नागार्जुनमा भेटियो गुफा, जहाँबाट काठमाडौं प्रस्ट देखिन्छ

नेपालभ्युज

नागार्जुनमा भेटियो गुफा, जहाँबाट काठमाडौं प्रस्ट देखिन्छ
गुफाभित्र फोटो खिच्दै स्थानीय प्रेमबहादुर मानन्धर।

काठमाडौं। नागार्जुन नगरपालिका-८ भीरकोटमा गुफा भेटिएको छ। स्थानीय प्रेमबहादुर मानन्धरलगायत टोलीले भीमढुंगाबाट करीब तीन किलोमिटरमाथि गुफा फेला पारेको हो।

गत साता भेटिएको गुफाको लम्बाई र अन्य वस्तुस्थितिबारे अध्ययन र अन्वेषण हुन बाँकी रहेको मानन्धरले बताए। “दशैंको नवमीको दिन साथीहरूसँग पुगेका थियौँ। गुफा भेटियो, करीब १०/१२ मिटर भित्र गयौँ”, नागार्जुन-६ का उनले भने, “भित्री संरचना र लम्बाईबारे बुझ्न/खोज्न बाँकी छ।”

सो भेगमा धेरैजसो पर्ती जग्गा भएकाले पर्यटन प्रवर्द्धन पूर्वाधार बनाउन सकिने मानन्धरको भनाइ छ। गुफाको ऐतिहासिक र भौगर्भिक अवस्था पहिचान गर्न स्थानीयबीच छलफल भइरहेको उनले जानकारी दिए।

सीतापाइला चोकबाट रामकोट-भीमढुंगा हुँदै गुफा भेटिएको भीरकोट पुग्न सकिन्छ। सोमबार (कार्तिक १ मा) स्थानीय पण्डित दिनेश खनालले वैदिक हिन्दू परम्पराअनुसार गुफाभित्र पूजापाठ गरे। पूजापाठपश्चात् खनालले सो गुफालाई ‘नागेश्वरी-सिद्धेश्वर गुफा’ नामकरण गरेका छन्।

चौरासी सिद्ध धाममध्ये नागार्जुन एक रहेको पण्डित खनालले बताए। पूजापाठका लागि पुगेका स्थानीय सानुराजा पुरी, राजेन्द्र खनाल, अर्जुन पोखरेल लगायतले गुफाको मुख आसपासको झाडी फाडेर खुला गरेका छन्।

दक्षिणतर्फ फर्किएको प्रवेशद्वार करीब सात मिटर फराकिलो छ। गुफा भेटिएको स्थानबाट मौसम खुला भएका बेला काठमाडौं उपत्यका प्रस्ट नियाल्न सकिन्छ।

शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जसँगै जोडिएको गुफा प्राकृतिक स्वरूपको भएकाले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बागमती प्रदेशका सांसद केशव पोखरेल बताउँछन्।

“नागार्जुन आफैंमा पर्यटकीय सम्भावना भएको क्षेत्र हो। तर विविध कारणले चर्चामा आउन सकेको थिएन”, उनले भने, “गुफा र आसपासका भेगमा पर्यटकीय गतिविधि बढाउन गुरुयोजना बनाएर सडकलगायत पूर्वाधार तयार गर्ने विकल्पबारे छलफल भइरहेको छ।”

प्रदेश र स्थानीय तहबीचको समन्वयमा नागार्जुनमा पर्यटकीय गतिविधि बढाउन सकिने साेही क्षेत्रका स्थानीयसमेत रहेका सांसद पोखरेलको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved