सुदूरपश्चिममा घट्यो, पूर्वी भेगमा भारी वर्षा

पूर्वी भेगको भारी वर्षा बुधबार साँझदेखि क्रमशः कमजोर हुँदै जाने मौसमविद्हरूले जनाएका छन्।

नेपालभ्युज

सुदूरपश्चिममा घट्यो, पूर्वी भेगमा भारी वर्षा

काठमाडौं। भारी वर्षाको असर अहिले मुलुकको पूर्वी भेगमा जारी छ। प्रदेश १ बाहेक अन्यत्रको मौसम सुधार भएको छ। पश्चिमी वायु सक्रिय भएपछि सुदूरपश्चिमसहित धेरै ठाउँमा बेमौसमी भारी वर्षाको मात्रा घटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मंगलबार रातिदेखि सुदूरपश्चिमबाट क्रमशः कर्णाली र लुम्बिनी प्रदेशको मौसममा सुधार आएको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनका अनुसार बुधबार विहानदेखि प्रदेश १ बाहेक अन्यत्र पनि मौसम खुल्न थालेको छ। “सामान्य असर त अहिले पनि लगभग सबै प्रदेशमा देखिएको छ”, उनले नेपालभ्यूजसँग भने, “ठूलो प्रभाव प्रदेश १ मा अझै जारी छ।”

पूर्वी भेगको भारी वर्षा पनि बुधबार साँझदेखि क्रमशः कमजोर हुने प्रधानाङ्गले बताए। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुनसरी, मोरङ, झापा, इलाम र आसपासका भेगमा जारी छ। भारी वर्षाको प्रभाव नवलपुर, सप्तरी र आसपासमा भेगमा पनि जारी छ। विगत २४ घण्टाको अवधिमा सुनसरीको तरहरामा सबैभन्दा धेरै वर्षा भएको छ। सुनसरीको तरहरामा ४०२.६ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ।

वर्षाको यो मात्रा मंगलबार विहान ८ बजेदेखि बुधबार बिहान ८ बजेसम्मको हो। प्रधानाङ्गका अनुसार बिहीबार धेरै ठाउँको मौसम धुम्मिए पनि भारी वर्षा दोहोरिने सम्भावना छैन। “बिहीबार पनि धेरै ठाउँको मौसम बदलिन्छ, तर भारी वर्षा हुँदैन, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भेगमा भने हल्का र क्षणिक वर्षा हुनेछ”, उनले भने।

विगत २४ घण्टामा इलामको कन्याममा ३७४.१ मिलिमिटर, मोरङको हरैचामा ३६७, झापाको दमकमा ३०२.८ मिलिमिटर वर्षा भएको छ। त्यसैगरी, सप्तरीको बरमझियामा २७३.२ मिलिमिटर, सुनसरीको धरानमा २६९.९, इलाम टी स्टेटमा २६५, इलामकै माइपोखरीमा २५०.६, झापाको विर्तामोडमा २४१.४, इलामको मैनाचुलीमा २१५.२ र सप्तरीको राजविराजमा २१२.८ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved