भृकुटीको दाइजोले समृद्ध बन्दै छन् चिनियाँ

भृकुटीले दाइजोमा लगेको पौभाकै कारण छिमेकी मुलुकका नागरिक समृद्ध बन्न सक्छन् भने हामी किन सक्दैनौँ?

भृकुटीको दाइजोले समृद्ध बन्दै छन् चिनियाँ

छिङ्हाई, चीन। सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीले ल्याएको दाइजो नै आज तिब्बती मूलका चिनियाँ नागरिकको पहिचान बनेको छ। पहिचान मात्र होइन उनीहरूको समृद्धिको मूल स्रोत पनि त्यही दाइजो हो भन्दा अत्युक्ति नहोला।

तिब्बतका सम्राट स्रोङचोङ गम्पोसित बिहे गरेर अन्मिँदा भृकुटीले जे दाइजो ल्याएकी थिइन्, त्यसले तिब्बती मूलका चिनियाँ नागरिकको जीवनशैली परिवर्तन गराएको छ। त्यही दाइजोको रूप र ढाँचाका कला पछ्याउँदै व्यावसायिक पेशा अँगाल्दा उनीहरू दिनानुदिन धनी बन्दै गएका छन्।

छिमेकी मुलुकका नागरिकलाई अहिलेसम्म समृद्ध बनाउने एक हजार ४ सय वर्ष अगाडि भृकुटीले त्यस्तो के दाइजो ल्याएकी थिइन् नेपालबाट? बुद्धको मूर्ति र बुद्ध धर्मका सूत्रअंकित ग्रन्थहरू भृकुटीले नेपालबाट अन्मिँदा तिब्बत ल्याएकी थिइन् भन्ने कुरा सर्वविदितै छ। यसबाहेक पनि भृकुटीले थप केही दाइजो ल्याएकी थिइन् भन्ने कुराचाहिँ थोरैलाई मात्र थाहा छ।

तिब्बतका सम्राट स्रोङचोङ गम्पोसित बिहे गरेर अन्मिँदा भृकुटीले जे दाइजो ल्याएकी थिइन्, त्यसले तिब्बती मूलका चिनियाँ नागरिकको जीवनशैली परिवर्तन गराएको छ। त्यही दाइजोको रूप र ढाँचाका कला पछ्याउँदै व्यावसायिक पेशा अँगाल्दा उनीहरू दिनानुदिन धनी बन्दै गएका छन्।

हो, भृकुटीले बेहुली बनेर अन्मिँदा काठमाडौँबाट केही पौभा चित्र र पौभा चित्र कोर्ने कालिगड पनि दाइजोमा तिब्बत ल्याएकी थिइन्।

ढुङ्गा, माटो, पत्थर, खनिज, वनस्पतिलगायत प्राकृतिक बस्तु र रंगहरू मिलाएर कागज, कपडा, रेशम तथा भित्तामा बनाइने चित्र नै पौभा चित्र हो। यस्ता चित्रमा विशेष गरी भगवान बुद्धको जीवनी, ज्ञान, सद्भाव, दर्शन समेटिने गर्छ। गौतम बुद्धका चेलाहरूलाई पनि पौभा चित्रमा राखिन्छ र विभिन्न मिथक तथा भगवानका प्रतीकहरूलाई चित्रमा अंकित गरिन्छ।

भृकुटीले लगेका पौभा चित्र र पौभा चित्र कोर्ने कालिगडले तिब्बतमा यसलाई फैलाउने काम गरे। फलतः आज तिब्बतीहरूको काँचुली फेर्ने माध्यम बन्यो त्यही नेपाली मौलिक पौभा चित्र।

चिनियाँ इन्टरनेटमा उल्लेख भएअनुसार लगभग एक हजार चार सय वर्ष अगाडि नेपालबाट थाङ्का तिब्बतमा प्रवेश गरेको हो। भृकुटीले नै थाङ्कालाई नेपालबाट तिब्बतमा लगेको कुरा उल्लेख नभए पनि समय गणना गर्दा त्यतिबेला भृकुटीले बुद्धमूर्तिसँगै थुप्रै नेपाली कलाकृतिहरू तिब्बत ल्याएकी थिइन्। भर्खर काठमाडौँमा शुरु भएको पौभाचित्र पनि उनले समावेश गरेकी थिइन् भन्न सकिन्छ।

किनभने भृकुटी आफैँ पनि कलाकार र कलाको उच्च सम्मान गर्ने व्यक्ति थिइन्। ल्हासामा जोखाङ दरबारलाई नेपालतिर फर्काएर बनाउन लगाएकी थिइन्, जहाँ गुरु पद्मसम्भवको विशाल मूर्ति पनि राखिएको छ।

काठमाडौँ उपत्यकाका नेवारहरूले कोर्ने गरेको पौभाचित्र नै आधुनिक थाङ्काका नामले चिनिन्छ। नेपालबाट तिब्बतमा प्रवेश गरेसँगै यसलाई तिब्बती भाषामा थाङ्का भन्न थालिएको हो। कुनैबेला शोखले घोरिएर कोरिने चित्र नै आज जीवनलाई धनी बनाउने थाङ्का चित्र बनेको छ।
अन्य चित्रकलाजस्तो थाङ्का बनाउने केही घण्टा अथवा दिनले पुग्दैन। सानो थाङ्का बनाउनै कम्तीमा महीना दिन लाग्छ भने ठूलो र गहन थाङ्का बनाउन दुई वर्ष पनि लाग्न सक्छ।

तिब्बतसँग जोडिएको चीनको अर्को प्रान्त छिङ्हाईमा पनि धेरै तिब्बतीहरू बसोबास गर्दछन्। छिङ्हाई प्रान्तको होङनान स्वायत्त तिब्बती प्रिफेक्चरको रकोङ गाउँका तिब्बतकी मुख्य पेशा नै थाङ्का बनाउनु हो।

रकोङका लगभग ८४ प्रतिशत तिब्बती थाङ्का बनाउने कार्यमा संलग्न छन्। उनीहरूमध्ये एक हुन् कङ तङ ता ची। ५८ वर्षीय कङले सात वर्षको उमेरदेखि थाङका बनाउन थालेका हुन्। आफ्नै बुबाबाट थाङ्का बनाउन सिकेका कङले अहिलेसम्म हजारौँ थाङ्का बनाइसकेका छन्।
उनी थाङ्काका कति शौखिन छन् भन्ने कुरा उनको घरको प्रत्यक्ष अवलोकन गर्दा सजिलै अनुमान गर्न सकिन्छ।

तीनतले भव्य महलको ८० प्रतिशत भाग थाङ्काले भरिएका छन्। भर्‍याङ चढ्दा होस् अथवा पाहुनालाई सत्कार गर्ने कोठा होस्, जतासुकै थाङ्का झुण्डाएका छन्। थाङ्का बनाउनकै लागि उनले ठूला ठूला तीन वटा कोठा प्रयोग गरेका छन् भने ठूला दुई वटा हललाई थाङ्का प्रदर्शनीजस्तो बनाएका छन्।

उनका बुबाले आठ दशक थाङ्का बनाएर जीवन बिताए। पाँच दशकदेखि उनी आफ्ना बाबुको बिडो सम्हालेर बसेका छन्। थाङ्का बनाउने मात्र होइन अरुलाई थाङ्का बनाउन सिकाउने पनि गर्छन् कङले।

उनका थाङ्का बेइजिङ, शाङ्हाई र सनचनका धनी मान्छेले आफ्ना थाङ्का किन्ने गरेका सुनाउँदै कङ भन्छन्, “थाङ्का धनी र शोखिन मान्छेले मात्र किन्छन्। अमेरिका, बेलायत, फ्रान्स, इटालीलगायत मुलुकका मान्छेले मैले बनाएको थाङ्का रुचाउँछन्।”

रकोङमा बसोबास गर्ने तिब्बतीहरूमध्ये लगभग ८४ प्रतिशतले थाङ्का बनाउने काम गर्छन्। शिकारुले पनि महिनामा २० हजार चिनियाँ युआन (लगभग साढे तीन लाख रुपैयाँ) कमाउँछन्। अलिक सिपालुले सरदर एक लाख चिनियाँ युआन (लगभग साढे १८ लाख रुपैयाँ) जति आम्दानी गर्ने कङले बताए।

कङले बनाएको सबैभन्दा महँगो थाङ्का १८ लाख चिनियाँ युआन (झण्डै साढे तीन करोड रुपैयाँ) मा बिक्री भएको छ। थाङ्का बनाउन प्रयोग गरिने सामग्री तिब्बतको ल्हासाबाट किनेर लाने गरेको उनले बताए। उनी भन्छन्, “थाङ्का बनाउन धैर्य र लगनशील हुनुपर्छ। दैनिक १० घण्टा बसेर लगातार काम गर्नुपर्छ। सबैभन्दा धेरै दबाब आँखामा पर्छ।”

तपाईंले बनाउने गरेको थाङ्का नेपालबाट आएको भन्ने कुरा थाहा छ भनेर सोद्धा कङ उत्तर दिन्छन्,”मैले पनि त्यस्तै सुनेको हुँ। तर हामीले बनाउने तिब्बती थाङ्का र नेपाली थाङ्काको शैली र गुणस्तर फरक रहेको छ।”

सन् २००५ मा आफूले नेपालको भ्रमण गरेको उनले सुनाए। त्यतिबेला ठमेलतिर गएर नेपाली थाङ्काको अवलोकन गर्दा त्यति गुणस्तरीय नभएको आफूले पाएको उनको अनुभव रहेछ।

नेपालबाट शुरु भएको पौभाचित्र थाङ्का बनेर तिब्बती जातिको पहिचान र समृद्धिको द्योतक बनिसकेको छ। तिब्बती नागरिक बसोबास रहेको क्षेत्रमा सरकारी क्षेत्रबाट थाङ्का विद्यालयहरू खुलेका छन्। चीनले गैरभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गरिसकेको छ।

थाङ्का चित्र त सयौँ वर्षदेखि तिब्बतीले बनाउँदै आएका थिए तर अहिले आएर मात्र किन धनी बने भन्ने अर्को प्रश्न पनि यसको महत्वपूर्ण पक्ष हो। सयौँ वर्षदेखि थाङ्का कोर्ने काम भइरहे पनि यसको बजारीकरण हुन थालेकोचाहिँ केही दशक मात्र भएको छ।

बजारीकरण र यसको तीव्र प्रचारप्रसारले गर्दा धनी व्यक्तिका लागि संकलनको एउटा शोखका रूपमा थाङ्का बनेको छ भने गरिब तिब्बतीहरूको जीवनस्तर उकास्ने सीप र कला।

मूलबाट बगेको पानी पौभा अहिले समुद्र थाङ्का बनिसकेको छ। हाम्रो पहिचान न पौभा बन्यो न थाङ्का। सस्तोमस्तो नक्कल गरेर ठमेलमा पर्यटक झुक्याउने व्यापारले नेपाली पौभा चित्रकलालाई दिनदिनै कमजोर बनाउँदै लगेको छ।

भृकुटीले दाइजोमा लगेको पौभाकै कारण छिमेकी मुलुकका नागरिक समृद्ध बन्न सक्छन् भने हामी किन सक्दैनौँ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved