राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

नेपालभ्युज

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसीर २१ देखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ।

प्राधिकरणले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापना नेपालले प्राप्त गरेको अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जनाएको हो।

पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त भएका अनुभव तथा सिकाइहरूले विपद्बाट सुरक्षित नेपाल बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्ने आधार तयार भएको र सम्मेलन आयोजना गर्न लागेको बताए।

अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको उनले जानकारी दिए। ज्ञवालीले पुनर्निमार्ण बाँकी हुन रहेका सम्पदा निर्माणमा गम्भीरतापूर्वक अघि बढेको बताए।

उनले विनाशकारी भूकम्प गएको दुई महीनापछि भएको सम्मेलनपछि ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सम्झौता भएको जानकारी दिए। उनले पुनर्निर्माणका लागि सरकार र वैदेशिक सहयोग गरी प्राप्त ४ सय ७० अर्ब रकममध्ये ३ सय ७१ अर्ब अघिल्लो आर्थिक वर्षसम्म खर्च भएको र बाँकी रकम चालू र आगामी आर्थिक वर्षमा खर्च गरिने बताए।

सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरू समेत गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ। विनासकारी भूकम्पपछि स्थापना भएको प्राधिकरणले करीब ६ वर्षपछि पुनर्निर्माणको बाँकी कार्यको जिम्मेवारी सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved