गृहमन्त्रीको नेतृत्वमा ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता

नेपालभ्युज

गृहमन्त्रीको नेतृत्वमा ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता
गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाका प्रतिनिधि

काठमाडौँ। सरकार र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाणको पहलमा मंगलबार गृह मन्त्रालयमा भएको वार्तामा दुवै पक्ष सहमत भएका हुन्।

गृहसचिव टेकनारायण पाण्डेका अनुसार मुद्दाको अवस्थाको बारेमा दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिसमेतका आधारमा ‘भेरिफाइ’ गरी अन्तिम सूची तयार गर्ने’ विषयमा दुवै पक्ष सहमत भएका छन्। ‘मुद्दाहरूलाई किनारा लगाउने र बन्दीहरूलाई रिहा गर्ने, त्यसको प्रशासनिक, कानुनी र प्राविधिक निकास निकाल्ने गरी अर्को बैठक बस्ने,’ निष्कर्ष निस्किएको उनले जानकारी दिए।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र गृह मन्त्रालयका कानुन सहसचिव कमल खत्री सहभागी थिए। विप्लव नेकपाको तर्फबाट प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) सहभागी थिए।

वार्तापछि प्रवक्ता प्रकाण्डले सकारात्मक रूपमा वार्ता अघि बढेको जानकारी दिए। ‘‘वार्ता सकारात्मक छ। यसअघि सरकार र पार्टीको वार्ता टोली बीच भएको सहमतिलाई टुंग्याउन सरकार र विषेशगरी गृहमन्त्रीले पहल कदमी लिइरहनु भएको छ, त्यो सराहनीय छ,’’ प्रकाण्डले भने ‘‘ आन्तरिक रूपमा दुवै पक्षले सहमति गरेर अर्को बैठकमा टुङ्ग्याउने गरी उठेका छौँ। सरकारले गर्नु पर्ने काम केही धेरै छन्। हामीले गर्ने काम पनि छन्। दुवै पक्ष सकारात्मक भएकाले अर्को बैठकमा टुङ्गिने आशा गरौँ।’’

यसअघि गृहमन्त्री खाणले आइतबार विप्लव नेतृत्वको नेकपासँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खाती र गृहसचिव पाण्डेसँग छलफल गरेका थिए।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो। मुख्यगरी सहमतिको बुँदा नम्बर तीनमा रहेको ‘नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ,’ भन्ने विषय मिलाउन बाँकी छ।

सहमतिका अन्य दुई बुँदा सैद्धान्तिक विषय केन्द्रित छन्। २० फागुन २०७७ मा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तत्कालीन गृहमन्त्री रामबहादुर थापा र सदस्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई तथा नेकपाको तर्फबाट वार्ता टोलीका प्रकाण्ड र सदस्य पार्टी केन्द्रीय समिति सदस्य दीपकले तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved