राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा अघि बढ्न राष्ट्रपतिको आग्रह

भविष्यमा आइपर्ने यसप्रकारका प्राकृतिक प्रकोपबाट बच्न सम्बद्ध सबै पक्षले सावधानी अपनाउनुपर्नेमा पनि राष्ट्रपति भण्डारीले जोड दिएकी छन्।

नेपालभ्युज

राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा अघि बढ्न राष्ट्रपतिको आग्रह
फाइल तस्वीर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन्।

राष्ट्रपति भण्डारीले प्रकोप पीडितको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका संयन्त्रलाई परिचालन गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्ने विश्वास व्यक्त पनि गरेकी छन्।

प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशका सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माणका सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न भण्डारीले आग्रह गरेको राष्ट्रपतिको कार्यालयले आज अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितको उद्धार तथा राहतमा संलग्न हुन राष्ट्रपतिले आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

साथै भविष्यमा आइपर्ने यसप्रकारका प्राकृतिक प्रकोपबाट बच्न सम्बद्ध सबै पक्षले सावधानी अपनाउनुपर्नेमा पनि राष्ट्रपति भण्डारीले जोड दिएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved