छिङ्हाईका गुम्बाभरि नेपाली लिपि

छिङ्हाईका गुम्बाभरि नेपाली लिपि

छिङ्हाई, चीन । निलो आकाशमा बादलका थेग्लाहरूले भरेका बुट्टा। ती बादलका बुट्टामुनि परेवाका बथान बेगिँदा बनेको आकर्षण। मगमग धुपको बासनासँगै माने घुमाउँदै माला जप्ने लामाहरू।

चीनको छिङ्हाई प्रान्तस्थित होङनान स्वायत्त तिब्बती प्रिफेक्चरको टोङरन ग्रामीण क्षेत्रमा रहेको छ रोङ्वो गुम्बा। तिब्बती र चिनियाँ उच्चारणअनुसार यो गुम्बालाई लोङऊ गुम्बा पनि भनिन्छ। पहाडका काखमा सन् १३०१ मा निर्मित यो गुम्बा चीनका पुराना गुम्बामध्ये एक हो।

छिङहाई प्रान्त चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिएको छ। तिब्बत बाहेक चीनमा सबैभन्दा धेरै तिब्बती समुदाय बसोबास गर्ने प्रान्त पनि हो छिङहाई। छिङहाईमा मात्र पाँचवटा तिब्बती स्वायत्त प्रिफेक्चरहरू छन्। रोङवो गुम्बा छिङहाई प्रान्तको दोस्रो ठूलो गुम्बा हो।

यो गुम्बाको अर्को विशेषता के हो भने यहाँ एक हजारवर्षभन्दा पुराना थाङ्काहरू राखिएका छन्। परम्परागत चिनियाँ नयाँ वर्ष सुरु भएपछि यहाँ विशाल थाङ्का प्रदर्शनीको आयोजना गरिन्छ। हप्तौँ दिनसम्म चल्ने थाङ्का प्रदर्शनीमा एक हजार वर्षभन्दा पुराना थाङ्कासँगै सबैभन्दा ठूलो थाङ्का पनि देखाइने चलन छ। थाङ्का मेला भर्न लाखौँ मान्छे भेला हुन्छन्।

पहिले शाक्या समुदायको अधिनमा रहेको यो गुम्बा पछि गेलुक समुदायको अधिनमा रहन गयो। नेपाली, तिब्बती र चिनियाँ शैलीका भवनहरू समिश्रण रहेकाले पनि यो गुम्बालाई अनुपम नमूना मानिन्छ।

गुम्बाको संरक्षण र जिर्णोद्वारमा चीन सरकारले उच्च ध्यान दिएको कुरा गुम्बाको सूचना पाटीमा उल्लेख छ। हाल यस गुम्बामा ६ सय भिक्षुहरू रहेका छन्। गुम्बाभित्र सात सय वर्षदेखिका पुरातात्विक वस्तुहरू संरक्षित छन्।

गुम्बाको बाहिरी लहरमा पाँच सयभन्दा बढी दुई फिटका मानेहरू रहेका छन्। त्यसैगरी अन्दाजी १० फिटका दर्जनौँ माने छन् भने विशाल कायका आधा दर्जन माने छन्। हरेक मानेमा रञ्जना लिपिमा लेखिएको छ ुओम मानेपद्मे हुँ। मानेमा मात्र होइन गुम्बाका भित्ता र टुँडालमा पनि यत्रतत्र रञ्जना लिपि देख्न सकिन्छ।

रञ्जना लिपि ११ औं शताब्दीमा काठमाडौँबाट विकसित भएको हो। नेवार समुदायको यो लिपिलाई नेपालले संयुक्त राष्ट्र संघमा मौलिक र औपचारिक लिपिका रूपमा दर्ता गराएको छ। रञ्जना लिपिमा महायाना र बज्रयानाका बौद्धधर्मका सूक्तिहरू लेखिएका छन्।

यही महायाना र बज्रयानाका बौद्ध धर्मका ग्रन्धहरू नेपालबाट तिब्बत लगिँदा रञ्जना लिपि नेपालबाट चीन प्रवेश गएको हो। रञ्जना लिपिलाई तिब्बतीहरू लन्जा भाषा भन्छन्। रञ्जनाबाट अपभ्रंश भएर ‘लन्जा’ भएको हो।

गुम्बाको उत्तरतिर लहरै तीनवटा ठूला स्तुपहरू रहेका छन्। एउटामा स्वयम्भूको जस्तै दुई आँखा छन्। यो स्तुपको गजुरमुनि पनि रञ्जना लिपिमा ‘ओम मानेपद्मे हुँ’ लेखिएको छ। अर्को पहेँलो रङमा चुच्ची परेको छ। यो चिनियाँ शैलीको स्तुप हो। तेस्रो स्तुपचाहिँ तिब्बती शैलीको रहेको छ।

गुम्बाको बाहिरपट्टि विशाल बुद्धको मूर्ति बनाइएको छ। बुद्धका तीनवटा प्रतिमालाई जोडेर बनाइएको यो आकृतिलाई जताबाट हेरे पनि बुद्धको अनुहार देखिन्छ। बुद्धको यो विशाल आकृति र गुम्बाको बीचमा ८ वटा मझौला स्तुपहरू छन्। यी स्तुपले बुद्धका फरक मुद्रा अनुसार करुणा, शान्ति, ज्ञान, मुक्ति आदिको प्रतिनिधित्व गरेका छन्।

नेपालबाट लगभग लोप भइसकेको रञ्जना लिपिलाई पछिल्ला केही वर्षहरूमा खोज अनुसन्धान हुन थालेको छ। काठमाडौँ उपत्यकाभित्र रहेका नगरपालिकाहरूले आफ्नो साइन बोर्ड तथा लेटरहेडमा रञ्जना लिपि प्रयोग गर्न थालेका छन्।

विभिन्न संघसंस्थाहरूले रञ्जना लिपि संरक्षण र प्रवर्द्धनमा चासो देखाउन थालेका छन्। सरकारी तबरबाट खासै उल्लेख्य काम नभएता पनि काठमाडौँका नेवार समूदायको मौलिक सिर्जना रञ्जना लिपिसँग समग्र नेपालको प्रतिष्ठा गाँसिएको छ।

संयुक्त राष्ट्र संघमा नेपालको मौलिक लिपिका रुपमा दर्ता भएको रञ्जना लिपि चीनका गुम्बा र पुरातात्विक सम्पदाहरूमा यत्रतत्र पाइन्छ। बेइजिङको केन्द्र भागमा अरनिकोले बनाएको श्वेत चैत्यदेखि ग्रेटवालसम्म रञ्जना लिपि कुँदिएका छन्।

चीनका विभिन्न क्षेत्रमा रहेका बौद्ध धर्मसम्बन्धी सम्पदामा यदाकदा रञ्जना लिपि भेटिए पनि छिङ्हाईको होङनान स्वायत्त तिब्बती प्रिफेक्चरको टोङरन ग्रामीण क्षेत्रमा रहेको रोङवो गुम्बामा चाहिँ यत्रतत्र भेटिन्छन् रञ्जना लिपि। मानेमा कुँदिएका मन्त्र ‘ओम मानेपद्मे हुँ’ सँगै नेपाली गौरब पनि गुम्बा वरिपरि घुमिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved