भोलि बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा

नेपालभ्युज

भोलि बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा

काठमाडौँ। नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि भोलिदेखि (मंगलबार) समापन हुँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा मंगलबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि मंगलबार समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि मंगलबारदेखि समाप्त हुन्छ। मंगलबारै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन्। मंगलबार सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको धर्मशास्त्रविद् एवं समितिका पूर्वाध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्।

माता दुर्गाका तीन वटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved