मनाङमा बलिउड चलचित्र ‘उचाइ’ छायांकन

चलचित्रमा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका कलाकारको अभिनय छ।

नेपाल भ्यूज

मनाङमा बलिउड चलचित्र ‘उचाइ’ छायांकन

मनाङ। नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायांकन गत ४ अक्टोबरदेखि भइरहेको छ। काठमाडौंमा दुई दिनको छायांकन सकाएपछि टोली यहाँ आएको जनाइएको छ।

चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिने छ।

चलचित्रमा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका कलाकारको अभिनय छ। नेपालमा अमिताभ बच्चन भने आएका छैनन्। स्वास्थ्यले साथ नदिएका कारणले उनी आउन नसकेको ‘मुभीमेकर’का एक सदस्यले बताए। छायांकनका क्रममा अमिताभको नक्कलसँगै अनुपम खेर र बोमन इरानी देखिएका छन्। चार जनाको मित्रताका कथामा आधारित चलचित्रमा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर शुरु हुने जनाइएको छ। अमिताभको नक्कल (डुप्लिकेट)को भूमिका राजा चौधरीले निभाइरहेको बताइएको छ।

बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा सो चलचित्र निर्माण भइरहेको छ। नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्मस्का सुरज आचार्यले जानकारी दिए। चलचित्रको लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी छन्। हिमाली भेगमा छायांकनका लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेका पर्यटन व्यवसायी विनोद गुरुङले जानकारी दिए।

कोभिड–१९ र गत १ असारमा आएको बाढी पहिरोका कारण आवतजावत ठप्प रहेको जिल्लामा विश्वकै सिने जगत्मा ठूलो मानिने बलिउड चलचित्र छायांकन भइरहेको छ। माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानमा चलचित्र छायांकन गरिने जनाएको उनले बताए।

जिल्लामा चलचित्र छायांकनका लागि उपयुक्त स्थान भए/नभएको अवलोकनका लागि गत भदौ २३ गते चलचित्र निर्माता, निर्देशक तथा छायाँकारहरुको टोली आएका थिए। यस चलचित्र छायांकनले कोभिडले गर्दा थला परेको पर्यटन व्यवसाय क्षेत्रलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपश्चात् मनाङमा भारतीय पर्यटक तथा चलचित्र निर्माणमा आकर्षण बढ्न सक्ने अनुमान गरिएको छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved