शैक्षिक प्रमाणपत्र धितो राखेर जम्मा १५२ जनाले लिए कर्जा

युवामा रचनात्मक ज्ञान अभाव हुँदा कर्जा पाएनन् : शिक्षाविद्

यो भदौ मसान्तसम्मको तथ्यांक हो। यस्तो कर्जा लोकप्रिय भनिए पनि प्रभावकारिता भने न्यून देखिएको छ। अहिलेसम्म ७ करोड ९८ लाख ७३ हजार रुपैयाँ कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपालभ्युज

शैक्षिक प्रमाणपत्र धितो राखेर जम्मा १५२ जनाले लिए कर्जा

काठमाडौं।  शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने पाउने व्यवस्थाअनुसार अहिलेसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर एक सय ५२ जनाले कर्जा लिएका छन्।

यो भदौ मसान्तसम्मको तथ्यांक हो। यस्तो कर्जा लोकप्रिय भनिए पनि प्रभावकारिता भने न्यून देखिएको छ। अहिलेसम्म ७ करोड ९८ लाख ७३ हजार रुपैयाँ कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। साथै ६ करोड ५६ लाख १९ लाख स्वीकृत हुन बाँकी छ।

११ असोज ०७५ मा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ पारित भएको थियो। सोही कार्यविधिअनुसार उनीहरूले कर्जा लिएका हुन्।

शिक्षित युवा स्वरोजगार कर्जा सहुलियतपूर्ण कर्जा हो। यो ५ प्रतिशत ब्याजदरमा पाउने सुविधा हो।

कसरी लिने कर्जा 

शैक्षिक प्रमाण पत्रको सक्कल प्रति धितो राखेर सात लाख कर्जा पाउने नेपाल राष्ट्र बैंकमा प्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद पोखरेलले बताए। उनका अनुसार आर्थिक वर्ष ०७८/०७९ को बजेट भाषणमा सात लाखलाई बढाएर २५ लाख पुर्‍याइएको मात्र हो।

सो कर्जाअन्तर्गत हालसम्म सात लाख मात्र उपलब्ध गराइरहेको पोखरेलले बताए। उनी भन्छन्, “कार्यविधि संशोधन नभएका कारण ०७५ को कार्यविधिअनुसार कर्जा प्रदान गरिरहेका छौं।”

शैक्षिक योग्यता भएका बेरोजगार युवालाई स्वरोजगार हुन सरकारले कर्जाको ब्याजमा मात्र अनुदान दिएको उनले बताए। ब्याजमा अनुदान दिएपछि कर्जा लिनेले पाँच प्रतिशत मात्र ब्याज तिर्नुपर्छ।

कर्जा लिन बैंकमा प्रमाणपत्रसहित व्यवसाय परियोजना विकास गरी पेश गर्नुपर्छ। चित्तबुझ्दो व्यवसाय परियोजना प्रस्ताव पेश गरे व्यवसाय स्थापना गर्न बैंकले कर्जा उपलब्ध गराउने उनले बताए।

उनी भन्छन्, “सरकारले दिने अनुदान भनेको ब्याज हो, तर रकम भनेको कर्जा हो।” बैंकले अहिले कर्जा दिएर भविष्यमा व्यवसायबाट उठ्न सक्छ भनेर लगानी गर्ने उनले बताए।

पाँच वर्षपछि अनुदान सकिएपछि पनि व्यवसाय चलाउन सक्ने गरी परियोजना प्रस्ताव गर्नेले मात्र यो ऋण पाउन सक्ने उनी बताउँछन्। यो कर्जा लिने प्रक्रिया एकदमै झण्झटिलो भएकाले कमै मात्र युवाले यस्तो कर्जा लिएका देखिएको छ।

युवामा रचनात्मक ज्ञान अभाव हुँदा कर्जा पाएनन् : शिक्षविद् कोइराला

युवाहरू बिदेसिन प्रमाणपत्र धितो राखेर कर्जा लिने गरेका तर यो स्वदेशमै आर्थिक रुपमा सबल हुन लिनुपर्ने शिक्षाविद् विद्यानाथ कोइरालाको तर्क छ। उनी भन्छन्, “युवामा केमा लगानी गर्ने भन्ने अन्योल छ,” उनले थपे, “कर्जा लिएर केही गरौं भन्ने मनाशाय भएका युवाले बजार अभाव झेलिरहेका छन्।” दुःख गरेर उत्पादन गरेका सामग्रीले उचित बजार नपाउँदा युवाले कर्जा लिन गाह्रो मानिरहेका उनको ठम्याइ छ।

पशुपालनमा युवा। तस्वीर : रासस

नेपालका राजनीतिज्ञहरूले सहजै पैसा कमाउने तरिका सिकाएका कारण युवाहरू झन्झटिलो प्रक्रिया गरी दुःख गरेर पैसा कमाउन नचाहने उनले बताए। भन्छन्, “नेपालका युवाहरू फकाएर झुक्याएर सहजै पैसा कमाउने तरिकाप्रति विकसित भएका छन्।”

केही युवामा नेपालमा दुःख गरेर पैसा कमाउनुभन्दा बिदेसिएर एकैपटक पैसा कमाउने दाउ छ, खाडीदेखि विकसित मुलुक पुग्ने मानसिकता बनाएकाले कर्जा नलिने उनले बताए।

शिक्षविद् कोइराला थप्छन्, “युवामा रचनात्मक ज्ञान अभावका कारण उनीहरूले पाउने सुविधा लिन सकिरहेका छैनन्।”

नेपालमा ७० हजार उच्च तह अध्ययन गरेका बेरोजगार नागरिक रहेका केन्द्रीय तथ्यांक विभागले जनाएको छ। अमेरिकामा बेरोजगार भएका व्यक्ति खान पाउँदैनन् तर नेपालका बेरोजगारलाई खान समस्या नहुने शिक्षविद् कोइराला बताउँछन्। नेपालको अंश लिने दिने संस्कृतिले शिक्षित नागरिक बेरोगार भएको महशुस नै नगर्ने उनले बताए।

“बुबाआमाले छोराछोरीको विवाह गरिदिनुपर्ने, अंश दिनुपर्ने नेपालको सांस्कृतिक चिन्तन, सांस्कृतिक विरासत र कानुनी व्यवस्थाले युवालाई चुनौती दिँदैन”, उनले थपे, “यस्तो व्यवस्थाले युवालाई विकल्प दिन्छ।”

कार्यविधिअनुसार शिक्षित युवा स्वरोजगार कर्जासहित व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवास निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ।

शिक्षित युवा स्वरोजगार कर्जा लिन १८ वर्ष पूरा गरेको र ४० वर्ष ननाघेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ। सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले २० कात्तिक ०७५ मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved