काठमाडौं। “मलाई लाग्छ कि यो १६ वर्षे ठिटो भविष्यमा मभन्दा पनि राम्रो फुटबल खेलाडी बन्नेछ।” विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक रोनाल्डिन्होले उनका टिममेटलाई भनेका थिए। जब उनले पहिलो पटक बार्सिलोनाको सिनियर टिमसँग ट्रेनिङ गरिरहेका लियोनल मेस्सीको फुटबल कौशललाई देखेका थिए।
बार्सिलोनाको ‘बी’ टिमको खेलाडीका रुपमा रहेका अर्जेन्टिनी फुटबल स्टार मेस्सीले सन् २००३ मा १६ वर्ष र चार महिनाको उमेरमा नै बार्सिलोनाको सिनियर टिमबाट मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए। यसपछि ‘बी’ टिमसँगै हप्ताको एक पटक उनले सिनियर टिमसँगै ट्रेनिङ गर्ने मौका पाएका थिए।
त्यतिखेर सन् २००२ को विश्वकपको उपाधि जितिसकेका ब्राजिलियन विंगर रोनाल्डिन्हो यूरोपको सवार्धिक चर्चित क्लबमध्ये एक बार्सिलोनाका सबैभन्दा स्टार खेलाडी थिए।
एउटा स्टारले भविष्यको अर्को स्टारलाई पहिलो नजरमा नै चिन्यो र शुरु भयो यी दुईबीचको कथा।
मेस्सीले पहिलो पटक खेलेको देखेलगत्तै रोनाल्डिन्होले उनलाई साथी बनाइहाले। यी दुई बीचको सम्बन्ध मित्रता र दाजुभाइको सम्बन्धको फ्यूजन थियो। रोनाल्डिन्हो मेस्सीलाई माया गरेर ‘लिटिल ब्रदर’ भन्ने गर्छन्।
उनले नै मेस्सीलाई बार्सिलोनाको पहिलो टिमको नियमित सदस्य बनाउन ठूलो सहयोग गरे। उनको त्योभन्दा ठूलो अदृश्य भूमिका मेस्सीलाई हालको स्टार बन्न जग बसाल्न थियो।
सन् २००३ मा नै डेब्यू गरे पनि मेस्सीलाई अर्को एक वर्ष सिनियर टिमबाट पुनः बोलावट आएन, राम्रो प्रदर्शनका बाबजुद उनी अनुभवको अभावमा बार्सिलोनाको ‘बी’ टिमबाट नै खेलिरहेका थिए। त्यसैले सन् २००४ मा रोनाल्डिन्हो सहितको सिनियर टिमका खेलाडीहरूले मेस्सीलाई बार्सिलोनाको पहिलो टिममा अनुबन्धित गर्न तत्कालीन प्रशिक्षक फ्रान्क रिजकार्डलाई लबिङ नै गरे।
१७ वर्षको उमेरमा पहिलो पटक बार्सिलोनाका लागि आधिकारिक खेल खेलेका मेस्सीले डेब्यू खेलको करिब ६ महीनापछि पहिलो गोल गरे। उनको त्यो गोल पनि रोनाल्डिन्होकै कारण विशेष बन्यो।
हालसम्म विश्वकै महान् फुटबल खेलाडीको सूचीमा अग्रस्थानमा पुग्ने यात्रा तय गर्ने उनको सिनिअर करिअरको पहिलो गोलमा रोनाल्डिन्हो नै सारथि थिए।
सन् २००५ मे १ तारिखमा स्पेनिस ला लिगामा बार्सिलोना अर्को क्लब एलब्याक्टेसँग भिडिरहेको थियो। सब्सिच्यूट खेलाडीको रुपमा बच्चाजस्तो अनुहार परेका र लामो कपाल पालेका १७ वर्षीय ठिटो मेस्सी, क्यामरुनी स्टार स्ट्राइकर स्यामुयल इटोको ठाउँमा मैदान छिरेका थिए।
यसपछि रोनाल्डिन्होको उत्कृष्ट स्कुप पासमा बललाई जाली चुमाउँदै मेस्सीले बार्सिलोनाका लागि गोलको खाता खोलेका थिए। यही गोलबाटै बार्सिलोनाका लागि गोल गर्ने सबैभन्दा कान्छो उमेरको खेलाडीको इतिहास रच्न सफल भएका मेस्सीको हालसम्मको फुटबल करिअर आफैंमा एक इतिहास हो।
त्यो गोलपछि मेस्सी जति खुशी थिए त्योभन्दा बढी रोनाल्डिन्होको अनुहारमा देखिन्थ्यो। यही खुशीमा उनले मेस्सीलाई आफ्नो ढाडमा बच्चा बोकेजसरी बोकेर मैदान घुमाएका थिए।

यी दुईबीच अनौठौ सम्बन्ध थियो, पारिवारिक सम्बन्धभन्दा पनि माथिको सम्बन्ध। त्यो हो फुटबल खेलको भावनात्मक सम्बन्ध। जबकि यिनीहरू फुटबलका दुई चिरप्रतिद्वन्दी राष्ट्र ब्राजिल र अर्जेन्टिनाका खेलाडी हुन्।
उक्त गोलबारे रोनाल्डिन्हो भन्छन्,“म आफूलाई भाग्यमानी ठान्छु कि मेस्सीको पहिलो गोलमा पास मेरो थियो। धेरै समयको अन्तरालपछि अहिले, यो देख्दा साह्रै खुशी लाग्छ कि जसको करिअरको शुरुआत आफूसँगै भयो, उसले अहिले विश्व जितिरहेको छ।”
उनी थप्छन्, “हामीबीच केमेस्ट्री अचम्मको थियो। मेस्सीले मलाई स्पेनिस सिकाउँथ्यो र म उसलाई पोर्चुगिज, तर खेल मैदानमा हामी एकअर्कालाई आफसे आफ बुझ्थ्यौं, कसैले बोल्न नै पर्दैनथ्यो।”
उता मेस्सीले भने आफ्नो खेल जीवनमा रोनाल्डिन्होको प्रभावबारे बयान गर्दै एकपटक यसो भनेका थिए, “मैले तपाईंबाट धेरै सिकेको छु, म सधैं तपाईप्रति आभारी रहने छु कि मेरो बार्सिलोनाका शुरुआती दिनमा तपाईंले सबै कुरा कति सहज बनाइदिनुभएको थियो। तपाईं फुटबल खेल्दा मैदानमा जति अविश्वस्नीय हुनुहुन्छ त्योभन्दा बढी अविश्वस्नीय तपाईंको व्यक्तिव छ। फुटबल जगतले तपाईंको मुस्कान कहिले भुल्ने छैन।”
पहिलो गोलको करिब १६ वर्षपछि यसै वर्ष बार्सिलोना छाड्नु अघिसम्म मेस्सीले क्लबका लागि सर्वाधिक ६७२ अफिसियल गोल गरे। ३५ प्रमुख उपाधि जिताउन योगदान दिए। जुन रेकर्ड तोड्न अब सायदै कसैले सक्ला।
यसै वर्ष मेस्सीले बार्सिलोना छाड्नुअघि रोनाल्डिन्होले भनेका थिए, “मेस्सी बार्सिलोनाका इतिहास हुन्, जब मेस्सीले बार्सिलोनाबाट टाढिन्छन्, उनले छाडेको १० नम्बरको जर्सीभार कसैले पनि थेग्न सक्दैनन्।”
रोनाल्डिन्होले पाँच वर्ष बार्सिलोनामा रहँदा १० नम्बरको जर्सी नै लगाएर यूरोपमा गुमिसकेको बार्सिलोनाको फुटबल प्रभावलाई फर्काएका थिए। उनले क्लब छाडेपछि १० नम्बरको जर्सी मेस्सीले पाए। जसको जिम्मेवारीलाई मेस्सीले सही ढंगले बहन मात्र गरेनन्, रोनाल्डिन्होले यूरोपमा खडा गरेको बार्सिलोनाको दबदबालाई निरन्तरता मात्र दिएनन्, थप उचाइमा पनि पुर्याए।
सन् २००३ सम्म खराब समयबाट गुज्रिरहेको बार्सिलोनाको युग रोनाल्डिन्होकै आगमनपछि स्वर्णयुगमा बदलिएको थियो। जसकै जगमा मेस्सीको फुटबल कलाले फुल्ने मौका पायो।
“त्यो समयमा बार्सिलोनालाई परिवर्तन गर्नमा रोनाल्डिन्होको मुख्य योगदान छ, क्लबका लागि उक्त समय निकै कठिन थियो। बार्सा आएपछिको पहिलो वर्ष उनले केही जितेनन् तर जनताको मन जिते। यसपछि विस्तारै अघिल्ला सिजनमा उपाधि जिताउँदै गए। रोनाल्डिन्होले बार्सिलोनालाई गरेको योगदानप्रति क्लब सधैं आभारी हुनुपर्छ”, रोनाल्डिन्होको योगदानबारे मेस्सीको भनाइ हो यो।
रोनाल्डिन्होले मेस्सीको पहिलो गोलको लागि दिएको उक्त पास, एउटा पास मात्र थिएन। भनिन्छ रोनाल्डिन्होले त्यो पाससँगै फुटबलको आफ्नो सफलताको साम्राज्य पनि मेस्सीलाई हस्तान्तरण गरेका थिए।
सन् २००४ देखि २००८ सम्मको बार्सिलोनामा यी दुवैले सँगै खेल्दा त्यो बेलाको बार्साको टिम इतिहासकै सफल बार्सिलोना टिम थियो। जुन समयमा उपाधिमा लामो समयदेखि खँडेरी रहेको बार्सिलोनाले एक यूरोपियन च्याम्पियन्स् लिग, दुई स्पेनिस लालिगा उपाधिसहित पाँच उपाधि जितेको थियो।
त्यो समयमा रोनाल्डिन्हो र मेस्सीको फुटबल स्किल र ट्रिकको समायोजन निकै चर्चित थियो। यी दुवैलाई विशेष रुपमा ‘गड गिफ्टेड फुटबल स्किल’ भएका खेलाडी मानिन्छ।
उत्कृष्ट फर्ममा रहेका रोनाल्डिन्होले भर्खर करिअर शुरु गरेका युवा अवस्थाका मेस्सीलाई क्लबका टिममेटभन्दा पनि अभिभावक र सल्लाहकारको भूमिका दिए। जसले मेस्सीलाई अहिलेको मेस्सी बनाउन ठूलो मद्दत गर्यो। त्यसैले मेस्सी हालसम्म पनि रोनाल्डीनालाई आफ्नो ठूलो दाजु मान्छन्।
हिजो (बुधबार राति) तिनै पुरानासम्बन्धी मेस्सी र रोनाल्डिन्होबीच पीएसजीको मैदानमा भेट भयो। फ्रेन्च क्लब पीएसजीसँगको यी दुईको सम्बन्ध पनि रमाइलो छ। मेस्सी बार्सिलोनाबाट आफ्नो करियरको उत्कर्षमा पुगेर हाल करिअरको उत्तरार्द्धतिर पीएसजी पुगेका छन्। उता सन् २००३ मा करिअरको शुरुवातमा पीएसजीबाट बार्सिलोना गएका रोनाल्डिन्होले पनि करियरको उर्वर समय बार्सिलोनामै बिताएका थिए।

यूरोपियन च्याम्पियन्स लिगलन्तर्गत आरबी लाइपजिगसँगको खेलमा पीएसजीले आफ्नो विशेष अतिथिको रुपमा रोनाल्डिन्होलाई बोलाएको थियो। जहाँ एकअर्कालाई भेट्न पाउँदा दुवै निकै भावुक देखिन्थे।

अझ रोनाल्डिन्होलाई भेट्दा मेस्सीको अनुहारमा सधैं आभारको भाव देखिन्छ। खेलअघिको यो भेटको दृश्य विश्वभरिका फुटबल समर्थकका लागि विशेष थियो। किनकि यी दुवै कुनै राष्ट्र वा क्लबका सामान्य खेलाडी मात्र होइनन्। यी त विश्व फुटबल कै गहना हुन्।
Facebook Comment
Comment