यही दौरान पाइन्ट लगाउन शुरु गरेँ। भन्नेले त नेपालको सांसदले पनि पाइन्ट लगायो भने,” उनी भन्छिन्, “यसले मलाई कुनै प्रभाव परेन।”

बजारको हस्तक्षेप

पहिरन परिवर्तनमा राजनीतिक परिवर्तनको एक्लो योगदान मात्र छैन। यसमा आर्थिक अर्थतन्त्रमा आएको परिवर्तनले पनि प्रशस्त भूमिका खेलेको छ। उदार राजनीतिसँगै नेपाल उदार अर्थतन्त्रमा पनि प्रवेश ग¥यो जसले बजारको आयतन बढायो। र, बजार पहिरनसम्म पुग्यो।

समाजशास्त्री डा. नीति अर्याल खनालका अनुसार समाजमा आर्थिक संरचना परिवर्तन भएसँगै महिलाहरूको पहिरनमा पनि परिवर्तन आउन थाल्यो जसमा बजारले प्रशस्त भूमिका खेल्यो।

“पहिले उत्पादन परिवार केन्द्रित हुन्थ्यो। आफ्नो निर्वाहको लागि मानिसहरू घरमै उत्पादन गर्थे। तर जब परिवारको आर्थिक संरचना परिवर्तन हुन थाल्यो, तब मानिसहरूले पहिरन बजारमा किन्दा इज्जतदार हुन्छ भन्ने धारणा आयो”, खनाल भन्छिन्।

मानवशास्त्री सुरेश ढकाल पहिरनमा आएको परिवर्तनलाई बजारको अतिक्रमणसँग पनि जोडेर व्याख्या गर्छन्।

“बजार स्वतन्त्र हुनुअघि राज्यले सञ्चालन गरेका रैथाने उत्पादन अन्तर्गत घरबुना कपडालगायत कपडा हुन्थे। सरकारले पनि सरकारी कर्मचारीको लागि हेटौँडामा सुतीको कपडाबाट बनेको पोशाक अनिवार्य गरेको थियो। तर जब नवउदारवाद अर्थतन्त्रसँग एकात्मक भयो, त्यसपछि बजार स्वतन्त्र भयो र यसले रैथाने उत्पादनलाई समाप्त पारिदियो”, ढकालको तर्क छ।

बजारले मानिसलाई छनौटको अवसर दिएको उनको टिप्पणी छ। भन्छन्, “बजार स्वतन्त्र हुनुअघि अधिकांश क्षेत्रमा बालीघरे प्रथा थियो। सूचीकारले जस्तो सिलाइदिन्थे, त्यस्तै लगाउनुपथ्र्यो। तर मानिसलाई बजारले छनौट र अवसर दिन थालेपछि बालीघरे प्रथामै सीमित हुन परेन। त्यस्तै अब बजारमा टेलर मास्टरले सिलाएका नयाँ डिजाइनका नयाँ लुगा लगाउन पाउने भए।”

कामले दिएको स्वतन्त्रता

महिलाको पहिरनमा परिवर्तन ल्याउने अर्को महत्वपूर्ण कारक हो, प्रत्यक्ष आर्थिक आम्दानी हुने श्रममा महिलाको सहभागीतामा भएको वृद्धि।

२०२८ सालसम्म पनि नेपालको श्रम शक्तिमा महिलाको सहभागिता कम थियो। मीना आचार्यको पुस्तक ‘नेपाली महिलाहरूको सांख्यिक चित्रण’ अनुसार २०२८ सालमा नेपालको श्रमशक्तिमा महिलाहरूको सहभागिता दर ३५.१ प्रतिशत थियो।

केन्द्रीय तथ्यांक विभागले सन् २०१४ मा प्रकाशन गरेको पपुलेसन मोनोग्राफ अफ नेपालको भोल्युम ३ (इकोनोमिक डेमोग्राफी)काअनुसार प्रत्येक १० वर्षमा रोजगारीका विभिन्न क्षेत्रमा महिलाको सहभागिता बढेको देखिन्छ।

२०२८ सालमा पेशागत र प्राविधिक क्षेत्रमा महिलाको रोजगारीको अवस्था ०.१४ प्रतिशत थियो भने, २०४८ सम्म आइपुग्दा यो ०.६६ प्रतिशत पुग्यो। अर्थात् २०२८ सालमा पेशागत र प्राविधिक क्षेत्रमा काम गर्ने एक हजारमध्ये एक जना महिला हुन्थे भने २०४८ सालमा ६ जना हुनपुगे।

त्यस्तै, २०२८ सालमा विभिन्न कार्यालयमा काम गर्ने महिलाहरूको संख्या ०.१३ प्रतिशत थिए भने २०४८ मा ०.२६ पुग्यो। २०२८ सम्म प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता ०.०३ प्रतिशत थियो भने २०४८ मा ०.०७ प्रतिशत भयो। २०२८ सम्म महिलाहरू विक्रिवितरणमा ०.५१ प्रतिशत, सेवाको क्षेत्रमा ०.३८ प्रतिशत, उत्पादनको क्षेत्रमा ०.६७ प्रतिशत थिए भने, २०४८ सम्म आइपुग्दा बिक्रिवितरणको क्षेत्रमा महिला १.६६ प्रतिशत, सेवामा ३.८४ प्रतिशत र उत्पादनमा १.९६ प्रतिशत पुगे।

परिणाम, कृषिमा महिलाहरूको सहभागिता कम हुँदै गयो। २०२८ मा कृषिको क्षेत्रमा महिलाको सहभागिता ९८.१७ प्रतिशत थियो भने २०४८ सम्म आइपुग्दा यो प्रतिशत घटेर जम्मा ९०.४६ प्रतिशत हुन पुग्यो। महिलाहरू यसरी रोजगारीका विभिन्न क्षेत्रमा जान थालेपछि उनीहरू आर्थिक रुपमा सक्षम हुन थाले। जसले उनीहरूलाई चाहेको लगाउने स्वतन्त्रता दियो।

विद्यालय जाने महिला बढेसँगै उनीहरू दक्ष पनि बन्न थाले। पढेका महिला घरमा सीमित हुन परेन। दैनिक ज्याला-मजदुरी मात्रै नभई महिलाहरू विभिन्न कार्यालयका उच्च ओहदामा समेत काम गर्न थाले जसले गर्दा उनीहरूको आफ्नै साधन हुन थाल्यो। सारीमा भन्दा कुर्ता, पाइन्टले सजिलो बनाउन थाल्यो। शरीरमाथिको स्वतन्त्रताको उपभोग गर्न थाले महिलाहरूले।

“महिलाहरू घरबाहिर पनि काम गर्न निस्कन थालेपछि उनीहरूको पहिरनमा पनि परिवर्तन आयो”, सह-प्राध्यापक एवं पूर्वराजनीतिकर्मी लिला न्याइच्याइ भन्छिन्।

त्यतिमात्र होइन आफूलाई अभिव्यक्त गर्ने माध्यमको रुपमा पनि पोशाक प्रयोग भएको मानवशास्त्री सुरेश ढकालको टिप्पणी छ। भन्छन्, “आफूलाई कसरी अभिव्यक्त गर्ने भन्ने कुरा महिलामा निहित हुन्छ। आफ्नो पोशाकद्वारा आफूलाई अभिव्यक्त गर्छन् उनीहरूले।”

मध्यम वर्गको उदय

माथिको तथ्यांकले २० को दशकदेखि ४० को दशकसम्म आइपुग्दा आर्थिक गतिविधिमा भएको परिवर्तन दर्शाउँछ। यो परिवर्तनले सामाजिक संरचनामा एउटा नयाँ वर्गको जन्म गराइरहेको थियो- मध्यमवर्ग।

२००७ सालपछि नै मध्यमवर्गको उदय हुन थालेको टिप्पणी छ। नेपालको आधुनिक संस्कृति र इतिहासबारे अनुसन्धान गरिआएका मानवशास्त्रका अमेरिकी प्राध्यापक मार्क लिट्टीको। यसरी उदय भएको मध्यमवर्गलाई उपभोक्तावाद प्रेरक शक्ति बन्न पुगेको टिप्पणी उनले आफ्नो पुस्तक ‘स्विटेबली मोर्डन’मा उल्लेख गरेका छन्। उपभोक्तावादले मध्यमवर्गलाई फेसनको दुनियाँसम्म पु¥यायो।

‘फेसन आएसँगै मध्यम वर्गहरू कुरुप देखिनुपर्ने जरुरी भएन, फेसनको अनुपस्थिति भनेको नै मध्यम वर्गीय कालको अनुपस्थिति हुनु हो’ उनले उल्लेख गरेका छन्।

आयातले खाइदिएको उद्योग

अर्थतन्त्रमा यो परिवर्तन आउनुमा एउटा महत्वपूर्ण पक्षले काम गरेको थियो। त्यो हो विदेशी सामग्रीको आयातसँगै हराउँदै गएको कुटीर उद्योग। विदेशी सामग्रीको आयात भने राणा शासनबाटै शुरु भएको थियो।

१९ औँ शताब्दीको पूर्वाद्र्धमा निरंकुश राणा शासनको बेलामा मुख्यतया काठमाडौंका धनाढ्यहरूमा विदेशी वस्तु र शैलीको प्रयोग गर्ने उत्कण्ठा बढेको मार्क लिट्टीले उल्लेख गरेका छन्।

लिट्टी लेख्छन्- ‘सन् १९२० को दशकको अन्त्यसम्ममा राणाहरूले नै ‘एरियल रोपवे’ सञ्चालनमा ल्याए जसले प्रतिघण्टा आठ टन सामान ढुवानी गर्न सक्थ्यो। युरोपमा अत्यधिक मात्रामा हुने उत्पादनको लाभ उठाउनका लागि राणाहरूले काठमाडौंमा एक ‘विदेशी सामान विभाग’ नै खोलेका थिए। साथै कलकत्तामा एक ‘खरीद एजेन्सी’को स्थापना गरेका थिए। जसले युरोपेली डिपार्टमेन्ट स्टोरहरूबाट काठमाडौंका सम्भ्रान्त परिवारहरूका लागि घरेलु आवश्यक मालसामानको आयात गर्दथ्यो।’-(स्विटेबली मोर्डन, पृ.४४)

आयातको परिणाम, सन् १९२० को दशकसम्म नेपालका आम मानिसले पनि आयातित वस्तुहरूको उपभोग गर्न शुरु गरिसकेका थिए। जसलाई थप टेको दिए, प्रथम विश्वयुद्धका लागि विदेश पुगेका नेपालीहरूले। उनीहरूले पैसासँगै आधुनिकतासँग जोडिएका सामान पनि ल्याए। जसले गर्दा बजारमा साधारण उपभोग्य वस्तुहरूको माग बढ्न थाल्यो। बजार बढाउन राणा शासकहरूले जापानी उत्पादकहरूसँग सामान खरी दगर्न थाले।

‘नेपालको सानो बजारमा जापानको सामानहरूको बाढी नै आयो। जसले नेपालको कुटीर उद्योगलाई सखाप बनाइदियो। कम पूँजी एवं अधिक कुशलताका साथ आफ्नो हातको माध्यमले घरमा बनाइने वस्तुहरू बन्न छाड्यो। साथै विदेशबाट नेपाली सैनिकले ल्याएका नगद पनि यस्ता विलासिताका सामान उपभोग गर्न खर्च गर्दा विदेशीयो भने केही प्रतिशत पैसा राणा शासकको ढुकुटीमा गयो।’-(लिट्टी, स्विटेबली मोर्डन, पृ.४५)

यस्ता सखाप भएका कुटीर उद्योगमध्ये उपत्यकाका नेवार समुदायले उत्पादन गर्ने पोशाक पनि पर्छन्। नेवार समुदायका महिलाले बुन्ने र लगाउने हाकुपटासी (कालो सारी), छिना पर्सी (सारी), इही पर्सीहरू पनि हराउँदै गए।

सूचना जगतको प्रभाव

भक्तपुरकी रञ्जना धुकुजु पाँच वर्षदेखि बजारमा कपडा किनेर कुर्ता सुरुवाल सिलाउँछिन् भने केही रेडिमेड कपडा किन्छिन्।

“आफूले बुनेका कपडा त जात्रा, भोज भतेरमा मात्रै लगाउँछु,” उनी भन्छिन्, “मलाई पनि दिनहुँ घर बस्दा आफैले सिलाएको भन्दा बजारमा पाइने मेसिनले बुनेका कपडा हलुका र लगाउन सजिलो हुन्छ।”

धुन पनि सजिलो र लगाउन पनि सजिलो हुने भएकाले बजारकै कपडा मन पराउँछिन् उनी। आफुलाई देखेरै छोराछोरीले पनि बुनेको भन्दा बजारकै कपडा मन पराएको उनी सुनाउँछिन्।

“अहिलेका बच्चालाई डिजाइन डिजाइनका लुगा लगाउनुपर्छ, कहाँ यस्तो एकरंगी लुगा लगाउँछन् र?”, उनको टिप्पणी छ।

डिजाइन-डिजाइनका कपडा लगाउने चेत फेसनको ज्ञानले दिएको हो। फेसनको यो ज्ञान भने आम सञ्चार, फिल्म र फिल्मी पत्रिकाहरूले दिएका हुन्।

“यहाँका मानिसले अमेरिकी, कोरियन हिन्दी सिनेमा हेरे। उनीहरूको सूचना र संस्कृतिले नेपालमा प्रभाव जमाउँदै गयो। र यहाँको मानिसको डिमाण्ड त्यस्तो भयो। यहाँ विदेशी प्रभाव हावी हुन थाल्यो। जसले विदेशी कपडाको उपभोग तीव्र भयो”, मानवशास्त्री सुरेश ढकाल भन्छन्।

सूचनाको पहुँच र संस्कृतिसँगको सामीप्यताले पोशाकमा प्रभाव पार्ने उनी बताउँछन्। “अरेबियन संस्कृतिसँग हाम्रो संस्कृतिको सामिप्यता छैन। त्यसैले यहाँ त्यस्ता संस्कृतिको कम भएको देखिन्छ”, ढकाल भन्छन्।

फेसनको प्रभावसँगै अन्तर्राष्ट्रिय सम्बन्धको दायरा फराकिलो हुनुलाई पनि कारकको रुपमा जोड्छिन् उप-प्राध्यापक लिला न्याइच्याइ। “पहिले भारतसँग मात्र सम्बन्ध थियो, त्यहाँबाट मात्र आयात हुन्थ्यो। अहिले पछि अन्तर्राष्ट्रिय सम्बन्धको दायरा फराकिलो भएको छ। कोरिया, जापानका फिल्महरू नेपालमा चल्न थाल्यो। त्यसैले विविध संस्कृति भित्रिएका छन्”, न्याइच्याइ भन्छिन्।

मार्क लिट्टी भने कतिपय अवस्थामा महिलालाई फेसन थोपरिएको टिप्पणी गर्छन्। एक लेखमा उनले ‘एक युवा नेवार महिलाले अरुको लागि आफू राम्री देखिनको लागि फेसन अपनाएको’ उल्लेख गरेका छन् (लिट्टी, पेइङ फर मोडर्निटी ः वुमन एण्ड द डिस्कोर्स अफ फ्रिडम इन काठमाडौं, स्टडिज इन नेपाली हिस्ट्री एण्ड सोसाइटी १(१), जुन १९९६)

उनी लेख्छन्- ‘पेशाकै लागि पनि आधुनिक फेसनमा देखा परेका स्ट्यान्डर्ड खालका ब्रान्डेड कपडाहरू किन्न, लगाउन र टिप-टप देखिनुपर्ने बाध्यता छ। यस्ता पेशामा महिलाले कपडा किन्ने हैसियत राख्छ वा राख्दैन भन्ने हेरिँदैन। केबल राम्रो कपडा लगाएको र राम्रो देखिनु नै महत्वपूर्ण हुन्छ। आधुनिक श्रम बजारले महिलाहरू फेसन गर्नको लागि बाध्य छन्। सार्वजनिक क्षेत्रमा काम गर्ने महिलाहरूलाई फेसन थोपरिएको छ।’ (पृ.२२६)

सहज छैन परिवर्तन आत्मसात

सतहमा हेर्दा नेवार महिलाको पहिरनमा व्यापक परिवर्तन आएको देखिए पनि यसलाई स्थापित गर्न भने उनीहरूले निकै संघर्ष गर्नुपरेको छ।

कीर्तिपुरकी ५८ वर्षे बसुन्धरा शाक्य कुर्ता सुरुवाल लगाउन घरमा झगडा नै गर्नुपरेको अनुभव सुनाउँछिन्। उनको बिहे भएको ३१ वर्ष भयो। बिहे गरेदेखि उनले बजारमा पाइने सिफन, सुतीका सारी लगाउन थालिन्। उमेर बढ्दै गएकाले खुट्टामा समस्या देखिन थाल्यो। खुट्टा चिसो राख्न भएन। त्यसपछि उनले कुर्ता सुरुवाल लगाउने निधो गरिन्।

तर पतिले शुरुमा स्वीकार गरेनन्। तै पनि खुट्टाको समस्या कम गर्न उनले जबरजस्ती कुर्ता सुरुवाल सिलाएर लगाउन थालिन्। कुर्ता सुरुवाल लगाउन थालेपछि उनको खुट्टा दुखाइ कम हुन थाल्यो। साथै घरायसी काम गर्न पनि सजिलो भयो। तर उनले कुर्ता लगाउन थालेपछि लामो समय झगडा नै भयो।

“बेलाबेला श्रीमान्ले ‘तिमीलाई सारी मै राम्रो देखिन्छ, सारी लगाउन न कहिलेकाहीँ’ भनेर फकाइरहनुहुन्छ। तर भोजभतेरबाहेक अरु बेला सारी लगाउँदिनँ”, उनले सुनाइन्।

परिवर्तित फेसनसँग अनुकूल नहुँदा कतिपटक साथीहरूले जिस्काएको समेत सुनाउँछिन् उनी। १६/१७ वर्ष अघि पाटनमा दिपकंर बुद्धको जात्रामा घटेको एउटा घटना सुनाइन् उनले। जात्रामा सहभागी हुनेहरू एक दिन, एक रात हिँड्नुपर्थ्यो। साथीहरूसहित उनी पनि जात्रामा सहभागी हुन पुगिन्। साथीहरू पाइन्ट, कुर्ता सुरुवाल लगाएर आएका थिए। उनी भने सारीमा पुगेकी थिइन्। त्यसपछि उनका साथीले ‘कीर्तिपुरको गाउँले आई’ भनेर समेत जिस्काए।

ललितपुरको पाटनमा जन्मिएकी बसुन्धराले बिहे अघि सर्ट पाइन्ट पनि लगाउँथिन्। बुवाआमा फराकिलो सोचका थिए। सर्ट पाइन्ट नै पनि सिलाएर लगाइदिन्थे। तर बिहे भएपछि भने पतिको इच्छाअनुसार उनले सारी नै मात्र लगाइन्।

साथीहरूले सारी लगाएकोमा जिस्काएको घटना उनले घरमा आएर पतिलाई सुनाइन्। घटना सुनेर पतिले कुर्ता सुरुवाल किनिदिन्छन् होला भन्ने सोचेकी थिइन्। तर भइदियो उल्टो। उनका पति त भोलिपल्ट नयाँ सारी लिएर घर आए।

“मेरो माइती त पाटनमा हो, सानैदेखि घाँघर लगाएँ, पछि त पाइन्ट सर्ट पनि लगाउन पाएँ। बिहे भएपछि मात्रै अरु लुगा लगाएको पतिलाई मन पर्दैन भनेर सारी नै सारी मात्रै लगाउन थालेँ”, उनी भन्छिन्, “आफ्नो शरीरलाई नै सास्ती भएपछि त कसैको खुशीको लागि सारी लाउँदिन भनेर कुर्ता सिलाएँ।”

कीर्तिपुरमा कुर्ता सुरुवाल लगाउन शुरु गर्ने नेवार महिला नै आफू भएको बताउँछिन उनी। “शुरुशुरुमा त कुर्ता लगाएर हिँड्दा मान्छेहरूले निकै बेर हेर्थे”, सुनाउँछिन् उनी। अहिले उनका बुहारीहरूले पनि कुर्ता सुरुवाल, पाइन्ट लगाउन थालिसकेका छन्। उनकी छोरी बिजेता पनि अधिकांश समय पाइन्ट र टिसर्टहरू नै लगाउँछिन्।

परिवर्तन आत्मसात गर्न किन गाह्रो त ? महिलाको कपडालाई यौनिकतासँग जोडेकाले यस्तो भएको समाजशास्त्री डा. नीति अर्याल खनालको टिप्पणी छ।

“हाम्रो समाजले सारीलाई श्लील मान्छ, जबकी सारीले पूरै शरीर छेक्दैन। पेट, ढाड त देखिन्छ। तर पूरै शरीर ढाक्ने टिसर्ट पाइन्ट लगाएपनि त्यसलाई अश्लील मानिन्छ। यो महिलाको यौनिकतामाथि नियन्त्रण गर्न खोज्दा यस्तो हुन्छ। तर पहिरनसम्बन्धी अवधारणाहरू महिलाले भत्काउँदै लगेका छन्”, खनाल भन्छिन्।

परिवर्तनको प्रभाव

नेवार महिलाको पोशाकमा आएको परिवर्तनको पहिलो प्रभाव हो, स्थानीय हाते तान विस्थापित हुनु। कपडा उद्योगमा मेसिन प्रवेश ग¥यो।

हजारौँ वर्षदेखि चल्दै आएको हाते तानहरू विस्थापित हुन पुगेका लिवालीका ६६ वर्षे बुद्धिसागर प्रजापति बताउँछन्। भक्तपुरमा अहिले नगण्य मात्रामा बजारमा हाते तानमा बुन्न जान्नेहरू बाँकी भएको उनी बताउँछन्। चार दशकदेखि कपडा बुन्न थालेका उनको लिवालीमा कारखाना छ। जहाँ अधवैशे र वृद्धाहरू कपडा बुन्न आउँछन्।

“काम गाह्रो छ, त्यसैले मान्छेले यो पेशा छोड्दै गए,” उनी भन्छन्, “दोस्रो तेस्रो पुस्ताका नानीहरूले यो काम सिकेन, त्यसैले लोप हुँदै गइरहेको छ। पहिले बुन्न आउने मानिसको पनि उमेर ढल्कँदै गएको र नयाँ पिँढीले यो बुन्ने सीप नसिकेकोले यो समस्या आएको हो।”

अहिले बुद्धिसागर कहाँ काठमाडौं उपत्यकाबाट माग नै आउँदैन। लकडाउन अघिसम्म बाहिरी गुल्मी, स्याङ्जा, चितवन लगायत ठाउँबाट माग आइरहेको थियो। तर त्यसमा पनि एकदमै कमी आएको उनी बताउँछन्।

उनले काम गर्न शुरु गर्दा मागहरूको ओइरो लाग्न थालेपछि उनले घरमा भएको दुई तानलाई बढाएर उनले १९ वटा तान पु¥याएर उद्योग नै शुरु गरेका थिए। तर अहिले त माग नै नभएको उनी बताउँछन्।

“काम गाह्रो छ। माग छैन, त्यसैले छोड्दै गइसकेँ। मेरो पनि आँखा कमजोर भइसकेको छ। दुई वर्ष जति गर्छु, त्यसपछि म पनि छोड्छु,” उनी भन्छन्।

हराएको छैन नेवार पोशाक

नेवार महिलाको पहिरनमा व्यापक परिवर्तन आए पनि, घरेलु उद्योग हराउँदै गए पनि, सीप सिक्न छोड्दै गए पनि नेवार पोशाक भने हराइसकेको छैन।

सन् १९९० को प्रजातान्त्रिक आन्दोलनपछि आदिवासी जनजातीका नयाँ पुस्तामा संस्कृति, भाषा, भेषभुषामाथि गर्व गर्नुपर्छ भन्ने धारणा विकास भएको समाजशास्त्री डा. नीति अर्याल बताउँछिन्।

“सांस्कृतिक पहिरन लगाउँदा गर्व गर्नेहरूको संख्या बढ्न थालेको छ। सांस्कृतिक महत्वका कपडा, घरमा बुनेका कपडाहरूको रि-मार्केटिङ, रिब्रान्डिङ हुन थालेका छन्। अन्य कपडा भन्दा हातैले बुनेका कपडाहरूको मूल्य पनि महंगोमा किन्छन् मानिसहरू। राम्रो मूल्य पाइरहेका छन् मानिसहरूले। यो पनि एक हिसाबबाट परिवर्तन भइरहेको छ।”

इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार मौलिक पहिरन सांस्कृतिक पहिचानमा सीमित हुन पुगेको छ।

“तर यही कुरा पनि वर्तमानमा विशेष महत्वपूर्ण हुन आएको छ भन्ने बिर्सनुहुन्न”, उनी भन्छन्, “किनकि धार्मिक, सांस्कृतिक उत्सवताका नयाँ सफा र सुकिलो हाकुपटासी लाएर सामाजिक एवं सांस्कृतिक उत्सवमा भाग लिनु गौरवको कुरा भएको छ। हाकु पटासीकै कुर्ता, पाइन्ट, पनि आजकल चलेको छ। अचेल हाकुपटासी विदेशतिर सप्लाइ हुन थालेको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved